भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन आदेश
सर्वोच्च अदालतले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गर्नुको कारण देखाउन आदेश दिएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। रिट निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिनुनपर्ने हो, त्यसको कारण भए पेश गर्नू भनेको छ।
प्रहरीले भीड नियन्त्रणमा घातक हतियार प्रयोग गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा रोक लगाउन माग गरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ ३ गते रिट दायर गरेका थिए। प्रहरीले घातक हतियार प्रयोग गर्दा नागरिकले ज्यान गुमाउनुपरेको भनी उनले उल्लेख गरेका थिए।
उनले पछिल्लो पटक ललितपुरको बालकुमारी र सर्लाहीको बहरथवामा भएको घटनालाई दृष्टान्तका रूपमा पेश गरेका थिए। प्रहरीले अत्यधिक बल प्रयोग गर्दा बालकुमारीमा दुई जना र बरहथवामा एक जनाको ज्यान गएको थियो।
यस रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। यसमा वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपक्षी बनाएका छन्।
यो पनि पढ्नुहोस् : कस्तो साधनले काम गरिरहेछ प्रहरी?