बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
२०६२ साल ताका लामो समय निराहार तपस्या गर्ने भन्दै बाराको जंगलमा बसेपछि चर्चामा आएका रामबहादुर बम्जनलाई ‘गौतम बुद्धको अवतार’ र ‘लिटिल बुद्ध’ भनियो। उनै बम्जन समयक्रममा अनेकन् विवादमा परे। एक अनुयायीको हत्या, व्यक्ति बेपत्ता र जबर्जस्ती करणीको आरोप लागेका बम्जन अन्ततः प्रहरी हिरासतमा पुगेका छन्।
बम्जनको पक्राउसँगै ‘बुद्धको अवतार’ र ‘लिटिल बुद्ध’ को सन्दर्भ फेरि सतहमा आएको छ। खासमा बौद्ध जगत्मा बुद्धको अवतार र लिटिल बुद्ध जस्ता अवधारणा नै हुँदैनन्। उनलाई बुद्ध भन्न नमिल्ने भन्दै बौद्ध जगत्ले शुरूदेखि खण्डन गरेको थियो। यद्यपि कतिपय बौद्ध भिक्षुहरू समेत कौतूहलवश त्यहाँ पुग्ने र सहभागी हुने गरेका थिए। उनी आफैंले बुद्धभन्दा पनि ठूलो र ‘महाबोधी श्रवण’ भन्न थालेपछि उनी र बौद्ध जगत्बीच एक खालको कित्ताकाट नै भएको थियो।
बम्जनको पक्राउले बौद्ध धर्मलाई असर पर्ने भन्दै एउटा वर्गबाट चिन्ता व्यक्त भइरहेछ। वास्तवमा त्यो वर्गमा बौद्ध धर्मप्रति एकाएक चिन्ता पलाएको देखिन्छ। बम्जनको नाममा उर्लेको समर्थन तथा बुद्ध र बौद्ध धर्मका नाममा उनले बोलेका शब्द हेर्दा बुद्ध र बौद्ध दर्शनसँग पटक्कै मेल खाँदैन।
बौद्ध जगत्का अनुसार एउटै बुद्ध शासनमा दुई बुद्ध हुँदैनन्। तर यसप्रति संवेदनशील हुनुपर्नेमा यस तथ्यलाई बेवास्ता गरिएको पाइन्छ। नेपालमा बौद्ध शिक्षाको अवस्था कति कमजोर रहेछ भन्ने दृष्टान्त हो यो। बौद्ध शिक्षण संस्थामा आबद्ध व्यक्तित्वहरू पनि यस मामिलामा चुक्नु विडम्बना हो।
गौतम बुद्धकै समयमा र त्यसपछि पनि आफू बुद्ध भएको दाबी गर्ने अनेकौं घटना भएका पाइन्छन्। यी लगायत अन्य प्रसंगबाट रामबहादुर बम्जन बुद्ध हुन किन सक्दैनन् भन्नेबारे यहाँ विमर्श गरिनेछ।
बौद्ध जगत्मा बुद्धको अवतार भन्ने हुँदैन। बुद्धहरू बेग्लाबेग्लै हुन्छन्। अघिल्लो बुद्धको नाम कश्यप थियो, उनको पुनर्जन्म भएर गौतम बुद्ध आएका होइनन्। यसरी नै भविष्यको बुद्ध भनिएका मैत्रेय बुद्ध पनि गौतम बुद्धको पुनर्जन्म हुँदैनन्। पालि साहित्यमा हालसम्मका २८ बुद्धको नाम उल्लेख हुनुका साथै त्यसभन्दा पछि पनि अनेकौं नामको बुद्ध हुने कुरा बुझिन्छ। यस्तै, महायानी र बज्रयानी बौद्ध सम्प्रदायको साहित्यमा त्यसभन्दा बढी बुद्धहरूको नाम पाइन्छ। गौतम बुद्ध र मैत्रेय बुद्ध दुवै बोधिसत्व तुषित देवलोकमा सँगै थिए र थोरै पुण्य बलले गौतम बुद्ध अगाडि परेका हुन् भनेर प्रायः सबै बौद्ध साहित्यमा उल्लेख पाइन्छ।
बम्जनलाई गौतम बुद्धको अवतार भनेर सर्वप्रथम कान्तिपुर दैनिकका स्थानीय संवाददाताहरूले प्रस्तुत गरेका थिए। पछि अरूहरूले पनि यसैलाई पछ्याए। त्यति वेलासम्म न बम्जनले केही बोलेका थिए न त उनको सेवामा खट्नेहरूले नै। गौतम बुद्ध र रामबहादुर बम्जन दुवैका आमाको नाम ‘माया’ हुनु संयोग मात्रै हो। यही संयोगको समेत टेको लिएर बम्जन गौतम बुद्धका अवतार हुन् भनेर दाबी गरिनु हास्यास्पद छ।
गौतम बुद्धले ६ वर्षसम्म कठोर तपस्या गरेर बुद्धत्व पाएको भन्ने गलत तथ्यलाई पनि बम्जनसँग जोडेर बुद्धको दाबी गरिएको पाइन्छ। गौतम बुद्धले निराहार ६ वर्ष तपस्या गरेको तथ्य भेटिंदैन। बरु उनले आहार घटाउँदै लगेका थिए र निराहार तपस्या गर्ने सोच बनाएका थिए तर त्यसो गरेनन्। अन्ततः तपस्याको साधना गलत भएको निष्कर्षमा पुगेर उनले उचित मात्रामा भोजन लिई तन्दुरुस्त भएर ध्यान साधना गरेका थिए। ध्यान साधनाबाटै उनले बुद्धत्व प्राप्त गरेका हुन्।
बम्जनलाई नेपाली समाजले तपस्वी भनेर चिनाए पनि उनी खासमा ध्यानी हुन्। उनको एउटै मात्र विशेषता हो, भोजन विना लामो समयसम्म ध्यान साधना गर्न सक्नु। सानै उमेरमा अनेक विलक्षण प्रतिभा देखाउन सक्नेहरू विश्वभर देख्न पाइन्छ। यसलाई बौद्ध धर्मले पूर्वजन्मको संस्कारको बल मान्छ। यस्तो प्रतिभा कसैको सन्दर्भमा जीवनभर रहन्छ भने कसैको उमेरसँगै बिलाएर जान्छ। बम्जन निराहार लामो समय ध्यानमा बस्न सक्नुलाई यही कोटिमा राखेर बुझ्न सकिन्छ।
बम्जनका अनुयायीहरूले उनमा चामत्कारिक गुणहरू भएको जिकिर गरे पनि ती चमत्कार त्यो वृत्तभन्दा बाहिर देखिएको छैन। बरु गौतम बुद्ध र उनका शिष्यमा चामत्कारिक गुणहरू प्रशस्त रहेको बौद्ध साहित्यमा लेखिएको पाइन्छ। त्यस्ता गुणलाई बौद्ध जगत्मा ऋद्धि भनिन्छ। ऋद्धि विशेष कुरा नभएर ध्यान साधना गर्नेहरूले निश्चित तहमा पुुगेपछि पाउने ‘बाइप्रडक्ट’ हुन्। ‘बाइप्रडक्ट’ मै भुल्न थालेमा साधक भ्रष्ट हुन्छ र आध्यात्मिक यात्रा पनि त्यहीं अड्किन पुग्छ। यो अवस्थाबाट अघि बढ्नेहरू ‘अर्हत्व’ लाभ गरी अर्हत् हुन्छन्। त्रिपिटक अन्तर्गतका ग्रन्थहरू ‘थेरगाथा’ र ‘थेरीगाथा’ मा प्रायः अर्हत्हरूमा ऋद्धिबल हुने उल्लेख छ। यी दुवै ग्रन्थमा भिक्षु र भिक्षुणीहरूले बुद्ध समक्ष आफ्नो जीवनका कुरा सुनाउने र ऋद्धि देखाउने गरेको लेखिएका छन्।
भिक्षु तथा भिक्षुणीहरूले ऋद्धिबल देखाउँदै हिंड्दा घमन्ड बढ्ने र सर्वसाधारणको ध्यान पनि धर्ममा भन्दा चमत्कारमा केन्द्रित हुने भएर बुद्धले यस्तो चमत्कारी शक्तिको प्रदर्शनमा दुरुत्साहन गर्दै विशेष परिस्थितिमा बाहेक प्रतिबन्ध नै लगाएको पाइन्छ। साधनाबाट विचलित हुन सक्ने भएकाले ऋद्धिको मामिलामा आज पनि प्रायः बौद्ध साधकहरू मौन बस्ने गर्छन्।
गौतम बुद्धकालीन समाजमा ऋद्धिबल प्रदर्शन गरेर समाजमा आफ्नो स्थान बनाउने अन्य धर्म सम्प्रदायका व्यक्तिहरू प्रशस्तै हुन्थे। बुद्ध र उनका शिष्यहरूले सार्वजनिक रूपमा ऋद्धिबल प्रदर्शन नगर्दा प्रतिस्पर्धी र सर्वसाधारणले पनि उनीहरूको क्षमतामाथि शंका गर्न र प्रश्न उठाउन थालेपछि बुद्धले पूर्व घोषणा गरी सबैलाई बोलाएर आँप खाई त्यसै दिन कोया जमीनमा रोपी आँप फलाएर उपस्थित सबैलाई खुवाएका थिए। विपक्षीहरूलाई पराजित गरेको श्रावस्तीको यो घटना बौद्ध साहित्यमा ‘यमक ऋद्धिप्रतिहार्य प्रदर्शनी’ भनेर चर्चित छ।
गौतम बुद्धको नन्दा नामकी एक दिदी थिइन्। उनी अत्यन्तै सुन्दर थिइन्। उनमा वैराग्य जगाउन उनले मात्रै देख्ने गरी बुद्धले ऋद्धिबलबाट अत्यन्तै रूपवती महिलाको उत्पत्ति गरेर बिस्तारै उमेर बढ्दै बूढी भएर कुप्रिएको र मरेपछि अस्थिपञ्जरमा परिणत भएको दृश्य देखाएका थिए। पछि उनी भिक्षुणी बनिन्। गौतम बुद्धका अनुयायी तथा मगध साम्राज्यका राजा विम्बिसारकी अत्यन्त सुन्दर रानीमा पनि यस्तै ऋद्धिबल मार्फत वैराग्य जगाएको वर्णन पाइन्छ।
ऋद्धिबलमा अग्रस्थान ओगट्ने महामौद्गल्यायन भिक्षुले अनेकौं ऋद्धि प्रदर्शन गरेको प्रसंग पाइन्छ। डाँकाहरू आफ्नो हत्या गर्न आउँदा उनी ऋद्धिबलले छल्थे र लुप्त हन्थे। डाँकाहरू हत्या गर्न पटक पटक आएपछि तिनले आफूलाई किन मार्न खोजेका रहेछन् भनेर पूर्व जन्मतिर ध्यान दिंदा कुनै एक जन्ममा उनले आफ्नी आमाको हत्या गरेका रहेछन् र सोही कर्मको फल रहेछ भनी थाहा पाए। त्यसपछि ऋद्धिबलबाट छल्ने काम नगरी उनी डाँकाहरूबाट मारिए। यता बम्जनको प्रसंगमा प्रहरीले उनलाई समात्न निवासमा जाँदा दुई तला माथिबाट हाम फालेर भाग्न खोजेका थिए। अर्थात् उनीसँग विपत्तिबाट जोगिन कुनै ऋद्धिबल थिएन।
ऋद्धिबलको सन्दर्भमा भिक्षु देवदत्तलाई बिर्सन मिल्दैन। अन्य युवाहरू जस्तै भिक्षु बन्न गौतम बुद्धकहाँ गएका उनले ध्यान साधना गर्दै जाँदा ऋद्धिबल पाएका थिए। तर उनी ऋद्धिबलमै अड्किन पुगे। ऋद्धिबलको प्रदर्शन गरेर उनले मगध साम्राज्यका राजकुमार अजातशत्रुलाई प्रभावित पारे र मानप्रतिष्ठा बढाउनतिर लागे। प्रतिष्ठा बढाउँदै लैजाने क्रममा उनमा गौतम बुद्धसँग पनि ईर्ष्या जाग्यो र आफैं बुद्ध हुने मनसुवा बनाए। राजकुमार अजातशत्रुको सहयोगमा बुद्धको हत्या गर्ने षड्यन्त्र पनि गरे। कसैगरी पनि हत्या गर्न नसकेपछि गौतम बुद्धले अवकाश लिनुपर्ने, आफूलाई संघको जिम्मा दिएर बुद्ध बनाउनुपर्ने लगायत माग राखेका थिए। बुद्धबाट ती माग अस्वीकृत भएपछि संघलाई फुटाई केही भिक्षुलाई लिएर उनी निस्केका थिए। उनी आफूलाई बुद्ध भन्ठान्थे र गौतम बुद्धकै जस्तो हाउभाउ अपनाएर उपदेश दिन्थे। त्यस क्रममा कतिपय सर्वसाधारण भ्रममा परेर क्षति पुगेपछि बुद्धले फुटेर गएको संघलाई पुनः एकीकरण गर्नुपरेको थियो।
बुद्ध शासनको अर्थ
बुद्धको सन्दर्भमा बुद्ध शासन अर्थात् बुद्धहरूको समयावधिको कुरा आउँछ। कसैले बुद्धत्व लाभ गरेपछि त्यसको प्रभाव चारैतिर फैलिन थाल्छ। त्यो प्रभाव रहुन्जेल सोही बुद्धको शासनकाल भनिन्छ। जस्तै- बुद्ध र बौद्ध धर्म भनेर हामीले गौतम बुद्ध मार्फत थाहा पाएका हौं र वर्तमानमा उक्त धर्म देशना (शिक्षा/उपदेश) विद्यमान रहेका कारण यसलाई उनैको शासन मानिन्छ। यस अवधिमा अर्को बुद्ध आउँदैनन्। गौतम बुद्धबाट प्रसार भएको धर्मदर्शन सीमित ठाउँमा जीवित रहेसम्म र उनका अवशेष रहँदासम्म शासन रहेको मानिन्छ। बुद्धलाई पूर्ण रूपमा बिर्सिएको अवस्थामा बुद्ध शासन लोप भएको मानिन्छ। बुद्ध शासन नहुने समयावधि पनि लामै हुन्छ। त्यसपछि मात्रै अर्को बोधिसत्व आएर बुद्धत्व लाभ गरी पुनः बुद्ध शासन शुरू हुने हो।
गौतम बुद्धकै नाममा धर्मदर्शनहरू विश्वभर फैलिरहेको र अनेक गतिविधि भइरहेको अहिलेको अवस्थामा अर्को बुद्ध आउन सक्दैनन्। यसअघि आचार्य रजनीश (ओशो) र अन्यले बुद्धको दाबी गरे पनि ती कसैलाई मान्यता नदिनुको कारण यही हो।
बुद्धहरू फरक फरक भए पनि सबै बुद्धको गुण र उनीहरूले दिने धर्मदर्शन एउटै हुन्छ। बौद्ध सम्प्रदाय जतिसुकै भए पनि त्यहाँ चार आर्यसत्य (दुःख छ, दुःखको कारण छ, निवारण हुन सक्छ र अष्टांगिक मार्गले दुःखको निवारण हुन्छ), तीन लक्षण (अनित्य, दुःख र अनात्म), प्रतीत्यसमुत्पाद (कार्यकारण) लगायतका केही यस्ता महत्त्वपूर्ण दर्शन छन्, जुन बौद्ध धर्मका आधारभूत मूल्यमान्यता हुन्। यिनै कुराले बौद्ध दर्शन अन्यभन्दा फरक हुन गएको हो।
रामबहादुर बम्जनका केही प्रवचन इन्टरनेटका सामाजिक सञ्जालमा सुन्न पाइन्छन्। शुरूका प्रवचनहरू विद्यार्थीले पाठ कण्ठस्थ पारेर सुनाए जस्तो थियो। बौद्ध जगत्मा प्रायः प्रचलनमा रहेका शब्द नै उनको प्रवचनमा आएको पाइन्छ तर त्यसले बौद्ध दर्शनलाई अंगीकार गरेको पाइँदैन। आत्मा र परमात्माका कुरा उनका प्रवचनमा आउँछन् तर यी कुरा बौद्ध विषयवस्तु होइनन्। बम्जन स्वयंले आफूलाई बुद्ध र बौद्ध धर्मभन्दा पृथक् भनेपछि यसबारे बहस गर्नुको औचित्य नै रहेन।
नेपाली समाजमा बुद्ध बुझाइ
नेपालीहरू बुद्धको नाममा गौरव गर्छन्। उनले दिएको ज्ञानका कारण भन्दा बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा पर्ने भएकाले गौरव गरिएको हो। गौतम बुद्धको जन्मस्थल लुम्बिनीका साथै अन्य दुई बुद्ध कनकमुनिको जन्मस्थल निग्लिहवा र क्रकुच्छन्दको जन्मस्थल गोटिहवा पनि नेपालमै पर्छन्। यस्तै, बुद्धको जीवनकालदेखि नेपालमा बौद्ध धर्मले निरन्तरता पाइरहनु कम गौरवको कुरा होइन। बौद्ध शिक्षा पाएर अभ्यास गरिरहेका नेपालीहरू पनि छन्। तर यो संख्या अत्यन्त न्यून छ।
नेपाली समाजमा बुद्ध आमचासोको विषय बन्न सकेको छैन। बुद्धको निन्दा गर्ने त विपरीत पाटो भइहाल्यो, प्रशंसा नै गर्दा पनि उल्टोपाल्टो हुने गर्छ। बम्जनको प्रसंगमा बुद्ध शब्दलाई नै हल्काफुल्का ढंगले प्रयोग गरियो। केही दिनअघिसम्म बुद्धको सन्दर्भमा फिटिक्कै चासो नराख्नेहरू पनि बम्जन पक्राउ परेपछि एकाएक बुद्ध र बौद्ध धर्मको पक्षमा बोल्न थालेका छन्। तर यी अभिव्यक्ति अर्थहीन छन् किनकि बम्जन न बुद्ध हुन् न बौद्ध नै। उनी बौद्ध समाजलाई अलमल्याउने व्यक्ति मात्रै हुन्।