गौशाला-२६ को पहिचान सार्वजनिक गर्न खोजेको आरोपमा एक युवक पक्राउ
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा कैद सजाय भएपछि पीडित युवती गौशाला-२६ को पहिचान सार्वजनिक गर्न खोजेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ।
ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) पशुपति रायका अनुसार संखुवासभाका केशरमान राईलाई पक्राउ गरिएको हो। उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट सात दिनको म्याद लिइएको एसपी रायले बताए।
केशरमानलाई संखुवासभाबाटै पक्राउ गरिएको हो। उनी विरुद्ध विद्युतीय अपराध सम्बन्धी ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।
पुस २५ गते सन्दीपलाई जिल्ला अदालत, काठमाडौंले आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको थियो। फैसला लगत्तै सामाजिक सञ्जालमा गौशाला-२६ को तस्वीर भन्दै एक युवतीको फोटो पोस्ट गरिएको थियो।
त्यसपछि प्रहरी प्रधान कार्यालयले ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो। यसमा अनुसन्धान जारी रहेकाले अझै केही व्यक्ति पक्राउ पर्न सक्ने ब्यूरोले जनाएको छ।