‘प्यालेस्टाइन विरुद्ध इजरायलले खानालाई नै हतियार बनाइरहेछ’
इजरायलले गाजाको खाद्य प्रणाली नै नष्ट गर्दै प्यालेस्टिनी जनता विरुद्ध खानालाई नै हतियार बनाएको संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले बताएका छन्।
संयुक्त राष्ट्रसंघका स्वतन्त्र मानव अधिकारविज्ञहरूले इजरायली आक्रमणका कारण गाजाका ८० प्रतिशत मानिसले भोकमरीको सामना गरिरहेको बताएका छन्। राष्ट्रसंघ मानव अधिकार परिषद्का विभिन्न क्षेत्रका र्यापोटरहरूले माघ २ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा गाजाको संकटग्रस्त मानव अधिकारको अवस्था सार्वजनिक गरिएको छ।
‘अहिले गाजाका हरेक मान्छे भोका छन्, जनसंख्याको एकचौथाइ खानाको अभावमा छन्। खाना र पानीका लागि संघर्ष गरिरहेका छन्। गाजा भोकमरीको सँघारमा छ,’ विज्ञप्तिमा भनिएको छ।
पर्याप्त पोषण र स्वास्थ्य सेवाको अभावले गर्भवती आमा र बच्चा जोखिममा रहेको पनि मानव अधिकारकर्मीको ठहर छ। यो भोकमरी रहिरहेमा पाँच वर्षमुनिका तीन लाख ३५ हजार बालबालिका कुपोषणको शिकार हुने आकलन गरिएको छ। कुपोषणका कारण एउटा पुस्ताको शारीरिक र मानसिक विकास नै न्यून हुने उनीहरूले चेतावनी दिएका छन्।
‘गाजाको कुनै हिस्सा पनि सुरक्षित छैन। ९ अक्टोबर २०२३ यता इजरायले गाजामा पूर्णतः नाकाबन्दी लगाइरहेको छ, जसले गर्दा २३ लाख प्यालेस्टिनीहरू पानी, खाना, इन्धन, औषधि, उपचारका लागि अत्यावश्यक सामग्रीबाट वञ्चित छन्। १७ वर्षदेखि इजरायलले लगाइरहेको नाकाबन्दीको पृष्ठभूमिमा यो थप बन्देज थोपरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इजरायली नाकाबन्दीका कारण हालको युद्ध शुरू हुनुअघि नै गाजाका आधाजसो मानिस खाद्य असुरक्षाबाट गुज्रिरहेका थिए भने ८० प्रतिशत बासिन्दा अन्तर्राष्ट्रिय मानवीय सहयोगमा आश्रित थिए।’
सिंगो जनसंख्यालाई भोकै राख्ने यस्तो घटना यसअघि कहिल्यै नभएको पनि उनीहरूले उल्लेख गरेका छन्। ‘इजरायलले गाजाको खाद्य प्रणाली नै नष्ट गरिरहेको छ र प्यालेस्टिनी जनता विरुद्ध खानालाई नै हतियार बनाइरहेको छ। इजरायलले कृषियोग्य जमीन र समुद्रसम्मको पहुँच ध्वंस गर्ने र रोक्ने काम गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला रिपोर्ट अनुसार २७ अक्टोबर २०२३ मा इजरायली सेनाले स्थलगत कारबाही थालेपछि झन्डै २२ प्रतिशत कृषियोग्य जमीन उजाडिएका छन् जसमध्ये बगैंचा, हरितगृहहरू र खेतबारी पर्छन्।’
त्यस्तै, इजरायलले गाजाका ७० प्रतिशत माछा मार्ने जहाज नष्ट गरिदिएको रिपोर्ट छ। थोरै मात्रामा मानवीय सहायता पुर्याउन दिइए पनि मानिसहरू खाना र खाना पकाउने इन्धनको अभावमा रहेको जनाइएको छ। ‘मैदा, पानी र इन्धनका अभावले अधिकांश बेकरीहरू बन्द छन्। अस्पतालहरू ध्वस्त भएकाले स्वास्थ्य प्रणाली ध्वंस भएको छ। पिउने पानीको अभाव छ। त्यसैले सरुवा रोगहरू फैलिने जोखिम अत्यधिक छ,’ विज्ञप्तिमा भनिएको छ।
मानवीय मामिलाको संयोजनका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले गाजाको कूल जनसंख्याको ८५ प्रतिशत अर्थात् १९ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको ठहर गरेको छ। ‘हामीले पटक पटक नरसंहारको खतराबारे जानकारी गराउँदै संसारभरका सरकारलाई यो नरसंहार रोक्न सचेत गराइरहेछौं,’ विज्ञहरूले भनेका छन्।
यो युद्धले भोकमरी बढाइरहेको उनीहरूले उल्लेख गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘मनपरी बमबारीका कारण भएको हत्याले मात्रै प्यालेस्टिनी नागरिकलाई असर पुर्याइरहेको छैन, यो युद्धले रोग, कुपोषण, जलवियोजन र भोकमरी बढाइरहेको छ भने आवास ध्वस्त पारिरहेको छ।’