बलर हावी भएको खेलमा कर्णाली र बागमती विजयी
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा कर्णाली र बागमती प्रदेश विजयी भएका छन्।
सिद्धार्थनगरस्थित क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको हो। कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १२४ रनमै समेटियो।
लुम्बिनीका लागि कृष्ण कार्कीले ४७, मृणाल गुरुङले २२, मोहम्मद हुसेन र निर्मल गुरुङले १०-१० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
यो खेलमा कर्णालीका बलर हावी रहे। कर्णालीले खेलाएका ६ वटै बलरले प्रभावशाली प्रदर्शन गरे। दिनेश अधिकारीले तीन, अनुज चुनरा र दीपेन्द्र रावतले दुई-दुई तथा दिवान पुनले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले ४५ ओभरमा सबै विकेट गुमाएर १८४ रन बनाएको थियो। कर्णालीका लागि दिनेश अधिकारीले ५६, दीपेन्द्र रावतले ४७, हिमांशु शाहीले २५ र रवीन्द्र शाहीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
लुम्बिनीका बलरले पनि प्रभावशाली प्रदर्शन गरेका थिए। लुम्बिनीका पाँचै बलरले विकेट लिए। निर्मल गुरुङ र अभिषेक गौतमले तीन-तीन तथा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले एक-एक विकेट लिए।
त्यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ। त्रिभुवन आर्मी क्लबले दिएको ९८ रनको लक्ष्य बागमतीले २२.१ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो।
बागमतीका लागि अशोक पौडेल र प्रतिश जीसीले २१-२१ रन, इशान पाण्डे र रविन जोशीले १२-१२ तथा विपिन आचार्यले १० रन बनाए। त्रिभुवन आर्मीका लागि सोमपाल कामीले तीन, शहाब आलम र जितेन्द्र मुखियाले दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको त्रिभुवन आर्मीले २७.१ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो। आर्मीका लागि विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११ रन बनाए।
बागमतीका बलर हावी भए भने सातै जनाले राम्रो प्रदर्शन गरे। बागमतीका लागि सूर्य तामाङले पाँच विकेट लिए। उनले नौ ओभरमा दुई मेडन राखेर २६ रन खर्चिए। त्यस्तै, प्रतिश जीसी र रिजन ढकालले दुई-दुई तथा कृजन गुरुङले एक विकेट लिए।
बिहीबार गण्डकी र सुदूरपश्चिम, एपीएफ र मधेश तथा कोशी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।