घरजग्गामा होइन, जलविद्युत्मा लगानी गरौं : इप्पान
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले विदेशमा रहेका नेपालीलाई घरजग्गाको सट्टा जलविद्युत्मा लगानी गर्न आग्रह गरेका छन्।
अध्यक्ष कार्कीले विदेशबाट फर्किएपछि कमाएको धन घरजग्गामा लगानी गर्ने गरेको भन्दै त्यस्तो लगानी जलविद्युत् आयोजनामा लगाउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्। इप्पानको २४औं वार्षिकोत्सव उद्घाटन समारोहमा बोल्दै उनले १० हजार मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी चाहिने बताउँदै लगानी जुटाउन सरकार, नेपाल राष्ट्र ब्यांकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
अध्यक्ष कार्कीले १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने भारतसँगको सम्झौता स्वागतयोग्य रहेको बताउँदै यो दशकलाई ऊर्जा दशकका रूपमा मनाउनुपर्ने बताए। “देश ऊर्जामय भएको छ। यो दशकलाई ऊर्जा दशकका रूपमा घोषणा गर्न सरकारसँग माग गर्छु,” उनले भने।
उनले मुलुकमा प्रसारण लाइनमा लगानी नपुगेको बताउँदै प्रसारण लाइन निर्माण नहुने हो भने विद्युत् खेर जाने क्रम बढ्ने र त्यो लगानीकर्ताका लागि भयावह हुने बताए। गत आर्थिक वर्षमा २००–३०० मेगावाट विद्युत् खेर गएको उल्लेख गर्दै विद्युत् खेर जाँदा उर्जा उद्यमी ब्यांक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने जोखिम रहेको उनको भनाइ थियो।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले अबका केही महीनामा विद्युत् प्रणालीमा करीब ५०० मेगावाटका आयोजना थपिन लागेको जानकारी दिए। उनले पछिल्लो दशकमा ८०० बाट दुई हजार ९०० मेगावाट विद्युत् उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको बताए।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीतिनिर्माण लगायत तहमा काम गरिरहेको बताए। उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रमा लगानी जुटाउनुलाई प्राथमिकतामा राखेको बताए।