सहयात्रीको विश्वास गुमाउँदै मधेशका मुख्यमन्त्री
एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएर गठबन्धनको समर्थन पाएका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिस्तारै सहयात्रीको साथ गुमाउन थालेका छन्।
प्रदेश सभा सदस्यको चुनावपछि गत पुसमा मधेश प्रदेशमा सरकार गठनमा अन्योल थियो। कसलाई समर्थन गर्ने भन्नेमा ठूला दल नै अलमलमा थिए। त्यति वेला नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भए।
प्रदेश प्रमुख हरिशंकर मिश्रले एमालेसँगै नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदको समर्थनमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। यादवको समर्थन गर्ने ६३ सांसद थिए।
विश्वासको मत लिंदा त १०७ जनै सांसदको मत पाएका थिए। कांग्रेस लगायत सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए।
यो एक वर्षको अवधिमा सहयात्रीको विश्वास गुमाउँदै गएका छन्। एमाले र राप्रपाले समर्थन फिर्ता लिइसकेका छन्। सरकारमा सहभागी दलले पनि मुख्यमन्त्री यादवको आलोचना गर्न थालेका छन्। मन्त्रीहरू नै मुख्यमन्त्रीको विरोधमा देखिएका छन्।
यसको पछिल्लो उदाहरण हो- मधेश स्वाभिमान दिवसको कार्यक्रम। मधेश प्रदेशको नामकरण र राजधानी तोकिएको दिन माघ ३ लाई मन्त्रिपरिषद्ले मधेश स्वाभिमान दिवस नामकरण गरेर सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो।
सरकारको कार्यकाल एक वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री यादवले माघ ३ गते वर्ष दिनको कामको विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरे। कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचारी सरकार’ भन्दै प्रदर्शन गरे। जबकि जनमतबाट सरकारमा सहभागी मन्त्रीहरू पनि मुख्यमन्त्रीसँगै मञ्चमा बसिरहेका थिए। उनीहरूले आफ्ना नेता तथा कार्यकर्तालाई शान्त पार्न खोजेनन्।
माघ ३ मै स्वाभिमान दिवसको कार्यक्रम थियो। त्यसमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि थिए। तर सरकारमै सहभागी दल र मन्त्रीहरू सरकारी कार्यक्रममा सहभागी भएनन्।
मुख्यमन्त्री यादवको विरोध गर्दै सत्तारूढ दलले छुट्टै कार्यक्रम गरे। त्यसलाई एमालेले पनि साथ दियो। लोसपा, माओवादी, एमाले, राप्रपा सहितका दलका नेता तथा प्रदेश सभा सदस्यले छुट्टै स्वाभिमान दिवस मनाए।
सरकारले आयोजना गरेको कार्यक्रममा जसपा र कांग्रेसका मन्त्री सहभागी भए। जबकि जनमतका मन्त्री पत्रकार सम्मेलनमा सहभागी भएर मुख्यमन्त्रीको कार्यक्रम छोडेर निस्किए।
सरकारमै सहभागी भए पनि जनमतले सरकारको विरोध गर्दै आएको छ। लोसपा, माओवादी पनि सरकारसँग सन्तुष्ट छैनन्। त्यस्तै, एमाले र राप्रपा लगायत दल पनि सरकारको विरोधमै छन्।
सत्तारूढ दलले नै किन सरकारको कार्यक्रममा सहभागिता जनाएनन्? लोसपा प्रमुख सचेतक रानी शर्मा तिवारी भन्छिन्, “कुनै एक पार्टीका नेतालाई प्रमुख अतिथि बनाएर सरकारले अन्य नेताहरूले मधेशको नामकरणमा पुर्याएको योगदानको अवहेलना गर्न खोज्यो। त्यसैले सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी भएनौं।”
सबै मन्त्री र संसदीय दलका नेताहरूसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले एकलौटी गरेको शर्माको भनाइ छ। “सरकारको कार्यक्रमभन्दा पनि कुनै दलको कार्यक्रम जस्तो देखियो,” शर्मा भन्छिन्, “हामी असहमति राख्दै कार्यक्रममा बसेनौं।”
एमालेका संसदीय दलका नेता सरोजकुमार यादव पनि मुख्यमन्त्रीको संकीर्ण सोचका कारण सरकारी कार्यक्रममा सहभागी हुन नसकिएको बताउँछन्। “प्रदेश सरकारले पहिलो पटक स्वाभिमान दिवस मनाउँदा थियो, सबै दलसँग समन्वय गएर बनाउँदा अझ भव्य हुने थियो,” यादव भन्छन्, “तर सरकारले संकीर्ण सोचका साथ कार्यक्रमको आयोजना गरेको हामी सहभागी हुन सकेनौं, छुट्टै कार्यक्रम गर्नुपर्यो।”
जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा दुई मन्त्री छन्। प्रदेशका नेता मात्रै होइन, जनमत अध्यक्ष सीके राउतले समेत मुख्यमन्त्री यादवको कार्यशैलीप्रति विरोध जनाएका छन्।
अध्यक्ष राउतले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘प्रदेश सरकार कसैको पुर्ख्यौली सम्पत्ति होइन, कसैको जमीनदारी होइन कि कसैले कब्जा जमाएर बस्ने र अरूलाई जान भन्ने। सरकार जनताको अभिमतबाट बन्ने हो। जनताको अभिमतको कुरा गर्नुहुन्छ भने मधेश प्रदेशमा जनमत पार्टीको मत जसपाभन्दा धेरै छ। यदि जनमत पार्टीलाई सरकारको नेत्तृत्व गर्ने म्यान्डेट छैन भने जसपालाई पनि छैन।’
माओवादी संसदीय दलका नेता भरतप्रसाद साह पनि मुख्यमन्त्री यादवको कार्यशैली राम्रो नभएको जिकिर गर्छन्। जसले गर्दा अन्य सबै पार्टी मिलेर कार्यक्रम गर्नुपरेको उनको भनाइ छ। “मुख्यमन्त्री यादवले स्वाभिमान दिवसलाई पार्टीविशेषको कार्यक्रम गर्न खोजेपछि हामीले सबै दललाई समेट्ने प्रयास गरेर छुट्टै कार्यक्रम गरेका हौं,” साह भन्छन्।
मुख्यमन्त्री यादव भने सरकारमा सहभागी सबै दल र बाहिरका दलसँग पनि समन्वय गरेर काम गर्न खोजेको दाबी गर्छन्। मन्त्रिपरिषद् बैठकमा लोसपा र जनमतका मन्त्रीहरू समेत सहभागी भएर कार्यक्रमको ‘मोडेल’ लाई पारित गरिएको बताउँदै उनी भन्छन्, “किन र केका लागि विरोध गरेको हो, मलाई थाहा छैन।”
सरकारमा सहभागी भएर सरकारको विरोधमा क्रियाकलाप गर्नु राजनीतिक आचरण विपरीत भएको उनको भनाइ छ। “मबाट केही कमजोरी भएको छ भने सदैव छलफल गर्न तयार छु,” मुख्यमन्त्री यादव भन्छन्, “गठबन्धनको कुरा गर्ने हो भने केन्द्रीय गठबन्धनको आधारमा नै प्रदेशको गठबन्धन निर्माण भएको हो। चित्त नबुझ्नेहरू बाहिर गए पनि हुन्छ।”
अहिले १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका नौ, माओवादीका नौ, नेकपा (एकीकृत समाजवादी)का सात, राप्रपा, उन्मुक्ति र संघीय समाजवादीका एक–एक सांसद छन्। त्यस्तै, एक जना स्वतन्त्र सांसद छन्।