कोशीका मुख्यमन्त्रीको खातामा २० हजार मात्रै
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूसँग २० हजार रुपैयाँ मात्रै भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मुख्यमन्त्री कार्कीको नाममा कृषि विकास ब्यांंकमा खाता रहेको उल्लेख गरिएको छ। जसमा २० हजार ८३ रुपैयाँ ९० पैसा मात्रै रहेको सार्वजनिक गरिएको छ। त्यो रकम पनि तलब र भत्ताबाट आएको जनाएका छन्।
मुख्यमन्त्री कार्कीको नाममा अन्य सम्पत्ति पनि नरहेको विवरणमा देखाइएको छ। घरजग्गा पनि पत्नीको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
मुख्यमन्त्री कार्कीकी पत्नी शान्तादेवी बस्नेतको नाममा मोरङको बुढीगंगा गाउँपालिका-२ मा एउटा घर रहेको उल्लेख छ। त्यस्तै, मोरङकै विभिन्न सात स्थानमा जग्गा रहेको खुलाइएको छ।
उनले छोराहरू शाब्दिक र शांकेतका नाममा झन्डै सात लाख रुपैयाँ कृषि विकास ब्यांंकमा मौज्दात रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री कार्कीले कृषि विकास ब्यांक, राष्ट्रिय वाणिज्य ब्यांक र नागरिक लगानी कोषबाट ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। तर उक्त ऋण कसको नाममा लिएको भन्ने खुलाएका छैनन्।
मुख्यमन्त्री भएको ९६औं दिनमा कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक गरिएको विवरणमा कार्कीको कृषि विकास ब्यांकमा मौज्दात भनिएको रकम भन्दा थप कुनै सम्पत्ति उल्लेख छैन।
त्यस्तै, कोशी प्रदेश सरकारका मन्त्रीहरूको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। आन्तिरिक मामिला तथा कानूनमन्त्री शमशेर राईको नाममा ईलामको रोङ गाउँपालिका-६ मा घर भएको उल्लेख गरेका छन्।
उनले रोङक वडा नंं. ६ र ४ मा दुई-दुई स्थानमा आफ्नो जग्गा भएको उल्लेख गरेका छन्। अलैँची व्यापार र दाइजो मार्फत १० तोला सुन जोडेको पनि सम्पत्ति विवरणमा खुलाएका छन्।
पर्यटन, वातावरण तथा वनमन्त्री गणेशप्रसाद उप्रेतीले पनि आफ्नो नाममा घर जग्गा केही नभएको विवरण सार्वजनिक गरेका छन्। मन्त्री उप्रेतीले पत्नी नरमायाँ भट्टराईको नाममा विराटनगर महानगरपालिका-१ मा घर र सुनसरीमा जग्गा रहेको उल्लेख गरेका छन्।
त्यस्तै, उनले १० तोला सुन र २० तोला चाँदी पैत्रिक सम्पत्ति तथा व्यवसायबाट आर्जन गरेको विवरण सार्वजनिक गरेका छन्।
भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले आफ्नो र पत्नी निरू खालिङको नाममा संयुक्त रुपमा पाँचथरमा एउटा घर भएको उल्लेख गरेका छन्। झापा र पाँचथरका तीन स्थानमा आफ्नो नाममा जग्गा भएको पनि उनले सम्पत्ति विवरणमा खुलाएका छन्।
आफूसँग डेढ तोला सुन रहेका जवेगुले लेखेका छन्। त्यस्तै, पत्नीका नाममा दाइजोमा प्राप्त १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन्।