९० सालको भूकम्पका स्मृतिहरू
९० वर्षअघि माघ २ गते ८.३ म्याग्निच्यूडको भूकम्प भोगेर बाँचेकाहरू अहिले पनि त्यो त्रासदी र शोक सम्झिन्छन्।
मनमाया महर्जन, १०४
मनमाया महर्जनको दिन करीब एक घन्टा जति लामो पूजा, मन्त्र पाठ र परिवारजनलाई आशीर्वाद दिएर शुरू हुन्छ। दिनको अन्त्य पनि त्यसैगरी हुन्छ।
मनमायाको मुज्जा परेको मुहार उनको लामो जीवनको प्रमाण हो। उमेरको यो उचाइसम्म आइपुग्दा उनले थुप्रै आरोह-अवरोह देखेकी छन्। तीमध्ये अहिलेसम्म पनि स्मृतिमा आइरहने क्षण भने १९९० सालको भूकम्प हो जसमा देशैभर आठ हजार ५१९ जनाको निधन भएको थियो।
“घ्यूचाकु संलुको भोलिपल्ट थियो,” आफू १४ वर्ष हुँदाको त्यो दिन सम्झिन्छिन् उनी, “सबैतिरबाट हल्लाखल्ला भएको सुनें। एक्कासि जमीन जोडजोडले हल्लिन थाल्यो। म आफैं हिंडें कि घर बाहिर खसें मलाई थाहा छैन।”
उनी अहिले ललितपुर पुल्चोकमा मदनस्मारक स्कूल रहेको ठाउँमा एउटा पर्खालमा पल्टिइन्। उनका बुबा खेतमा थिए। उनैले पछि परिवारमा जमीन धेरै पटक फाट्ने र जोडिने गरेको सुनाए। त्यसरी जमीन फाट्दा त्यसैमा परेर घाइते भए।
“थुप्रै मानिस मरे, थुप्रै पुरिए। घर भत्किए,” आफ्नो परिवार र छरछिमेकी हप्तौंसम्म कसरी घर बाहिरै बसे भन्ने बताउँदै मनमाया सुनाउँछिन्।
तत्कालीन राणा सरकारले घर पुनर्निर्माण गर्न पैसा बाँडेको थियो तर उनको परिवारले त्यो ऋण भएकाले पछि तिर्नुपर्छ भनेर लिएन।
२० वर्षको उमेरमा उनको विवाह भयो। तीन छोरा र तीन छोरी पनि भए। अहिले उनका नौ जना नातिनातिना र चार जना पनाति-पनातिनी छन्। उनका जेठा र कान्छा छोराको निधन भइसकेको छ। कान्छी छोरी अमेरिकामा बस्छिन्। ४६ वर्षअघि उनले पति गुमाएकी थिइन्।
२०७२ सालमा भूकम्प जाँदा उनले १९९० सालको त्यो भूकम्प सम्झेकी थिइन्। तर २०७२ को भूकम्प ९० साल जत्तिको ठूलो थिएन भन्ने उनी जान्दछिन्।
मनमायाको चार पटक जंकु भइसकेको छ। ७७ वर्ष सात महीना सात दिनको दिन पहिलो जंकु हुन्छ। ८२ वर्षको उमेरमा दोस्रो, ८८ वर्ष आठ महीनामा तेस्रो र ९९ वर्ष नौ महीनामा चौथो जंकु हुन्छ। तेस्रो जंकु भइसकेको ज्येष्ठ नागरिकलाई नेवा समुदायमा देवता समान मानिन्छ।
“एक महीनाअघि म अस्पताल गएँ, त्यसअघि कहिल्यै पनि गएकी थिइनँ,” चार वर्षअघिसम्म पनि आफैंले खाना बनाउने र दैनिक काम गर्ने मनमाया सुनाउँछिन्, “डाक्टरले पनि म जस्तो चार पटक जंकु गरेको मानिस नभेटेको भने।”
अष्टमाया बज्राचार्य, १०२
“१९९० सालको भूकम्पको एक महीनाअघि हामीले सिंह कराएको सुनेको। त्यो अनिष्टको संकेत हो भन्थे,” १९९० सालको भूकम्प भन्नासाथ अष्टमाया यस्तै सम्झिन्छिन्।
त्यो दिन उनी पाटनमै आफ्नो घरको आँगनमा साथीहरूसँग खेलिरहेकी थिइन्। एक्कासि काग र परेवाहरू उड्न थाले। अनि जमीन उचालिएर उनीहरूलाई यत्रतत्र हुत्यायो।
“तुरुन्तै वरिपरिका घर भत्किन थाले,” अष्टमाया सम्झिन्छिन्। उनका भाइ, आमा र दिदी घरको भग्नावशेषमा पुरिएका थिए। उनका पुजारी बुबा त्यति वेला एउटा पूजामा थिए। घर भत्किएको खबर पाउनासाथ उनी दौडिंदै आए। हतारमा एउटा खुट्टामा मात्रै जुत्ता लगाएका थिए। अष्टमायालाई त्यति वेलाका ससाना प्रसंग पनि याद छ।
“आउनासाथ उहाँले हातैले खन्न थाल्नुभयो तर ६ वर्षको भाइलाई बचाउन ढिला भइसकेको थियो। बाहिरबाट हेर्दा त केही चोटपटक देखिंदैनथ्यो तर उसको मृत्यु भइसकेको थियो,” परिवारकी कान्छी छोरी अष्टमाया सुनाउँछिन्।
१८ वर्षको उमेरमा अष्टमायाको विवाह भयो। जम्माजम्मी १३ सन्तान जन्मिए तर तीन छोरी र चार छोरा गरी सात जना मात्रै वयस्क उमेरसम्म बाँचे। ५४ वर्षअघि उनले पति गुमाइन्। अहिले उनका दुई दर्जन नातिनातिना र डेढ दर्जन पनाति-पनातिनी र एक जना खनाति छन्।
२०७२ सालको भूकम्पको समयमा स्वठःको छेवैमा भएको खुला ठाउँतिर दौडेको सम्झिन्छिन् उनी। तर त्यहाँ पुग्दा मन्दिर भत्किइसकेको थियो।
२०७२ को भूकम्पपछि सिंगो परिवार भुँइतलामा एकै ठाउँमा सुतेका थिए। तर ९० सालको भूकम्प बेहोरेकी अष्टमाया खासै डराएकी थिइनन्।
“यस वर्षको दशैंतिहारसम्म म स्वस्थ र बलियी थिएँ,” अष्टमाया ठट्टा गर्छिन्। यही वर्ष २३ वर्षको नाति दुर्घटनामा बितेपछि उनी विषादमा परेकी छन्।
सानुनानी विष्ट, ९७
नेवार नभए पनि सानुनानी मजाले नेपाल भाषा बोल्छिन्। नेवारीमै उनी भन्छिन्, “९० सालको भूकम्प जाँदा म पाँच वर्षकी थिएँ, पढ्न मन लाग्दैनथ्यो, खालि खेलिरहन्थें।”
उनी सुन्धारा नजिकै धालाछेंमा रहेको आमाको नेवारी घरमा हुर्किइन्। यही नै उनले ९० वर्षअघि भूकम्पको अनुभव गरेकी थिइन्। “जमीन हल्लिन र घरहरू भत्किन थालेपछि सुरुवाल समाउँदै साथीहरूसँग दौडेको सम्झिन्छु म,” त्यति वेला सात वर्षकी सानुनानी सम्झिन्छन्।
उनकी आमा छिमेकीको घर भत्किएर पुरिएकी थिइन्। बुबा भने सिंहदरबारमा जागीरमा थिए। उनले सिपाहीहरूसँग आफ्नी आमा खोजिदिन भन्दै रोइकराइ गरिन्।
उनीहरूले अनुहार देखिने गरी खनेपछि सानुनानीले आमालाई चिनिन्। बाँकी शरीर निकाल्ने जिम्मा परिवारलाई लगाएर सिपाहीहरू अरू ठाउँमा खन्न गए। उनकी आमा घाइते भएकी थिइन्। शरीर रक्ताम्य भएको थियो। उनलाई अस्पताल लगियो। जे होस्, उनी बाँचिन्।
घर आधा जति भत्किएको थियो तर उनीहरूले जसोतसो बनाए। परिवारका एक सदस्यले घर पुनर्निर्माणका लागि १०० रुपैयाँ पाएका थिए। त्यही पैसाले उनले पाटनमा आधा हेक्टर जमीन किने। पछि राणाहरूले ऋण उठाउन आउँदा उनीहरूले तिर्न सकेनन् र जेल परे। पछि सबैलाई ऋण मिनाहा गरियो र उनीहरूले पनि माफ पाए।
१४ वर्षको उमेरमा सानुनानीको विवाह भयो। उनले तीन छोरा जन्माइन्। उनका पति र जेठा छोराको निधन भइसकेको छ। उनका चार नातिनातिना र तीन पनाति-पनातिनी छन्।
९७ वर्षको उमेरमा पनि उनी सक्रिय छिन्। हरेक दिन छिमेकमा रहेको गणेश मन्दिरमा जान्छिन् र फूलबारीमा काम गरिरहन्छिन्।
सुकुचा महर्जन, १००
“त्यति वेला १० वर्षको थिएँ म र मावल घर गएको थिएँ,” १९९० सालको भूकम्प सम्झिंदै सुकुचा भन्छन्, “एक्कासि हामीले जमीन हल्लिएको चाल पायौं। त्यो त बढ्दै गयो र आकाशभरि धूलो उड्न थाल्यो।”
सिंगो जीवनभर सुकुचा किसान नै रहे। केही वर्षअघि उनकी पत्नीको निधन भयो। आफ्ना सन्तान नभएकाले उनले बहिनीको आमाबाबुविहीन सन्तानलाई नै आफ्नो बनाए।
“म नै सबैभन्दा जेठो हुँ तर थाहा छैन किन हो भगवान्ले अहिलेसम्म मलाई लगेका छैनन्,” १०१ वर्षका खिरिलो ज्यान भएका सुकुचा भन्छन्। र, उनको नामको अर्थ पनि ‘दुब्लो’ नै हो।
यही साता उनले गबहालका छिमेकीहरूलाई नेपाली गीत सुनाएका थिए। उनी संगीत र नृत्यको पारखी भएको उनका छिमेकीहरूले बताउँछन्।
“जवान हुँदा त म खूब नाच्ने, गाउने गर्थें,” सुकुचा भन्छन्। अहिले त उनी लौरोको सहाराले पनि मुश्किलले हिंड्छन् तर मानिसहरूले सहयोग गरेको खासै मन पराउँदैनन्।
सुकुचाका ५९ वर्षीय भान्जा भन्छन्, “म सानै छँदा मेरा बाआमाको निधन भयो। उहाँले नै मलाई हुर्काउनुभयो। अहिले मैले उहाँलाई हुर्काइरहेछु। उहाँ मेरो मामा मात्रै होइन, बा पनि हो।”
२०७२ सालको भूकम्पपछि नौ जनाको यो परिवार लामो समयसम्म छिमेकीहरूसँग घर बाहिरको खुला ठाउँमा टेन्टमा बस्यो तर सकुचा उनीहरूसँग बसेनन्। उनले आफूलाई डर लाग्दैन भनेका थिए।
कमजोर अवस्थाका बावजूद सुकुचा हरेक बिहान आफ्नो घरआँगनमा भएका मूर्ति ढोग्न पुग्छन्। अनि खाजासँगै आधा ग्लास अयला पनि खान्छन्। दिनको तीन पटक अयला पिउँछन् तर केही खाएपछि मात्रै।
उनलाई कुनै दीर्घरोग छैन। पछिल्लो पटक समुदायको सहयोगमा स्वास्थ्य जाँच गर्दा पनि उनमा कुनै समस्या देखिएन।
- नेपाली टाइम्सको यस सामग्रीको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।
यो पनि,
९० वर्षपछि ९० साल