जलपन्छी गणना : नारायणी नदी क्षेत्रमा गत वर्षभन्दा दुई प्रजाति कम
यस वर्षको जलपन्छी गणनामा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्।
चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पन्छी गणना संयोजक डीबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिए। “गत वर्षको पन्छी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, यसपालिको गणनामा नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए,” उनले भने, “गत वर्षभन्दा दुई प्रजाति कम भेटिएका छन्।”
गत वर्ष देखिएका आठ प्रजाति यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएका ६ प्रजाति यस वर्ष देखिएको संयोजक चौधरीले जानकारी दिए। “गत वर्ष देखिएको सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, श्वेत माछा यस वर्ष भेटिएनन्,” उनले भने, “गत वर्ष फेला नपरेका सिन्दूरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग र नारायणी नदीमा नै पहिलो पटक बैकाल गैरी यस वर्ष भेटिएका छन्।”
नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो। सिघ्रौली, गोलाघाट हुँदै अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो।
मंगोलिया, बर्मा, साइबेरिया, चीन, रूस, थाइल्यान्ड, कोरिया लगायत देशबाट आगन्तुक चरा यो समयमा नारायणी नदी र आसपास क्षेत्रमा आउने हुँदा प्रत्येक वर्ष नारायणी नदीमा चरा गणना गर्ने गरिएको छ। नेपालको जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइने गरेको छ।
प्रत्येक वर्ष घट्दो चराको संख्या
गत वर्षको तुलनामा यस वर्ष चराको समग्र संख्या घटेको प्रारम्भिक तथ्यांक आएको संयोजक चौधरीले बताए। उनले भने, “प्रत्येक वर्ष नेपालमा क्रमिक रूपमा चराको संख्या घटिरहेको छ।”
साइबेरिया लगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये सबैभन्दा धेरै संख्यामा खोया हाँस देखिने गरेकामा यस वर्ष त्यसमा उल्लेख्य कमी आएको चौधरीले जानकारी दिए। “यस वर्ष खोया हाँसको संख्या विगतको भन्दा ५० प्रतिशतले कमी आएको पाएका छौं,” उनले भने, “नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको नारायणी नदीको च्यानलमा पानी सुक्नाले खोया हाँसको संख्यामा कमी आएको हो, यस क्षेत्र खोया हाँसको प्रमुख वासस्थानका रूपमा रहेको थियो।”
नारायणी नदीमा बढ्दो प्रदूषण र घट्दो आहाराका कारण चरा कम आउन थालेको चौधरीले बताए। निकुञ्ज सहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको संख्यामा पनि यस वर्ष कमी देखिएकाले पन्छी संरक्षणमा चुनौती बढ्दै गएको चौधरीले बताए।
बैकाल गैरी चरा भेटियो
यस वर्षको चरा गणनामा विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ। पन्छी गणना संयोजक चौधरीका अनुसार प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन)ले समेत हाँस प्रजातिको बैकाल गैरीलाई खतरामा परेका प्रजातिको रातो सूचीमा राखेको छ।
“नेपालमा बैकाल गैरी चरा ठूला नदी र तालमा रेकर्ड गरिएको भए पनि नारायणी नदी क्षेत्रमा भने पहिलो पटक देखिएको हो,” चौधरीले भने, “उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नारायणी नदीमा आएका हुन्।” -रासस