न्यूजिल्यान्डको विकास अवधारणा : जे छ त्यसैको व्यवस्थापन
प्रकृतिले जे दिएको छ त्यसैको व्यवस्थापन गर्नु विकास हो। विकासका लागि स्रोत छैन भन्नु खासमा विकासका लागि सोच नहुनु हो।
टापु राज्यहरूको आफ्नै पीडा हुन्छ- सामुद्रिक विपत्ति, अन्यत्रबाट टाढा, एकान्त र यसले सिर्जना गर्ने जटिलता। तर तिनै जटिलता र अभावले संघर्ष पनि गर्न सिकाउँछ भन्ने ज्वलन्त उदाहरण हो- न्यूजिल्यान्ड।
प्रशान्त महासागरको टापुका रूपमा रहेको न्यूजिल्यान्ड अहिले विकसित र उच्च आय वर्गमा पर्छ जुन अवस्थासम्म आइपुग्न यो देशले धेरै संघर्ष र श्रम गरेको छ।
आजभन्दा करीब एक हजार वर्षअघि (सन् १३२०-१३५०) इन्डोनेशिया, फिजीतिरबाट गएका आदिवासी माउरीले न्यूजिल्यान्डमा मानव बसोबास थालेका थिए। दक्षिणपूर्वी एशियाका ती आदिवासी पोलिनेशियनहरू एउटै रूखको २० मिटर लामो डुंगा मार्फत महीनौं लगाएर समुद्री यात्रा गरी न्यूजिल्यान्ड पुगेका थिए।
बजार विकास नभएको त्यो समयमा माउरीहरूको आहाराको स्रोत चरा र माछा थिए। बिस्तारै पशु तथा कृषिमा लागे। १७औं शताब्दीपछि शासनसत्तामा बेलायतीहरूको आधिपत्य कायम भयो। माउरी विस्थापित भए। यस अर्थमा इतिहास प्रतिस्पर्धा र विस्थापनको खेल जस्तै देखिन्छ।
१९औं शताब्दीमा ठूला संघर्षपछि सन्धि गरेर माउरीहरूले अधिकार त लिए तर त्यस वेलासम्म यूरोपेलीहरूको बोलवाला भइसकेको थियो। माउरीहरू कुनाकन्दरामा पुगिसकेका थिए। माउरीलाई निश्चित स्थानमा आरक्षणको व्यवस्था त छ तर उनीहरू आफ्नै भूमिमा अरूले दिएको अधिकार लिन बाध्य छन्। न्यूजिल्यान्डको राष्ट्रप्रमुख बेलायतको राजा हुने चलन अद्यापि छ।
प्रकृतिले जे दिएको छ त्यसैको उपयोग
व्यापार र सेवा केन्द्र शहर भए पनि न्यूजिल्यान्डको अर्थतन्त्र गाउँले धानेको छ। शहर र गाउँ अन्तरसम्बन्धित छन्। शहरको आवादी खासै ठूलो छैन। गाउँहरू साना हुने नै भए। गाउँहरू कृषि, वन र चरण व्यवसायमा छन् तर सबै आधारभूत सेवा उपलब्ध भएकाले मानिसहरू गाउँमै रमाएका छन्। त्यहीं श्रम र व्यवसाय गरिरहेका छन्।
न्यूजिल्यान्डका प्रमुख शहर र गाउँ अवलोकन गर्दा जहाँ जे छ त्यसैको व्यवस्थापनबाट विकास प्राप्त गर्न सकिन्छ भन्ने निष्कर्ष निस्कन्छ। समुद्र, वन र प्राणी-वनस्पतिहरूको व्यवस्थित उपयोग गरेर नै यो मुलुक विकास र समृद्धिमा पुगेको हो। पहिले चराचुरुंगी र वन-वनस्पति उपयोग गरेको न्यूजिल्यान्डले अहिले समुद्री मार्ग र वन पदमार्गबाट पर्यटक तानिरहेको छ। न्यूजिल्यान्डवासी हिजो श्रम खर्च गर्थे, आज प्रविधि श्रमको सारथि बनेको छ। हिजो माछा र मासु व्यापार गर्थे, आज दृश्य, हावापानी, हरियाली वनवाटिका र सेवा क्षेत्र व्यवसायका आधार बनेका छन्।
प्रकृतिले जे दिएको छ त्यही उपयोग गरेर नै मानवीय आवश्यकता र आकांक्षा पूरा गर्ने हो। सबै कुरा प्रकृतिले एकसाथ दिंदैन र प्रकृतिले नदिंदैमा विकास नहुने भन्ने हुँदैन। जे छ त्यसैको व्यवस्थापन विकास हो। विकासका लागि स्रोत छैन भन्नु खासमा विकासका लागि सोच नहुनु हो।
न्यूजिल्यान्डको जनसंख्या कम छ तर पनि दुई लाख ६८ हजार २१ वर्गकिमी क्षेत्रफलको ठूलो देश, कसले बनाए त? सोच, संस्कार, श्रम र अनुशासनले नै बाटो, बन्दरगाह, वन, शहर, मैदान, जहाज सबै बनाएको हो। जापान, सिंगापुरसँग प्राकृतिक स्रोत सीमित छन् तर मानव स्रोत व्यवस्थापन उच्च भएकैले सीमित स्रोतलाई महत्तम उपयोग गर्दै सेवा र ज्ञानको उत्पादन गर्न लागे।
वैभवशाली विविधता
न्यूजिल्यान्डको हावापानी र वनस्पति विविधतायुक्त छ। प्रत्येक टापुमा छुट्टाछुट्टै वनस्पति र जैविक प्रजाति छन्। जस्तो- दक्षिणपश्चिम न्यूजिल्यान्डमा मेरिटान र वेइवेइ खाडीको बीचमा पर्ने फियोर्डल्यान्ड राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा छ। यो छाया क्षेत्र (टे रुवा टे माको) विशिष्ट विशेषताका लागि विख्यात छ।
यहाँ एकदमै ठाडो र कडा चट्टानयुक्त पहाडहरूबाट समुद्रमा झरना खसेका दृश्य निकै लोभलाग्दा देखिन्छन्। २० लाख वर्षअघि यहाँ ठूला ठूला हिमपहिरो गएका कारण अंग्रेजी अक्षर ‘यू’ आकारका उपत्यका र खोंचहरू छन्। चट्टानभित्र गहिरा गुफा छन्।
रूखहरू छन् तर पातला र ससाना। चट्टानी पहाड भएकाले पहिरो जाँदैन। एक लाख वर्षअघि विस्फोट भएका ज्वालामुखीका अवशेष देखिन्छन्। जलवायु विविधताले नाटकीय रूपमा मौसम परिवर्तन भइरहन्छ। एकछिनमा पानी, एकैछिनमा घाम र एकैछिनमा बतास चल्छ। हिमपात पनि हुन्छ। यसको प्रभाव प्राणी तथा वनस्पतिमा देखिन्छ।
कडा चट्टान र चिसो तापक्रमका कारण तीखा पात भएका सुरिला बोटबिरुवा छन्। सय मिटरभन्दा अग्ला भूभागमा अल्पाइन जडीबुटीका बुट्यानहरू छन्। विश्वकै दुर्लभ टाकाहे जातका सुगाहरू यहाँ आफ्नो अस्तित्व देखाइरहेका छन्। विश्वकै ठूलो काकापो सुगा, पहेंलो कल्की भएको पाराकिट, रविन र काका प्रजातिका रंगीन चराहरू, लामो तथा छोटो पुच्छरका चमेराले निकुञ्जलाई आफ्नो साम्राज्य बनाइरहेका छन्।
तालतलैयामा नीला हाँसहरू छन्। जंगलमा विशेष प्रकारका मुसा, हरिण, मृग र नामै नजानेका दुर्लभ जनावरहरू देखिन्छन्। मानिसको अतिक्रमण नभएकाले दुर्लभ चराहरू आफ्नो पहिचान कायम गरिरहेका छन्। ससाना टापु, झरना, प्राणी, वनस्पतिको मनमोहक दृश्यले विश्वका पर्यटकहरू तानिरहेका छन्।
चाल्मर्स बन्दरगाहलाई व्यापारिक मार्ग बनाएर डुनेडिन शहरले न्यूजिल्यान्डको विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको छ। बन्दरगाहमा काठका गोलिया ओसार्ने काममा रेल र कन्टेनरहरू क्रियाशील छन्। मिलाउने, कन्टेनरमा राख्ने र जहाजमा लोड गर्ने काम यन्त्रीकृत छ। यहाँको काठ चीनका शहरमा फर्निचर उद्योगका लागि पुर्याइन्छ।
पहाडी धरातलमा नेपालको हिमाली सल्ला जस्ता ठूल्ठूला रूखहरूको खेती छ। मलेशियाको रावाङ, पेनाङ, सेलांगोर, जोहोर इलाकाका जस्तै यहाँको प्रमुख व्यवसाय नै वनपैदावार उत्पादन गर्नु हो। फरक यत्ति कि मलेशियामा गर्मी छ, डुनेडिनमा जाडो। दुवै स्थानको समान विशेषता चाहिं बलौटै माटोयुक्त दम्स्याइलोपन।
शहरको शैली
पहाडी शहर डुनेडिन यूरोपेली शैलीमा छ। यहाँका सिंगापुर शैलीका सडक वरपर बगैंचा जस्तै बोटबिरुवा छन्। आवास घरहरू ससाना र हलुका संरचनामा छन्। ठूला आवासीय घरमा लगानी गरेर अर्थतन्त्र गुन्जायमान हुँदैन भन्ने न्यूजिल्यान्डवासीले बुझेका छन्।
शहरको मध्यभागमा न्यूजिल्यान्डको विख्यात ओटागो विश्वविद्यालय छ। पुरानो शैलीको रेल स्टेशन र आर्ट ग्यालरी विश्वविद्यालय नजिकै छन्। १८६३ मा निर्मित सुन्दर बोटानिकल गार्डेनले डुनेडिनको शोभा बढाइरहेको छ।
डुनेडिनको ओगाटो शहरले नयाँ शैलीमा पुरानो संस्कृति बचाएको छ। रेल्वे स्टेशन, आर्ट ग्यालरी, सरकारी भवन र विश्वविद्यालयले त्यही बताइरहेका छन्। आदिवासी माउरीहरूको संस्कृति र रानी भिक्टोरियाको संस्मरण झल्काउने कलाकृति, मूर्ति र स्मारक यत्रतत्र छन्। इतिहास बचाइराख्दा यसले शक्ति र पहिचान साथसाथै दिन्छ भन्ने डुनेडिनले देखाएको छ।
अर्को शहर लाइटेल्टन (क्राइस्ट चर्च)ले न्यूजिल्यान्डको पहाडी धरातल, खेती व्यवसाय र पहाडी पर्यावरणको प्रतिनिधित्व गर्छ। ‘हाइल्यान्ड फार्मिङ’ को उदाहरण यसले दिन्छ।
लाइटेल्टन समथर जमीनमा अवस्थित छ। पहाडी इलाका पनि अग्लो नभै दम्स्याइलो र बलौटे माटोले उर्वर छ। बस्तीहरू ससाना समुदायमा गुजुमुच्च छन्। खेतीका लागि ठूल्ठूला फाँट छन्। सबै फाँटहरूका समान विशेषता छन्। फाँटहरू धूपीसल्लाका रूखहरूबाट बारिएको छ। फाँटभित्र पस्ने ढोका पनि हरिया धूपीसल्ला कलात्मक रूपमा मिलाएर बनाइएका छन्।
ती फाँटमा पनि अन्नखेती नभई गाई, भेंडा र घोडा र कतैकतै हरिण पालन गरिएको छ। कतै तरकारीखेती गरिएको पनि भेटिन्छ। सिंचाइका लागि पाइपबाट प्राकृतिक वर्षा झैं पानी पार्ने थोपा सिंचाइ प्रणाली छ। फाँटहरूको थाप्लोमा फार्म हाउस (गोठ)हरू छन्। सामान्यतः गोठालाहरू देखिंदैनन्, धूपीका उच्च बोटहरूले नै बार र गोठालाको काम गरेका छन्।
यहाँको कृषि व्यवसाय भनेको वन र पशुपालन नै हो, प्रमुख उत्पादन चाहिं काठ, दुग्ध पदार्थ, मासु र ऊन हुन्। चक्लाबन्दीको अभ्यासले उत्पादन लागत घटाएको तर उब्जनी बढाएको छ।
क्राइस्ट चर्चको माथिल्लो भाग माउन्ट शमर र तल्लो भाग माइफिल्ड तथा माइथ हेभन अति रमणीय छन्। सबैजसो भूभाग निर्जन भएकाले मानव पदचापबाट प्रकृति पवित्र छ। अंग्रेजी चलचित्रमा देखिने डरलाग्दा दृश्य र न्याशनल जिओग्राफीमा देखिने साहसिक डकुमेन्ट्रीका दृश्य छायांकन गर्ने गजबको स्थान भएकाले चलचित्रकर्मीहरू माउन्ट शमर वरिपरि देखिन्छन्।
माउन्ट शमर शृंखलाका जति हेरे पनि मन नअघाउने पहाडी दृश्य हाम्रै डोल्पा, हुम्ला र मनाङ-मुस्ताङको वातावरणसँग सादृश्यतामा छन्। नेपालका उच्च पहाडी भाग सुक्खा छन् र ढाल उच्च छ, यहाँ हरियाली र दम्स्याइलोपनले पहाडी धरातल मनमोहक छ। नेपालमा चरन क्षेत्रहरू हरिया छैनन्, यहाँ पूरै हरियो छ। नेपालमा ससानो बस्ती छ तर यहाँ सुन्दर बगैंचा जस्तो वनको बोलबोला छ, मानव बस्ती छैन भने पनि हुन्छ।
हुम्ला, डोल्पा, मनाङ-मुस्ताङका बाटाहरू धुलाम्मे छन्, हावासाथ धूलो पनि आउँछ, माउन्ट शमरमा भने चिसो सिरेटोले मुटु कमाउँछ। पहाडका टुप्पातिर धूपीसल्ला र काँडे पोथ्राहरू छन्, सेतो बाबियाका लहलह झुप्पा र थरीथरीका मसिना घाँस हावाको झोक्कासाथ बयेली खेलिरहन्छन्। ती बयेलीले पनि समुद्री छालसँग मितेरी लगाएको भान हुन्छ।
यूरोपेली शैलीमा बनेको वेलिङटन खासै ठूलो छैन। यहाँको संसद् भवन अमेरिकाको क्यापिटोलको मिल्दोजुल्दो शैलीमा छ। शहर अवलोकन गर्न केबलकारमा जाने र त्यहाँबाट झरेर पार्कको मनोरञ्जन लिने प्रबन्ध छ। यस पार्कमा सेतो गुराँस र विभिन्न जातका फूल, चराचुरुंगीहरूको अवलोकन गर्न सकिन्छ। पार्कले नेपालको त्रिभुवन स्मारक पार्कको झल्को दिन्छ।
यस क्षेत्रको आर्थिक व्यवसायको मुख्य आधार खेती हो भने पशुजन्य पैदावार प्रमुख उत्पादन। धनी व्यक्तिहरू कि कृषक छन् कि त निर्माण व्यवसायी वा घरजग्गा कारोबारी। नेपाल, अमेरिका, चीन, भारतको जस्तो आर्थिक असमानता नभए पनि यहाँ सामाजिक असमानता भने देखिन्छ।
वेलिङटन बजारको बीच भागमा ‘काठमाडौं’ ब्रान्डको ‘आउटलेट’ छ। सगरमाथा र कञ्चनजंघा जस्ता पहाडको खप्टिएको त्रिकोणात्मक लोगो भएको काठमाडौं ब्रान्ड अस्ट्रेलियाका प्रमुख शहरहरूमा पनि ख्यातिप्राप्त छ। १० मिनेट जति पर गएपछि ठूलो भवनमा ‘काठमाडौं मल’ नै देख्न सकिन्छ।
राजधानी भएकाले सरकारी प्रशासनिक कार्यालयहरू यहीं हुने नै भए। राजधानीमा भन्दा अन्यत्र बस्ने यूरोपेली संस्कृति यहाँ पनि विकास भएको पाइन्छ। अन्य शहरमा जस्तै यहाँ पनि स्थानीय पूर्वाधार र शहरी सौन्दर्यको जिम्मेवारी स्थानीय सरकारमा छ। तर अधिकारका लागि स्थानीय तह र न्यूजिल्यान्ड सरकारबीच भने सौहार्द्रता देखिंदैन।
१६ लाख जनआवादी भएको न्यूजिल्यान्डको आर्थिक केन्द्र ओकल्यान्ड ठूलो र व्यस्त शहर हो। ५२ लाख जनसंख्या भएको मुलुकमा १६ लाख एकै शहरमा हुनु ठूलो हो। ओकल्यान्डको व्यापारिक गतिविधि, आवास संरचना र सामुदायिक भवन यूरोपेली ढाँचाका छन्।
६० हजार विद्यार्थी भएको भिक्टोरिया कलेजले यस शहरको गरिमा बढाएको छ, धेरै मुलुकका विद्यार्थी यहाँको शिक्षाबाट लाभ लिइरहेका छन्। थुप्रै बहुराष्ट्रिय कम्पनीको उपस्थिति छ, यिनीहरूकै लगानी, प्रविधि तथा पूँजीका कारण पनि शहर पनि बहुराष्ट्रिय बन्दै छ।
जापानी डिजाइन र प्रविधिबाट सन् १९५९ तिर निर्मित अस्ट्रेलियाको जस्तै कलात्मक ‘हार्वर ब्रिज’ ले पनि यहाँ दुई साना टापुलाई जोड्छ।
वेलिङटनमा झैं यहाँ पनि नेपालीको प्रयास, प्रविधि, पूँजी केही नभएको नेपालको राजधानीको नामबाट स्थापित ब्रान्डको आउटलेट छ। न्यूजिल्यान्डका पाका मानिस सगरमाथा र एडमन्ड हिलारीको नाम गर्वसाथ लिन्छन्।
न्यूजिल्यान्डको अर्को शहर टोउरांगाको अर्कोतिर माउन्गानुई र मोतुरिकी आइल्यान्ड, द्रुरी र परेड संरक्षण क्षेत्र छन्।
माउन्ट माउन्गानुई बन्दरगाहको छेउमा अवस्थित सानो हरियो पहाड हो। मोतुरिकी पहाड भने दुईतिर समुद्र किनार र एकातिर बन्दरगाह भएको फुलाम्मे पहाड हो। यी दुवैले पर्यटक लोभ्याइरहन्छन्।
टोउरांगा बन्दरगाहबाट ७८.४ किलोमिटर टाढा न्यूजिल्यान्डको विकास र मौलिक संस्कृतिसँग जोडिएका माउरी गाउ रोटोरुवा छ। रोटोरुवाको माउरी गाउ (ह्वाकरेवारेवा लिभिङ माउरी भिलेज) नजिकै सेवानिवृत्तहरूको सुन्दर बस्ती छ। बस्तीमा सबै प्रकारका सुविधा छन्। वरिपरि हरियाली, अलि पर बजार र सेवा केन्द्र अनि बीचमा सेवानिवृत्त बस्तीले जवानीमा जोश र जाँगर समाजलाई योगदान दिएका व्यक्तिलाई कसरी सेवा र सुविधा दिनुपर्छ भन्ने देखाएको छ। दक्षिणएशियामा भए घना शहरको कोलाहलमा नै यस्ता बस्ती बनेका हुन्थे।
ह्वाकरेवारेवा पुग्दा विदेशी पर्यटकलाई माउरीहरू ‘नुआ माइ हाएरे माइ’ का साइनबोर्डले स्वागत गर्छन् भने आदिवासी पहिरनमा सजिएका युवायुवतीले ‘किआवारा’ मा अभिवादन गर्दछन्। माउरीले बोलेका धेरै शब्द, लवज, भावभंगी र कतिपय नामहरू जापानी लवजसँग नजिक भएको भान दिन्छन्।
माउरी पहिरन निकै आकर्षक पनि हुन्छ- पुरुषहरू आधा पेट र आधा आङ ढाक्ने कपडा र कछाड जस्तो पहिरनमा सजिन्छन् भने महिलाहरू छातीमुनि कम्मरसम्म स्थानीय कपडाको भोटो र कम्मरमुनि रूखका डाँठ र जंगली जनावरका हाड, समुद्रका सिपी जस्ता देखिने सामग्रीबाट बनेका घुँडासम्म आउने फ्रक (जामा) लगाउँछन्। जनावरका हाडहरूको छोटो माला महिलाका गहना हुन्। महिला-पुरुष दुवैका हातमा टयाटू कोरिएको हुन्छ।
सबैजसो देशका आदिवासीमा पाइने समान विशेषता भनेको वनजंगल, नदीसमुद्र, पहाड लगायतसँग उनीहरू सामीप्य हो। उनीहरूको लवाइखवाइ र जीवननिर्वाह नै प्रकृतिमा आधारित हुन्छ।
उनीहरूको गीतमा आफ्नो इतिहास र शासकीय पीडा, त्यस विरुद्धको हुंकार पनि देखिन्छ। प्रकृतिमा आश्रित हुनुपर्ने भएकाले परिश्रमी र जोशिला हुन्छन्। माउरीमा पनि यही विशेषता भेटिन्छ।
तर अहिले माउरी दुई प्रकारका परस्पर चुनौती सामाना गरिरहेका छन्। पहिलो- आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउँदै नयाँ जीवनशैली अवलम्बन कसरी गर्ने भन्ने चुनौती। दोस्रो- शासकीय प्रक्रियामा सम्मिलन र संघर्षलाई कसरी साथसाथै लैजाने भन्ने चुनौती।
वन संरक्षणको राम्रो नमूना बे अफ आइल्यान्डमा देख्न सकिन्छ। वेइटांगीबाट ७५ माइलको दूरीमा फुकेटी वनको काउरी संरक्षण क्षेत्रभित्र प्रवेश गर्दा जुत्ता र शरीर स्वतः निर्मलीकरण हुने प्रणाली छ। यहाँ ५०० वर्षअघिका ठूला रूख धेरै छन्। कतिपय रूखमाथि परजीवी रूख र लहराहरू छन्, नेपालको सुनागाभा र लहरे भोर्लो जस्तै। पातलो बस्ती र घना वन संरक्षण यो टापुको विशेषता हो।
वेइटांगीबाट हिंडेपछि भेटिने ठूलो बस्ती कावाकावामा पनि ६ हजार जति मात्र मानिस छन्। जंगलको वरिपरिका घरहरू काठका नभई फेब्रिकेटेड छन्। यो बस्तीमा पनि धेरै त माउरी छन्। सेवानिवृत्तहरूको सानो बस्ती पनि साथै छ।
गाडी नभएको घर छैन तर कुनै घरमा मानिस देखिएको छैन। सबै बस्ती शान्त र सुन्दर छन्। बस्ती र शहरको पहिचान कोलाहलले दिंदैन।
बे अफ आइल्यान्डले एउटा सुन्दर रैथाने बस्ती केरीकेरीलाई फरक शैलीमा बचाइराखेको छ। यो जिरी, हेलम्बु जस्तै सानो तर तलाउ, सानो नदी, बगैंचा र मौलिक पहिचानका वस्तुहरू बजार गर्ने ठाउँ निकै रमाइलो र सुन्दर सानो बस्ती हो।
कुनै समय थियो न्यूजिल्यान्डमा जाने नेपालीको नाम सामान्य ज्ञानमा लेखिन्थ्यो। सत्यमोहन जोशी सरकारी कामको सिलसिलामा न्यूजिल्यान्ड पुग्ने पहिलो नेपाली थिए।
अहिले २०-२२ हजार नेपाली डायस्पोराका रूपमा न्यूजिल्यान्डमा रहेको अनौपचारिक तथ्यांक छ। कतिपय नेपाली कर्मचारी नेपालको जागीर छाडी यहींको सरकारी सेवामा पनि प्रवेश गरेका छन्।
राष्ट्रिय गर्व कायम गर्न सरकार र नागरिक दुवै सक्रिय नभए कुनै मुलुकले तयार गरेका राम्रा जनशक्ति अर्को देशमा अवसरको बनिबनाउ पौलमा जाने क्रम बढी नै रहनेछ। यसले राष्ट्रिय संस्कृतिलाई पनि प्रभाव पार्दछ। यस विषयमा अल्पविकसित मुलुकले समयमै सोच्नुपर्छ भन्ने आप्रवासनको यो क्रमले बताएको छ।
(मैनाली नेपाल सरकारका पूर्व सचिव हुन्।)