हालान्डसँग अंक बराबरी हुँदा पनि मेस्सीले कसरी जिते ‘द बेस्ट’?
लियोनल मेस्सीले सन् २०२३ को ‘द बेस्ट फिफा मेन्स प्लेयर’ पुरस्कार जितेका छन्।
१९ डिसेम्बर २०२२ देखि २० अगस्ट २०२३ बीचको अवधिमा गरेको प्रदर्शनका आधारमा अर्जेन्टिनी टोली तथा अमेरिकी फूटबल क्लब इन्टर मियामीका कप्तान मेस्सी वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन्। उक्त अवधिमा मेस्सीले पेरिस सेन्ट जर्मेनलाई लिग वानको उपाधि दिलाएका थिए भने इन्टर मियामीलाई लिग्स कप जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए।
यसअघि सन् २०१९ र २०२२ मा पनि मेस्सीले यो पुरस्कार जितेका थिए। यस पटक नर्वे तथा म्यानचेस्टर सिटी क्लबका फर्वार्ड अर्लिङ हालान्ड दोस्रो भए भने फ्रान्स तथा पेरिस सेन्ट जर्मेनका फर्वार्ड किलियन एम्बाप्पे तेस्रो भए।
यो पुरस्कारका लागि प्रत्येक राष्ट्रिय टीमका कप्तान, प्रशिक्षक, सञ्चारकर्मी र समर्थकले मतदान गर्न पाउँछन्। प्रत्येक समूहको मतभार २५-२५ प्रतिशत हुन्छ। प्रत्येकले मनोनयनमा परेका आफ्नो रोजाइका तीन-तीन खेलाडी, प्रशिक्षक र गोलरक्षकलाई क्रमशः पाँच, तीन र एक अंक दिन पाउँछन्।
खेलाडी विधाको मतपरिणाम अनुसार मेस्सी र हालान्ड दुवैले ४८ अंक पाएका थिए। तर फिफाको ‘रुल्स अफ एलोकेशन’ को धारा १२ अनुसार भने मेस्सी विजयी भए। उक्त नियम अनुसार अंक बराबर भएको अवस्थामा आफ्नै विधाबाट सर्वाधिक पाँच अंक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक या गोलरक्षकले उपाधि जित्छन्। जस्तो- मेस्सी उत्कृष्ट खेलाडीमा मनोनयन भएको हुँदा राष्ट्रिय टीमका कप्तानबाट सर्वाधिक पाँच अंक पाएकाले उनी विजयी भएका हुन्। राष्ट्रिय टीमका कप्तानमध्ये १०७ जनाले मेस्सीलाई पाँच अंक दिए भने ६४ जनाले हालान्डलाई पाँच अंक दिएका थिए।
मेस्सीलाई पाँच अंक मतदान गर्नेमध्ये इङ्ल्यान्डका कप्तान हेरी केन, फ्रान्सका कप्तान एम्बाप्पे, इजिप्टका मोहम्मद सलाह, क्रोएशियाका लुका मोड्रिच लगायत छन्। मेस्सी आफैंले भने हालान्डलाई पाँच अंक दिएका थिए। उनले एम्बाप्पेलाई तीन र आफ्नै देशका युवा फर्वार्ड जुलियन आल्भारेजलाई एक अंक दिए।
नेपालका कप्तान किरण चेम्जोङले पनि मेस्सीलाई नै पाँच अंक दिए। उनले एम्बाप्पेलाई तीन र हालान्डलाई एक अंक दिए। यस्तै, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भने हालान्डलाई पाँच अंक दिए। उनले जर्जियाका खभिचा खभारत्सखेलियालाई तीन तथा बेल्जियमका केभिन डी ब्रुएनलाई एक अंक दिए। सञ्चारकर्मीतर्फ नेपालका विक्रम थापाले हालान्डलाई पाँच, आल्भारेजलाई तीन र मेस्सीलाई एक अंक दिए।
यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि पुरुष फूटबलतर्फ शीर्ष खेलाडी बनेकाले समग्रमा ३६ वर्षीय मेस्सीको यो आठौं पुरस्कार हो। लन्डनमा भएको पुरस्कार समारोहमा मेस्सी भने उपस्थित थिएनन्।
अन्य विजेता
यस वर्ष ब्राजिल तथा म्यानचेस्टर सिटीका एडरसन उत्कृष्ट गोलरक्षक चयन भए।प्रशिक्षकतर्फ यस वर्ष फिफाको ‘द बेस्ट’ पुरस्कार म्यानचेस्टर सिटीका प्रशिक्षक पोप गुआर्डिओलाले जिते।
यस्तै, महिलातर्फ उत्कृष्ट खेलाडी चयन भइन्- स्पेनकी आइटाना बोनमाटी। महिलातर्फ उत्कृष्ट प्रशिक्षक इङ्ल्यान्डकी सरिना विग्म्यान भइन्। यस्तै, महिलातर्फ उत्कृष्ट गोलरक्षक पनि इङ्ल्यान्डकै मेरी एर्प्सले जितिन्।
ब्राजिलियन मिडफिल्डर गुइलेर्मी मड्रुगाले यस वर्षको पुस्कास अवार्ड जिते। यो पुरस्कार सर्वोत्कृष्ट गोल गर्ने खेलाडीलाई दिइन्छ।
रंगभेद विरुद्ध उभिएका कारण ब्राजिलियन पुरुष राष्ट्रिय टोलीलाई ‘फिफा फेयर प्ले अवार्ड’ प्रदान गरियो। यस्तै, ह्युगो डानियलले उत्कृष्ट समर्थकको पुरस्कार जिते।