मुख्यमन्त्रीको कार्यक्रममा ‘भ्रष्टाचारी सरकार’ भन्दै सत्तारूढ दलकै कार्यकर्ताको प्रदर्शन
मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचारी सरकार’ भन्दै मुख्यमन्त्रीकै अगाडि प्रदर्शन गरेका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार आफू नेतृत्वको सरकारले एक वर्षको अवधिमा गरेको कार्यको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा सत्ता साझेदार जनमत पार्टी कार्यकर्ताले विरोध जनाएका हुन्।
महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा सरकारका उपलब्धि सार्वजनिक गरेर पत्रकारले सोधेको प्रश्नको जवाफ दिन लाग्दा जनमत पार्टीका सचिव बीपी साहको नेतृत्वमा कार्यकर्ताले ‘भ्रष्टाचारी सरकार’ भन्दै प्रदर्शन गरेका हुन्। उनीहरूले साइकल वितरणमा अनियमितता गर्नेहरूलाई कारबाही गर्न पनि माग गरे।
जनमतका कार्यकर्ताले नाराबाजी गरिरहँदा मुख्यमन्त्री यादवले शान्त रहन पटक पटक आग्रह गरेका थिए। मुख्यमन्त्री यादवसँगै मञ्चमा रहेका जनमत पार्टीका नेताद्वय श्रममन्त्री चन्दन सिंह र शिक्षामन्त्री महेशप्रसाद यादव चूपचाप हेरिरहेका थिए। निकै बेर नाराबाजी गरेपछि जनमतका कार्यकर्ता आफैं बाहिर निस्केका थिए।
मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारमा कुनै पनि प्रकारले अनियमितता नभएको जिकिर गरे। “जनमत पार्टी कुन नैतिकताले सरकारमा बसेको छ। सरकारमा पनि बस्ने, विरोध पनि गर्ने, भ्रष्टाचारी सरकारमा किन बस्नुपर्यो,” मुख्यमन्त्री यादवले भने।
यस्तै, मन्त्रिपरिषद्ले प्रदेशको नामकरण र राजधानी तोकिएको दिनलाई मधेश स्वाभिमान दिवस मनाउने निर्णय गरेको छ।