श्रीमतीको हत्या गरी फरार भएका सूर्यबहादुर २१ वर्षपछि पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतबाट सर्वस्व सहित जन्मकैदको सजाय सुनाइएका फरार अभियुक्तलाई २१ वर्षपछि पक्राउ गरेको छ।
धादिङका सूर्यबहादुर दवाडीलाई सीआईबीले रुपन्देही र भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो। लामो समयदेखि भारतमा लुक्दै आएका उनलाई नेपाल छिर्नासाथ पक्राउ गरेको सीआईबीले एक विज्ञप्ति मार्फत दाबी गरेको छ।
सूर्यबहादुरले २०५९ मा पत्नी सानुमाया दवाडीको हत्या गरेका थिए। त्यति वेला उनी ४९ वर्षका थिए। अहिले सूर्यबहादुर ७० वर्षका भएका छन्। अंश विवादमा सूर्यबहादुरले कुटेर घाँटीमा नाम्लोले कसेको र पछि रूखमा झुन्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
हत्यापछि प्रमाण नष्ट गर्न उनले धादिङकै ग्याल्मा र बूढीगण्डकी नदीको दोभानमा लगेर लास जलाएका थिए। २०६१ मा सूर्यबहादुरलाई जिल्ला अदालत, धादिङले जन्मकैदको फैसला सुनाएको थियो। त्यस विरुद्ध परेको पुनरावेदन उच्च अदालत पाटनले उल्टाइदिएको थियो। उच्चको फैसला सर्वोच्च अदालतले बदर गर्दै जिल्लाकै सदर गरिदिएको थियो।
सूर्यबहादुरलाई सीआईबीले माघ १ गते पक्राउ गरेर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बुझाएको थियो। उनलाई सुन्धारास्थित जगन्नाथदेवल कारागार चलान गरिएको छ।