प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुंग्याउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित सुरक्षा अधिकारीसँगको छलफलमा दाहालले प्रहरी समायोजन प्रक्रिया टुंग्याउन निर्देशन दिएका हुन्।
नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दा समेत समायोजन अघि नबढेकोमा चिन्ता जनाए। अब समायोजन प्रक्रिया लम्बिन दिन नहुने उनको भनाइ थियो।
छलफलमा प्रधानमन्त्री दाहालले संघीय कानून नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिंदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेको स्मरण गराए। यसमा गम्भीर हुन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
“संघीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ। यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्,” प्रधानमन्त्री दाहालले भने, “यसलाई नै बहाना बनाएर संघीयता विरोधीले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐन अनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस्।”
छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, सरकारका मुख्यसचिव वैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारी उपस्थित थिए।