‘मानव अधिकार आयोगको प्रतिवेदन अपूरो छ, क्षतिपूर्ति होइन न्याय चाहिएको हो’
दाइजो नदिएको निहुँमा २०८० जेठ ७ गते धनुषाको नगराइन नगरपालिका-८, खिरखिरियाकी २५ वर्षीया आरती साहको हत्या भयो। छोरीका हत्यारालाई कारबाही गराउन आमा निर्मलादेवी साहले धनुषामा सक्दो कोशिश गरिन्। तर उल्टै प्रहरीले उनको परिवारलाई नै कुटपिट गरेर थुनामा राख्यो।
त्यसपछि काठमाडौं आएकी निर्मला अझै घर फर्किएकी छैनन्। उनी सात महीनादेखि माइतीघर मण्डल हुँदै शान्ति वाटिकामा धर्नामा बसिरहेकी छन्। छोरीका हत्यारालाई कारबाही नहुँदासम्म घर नफर्किने आमा निर्मलाले प्रण गरेकी छन्।
पछिल्लो पटक राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदनले पनि थप दुखित बनाएको उनीहरूको भनाइ छ। आयोगले न्यायभन्दा पनि क्षतिपूर्तिमा जोड दिएको भन्दै उनीहरूले विरोध जनाएका छन्।