९० वर्षपछि ९० साल
हिमालयको काखदेखि गंगाको मैदानसम्म फैलिएको हिमालय थ्रस्ट (दरार)का कारण पश्चिम महाकालीदेखि पाल्पासम्म कुनै पनि ठाउँमा भूकम्प जान सक्छ। पश्चिम नेपालमा ८ म्याग्निच्यूडको भूकम्प गयो भने तुरुन्तै १५ लाख भवन भत्किन सक्छन् र रातिपख भूकम्प गयो भने एक लाख मानिसको ज्यान जान सक्छ।
ठ्याक्कै ९० वर्षअघि आजकै दिन १९९० माघ २ गते नेपालमा ठूलो भूकम्प आएको थियो जसमा देशैभर गरी आठ हजार ५०० जनाको ज्यान गएको थियो। ८.३ रेक्टर स्केलको त्यो भूकम्पका कारण काठमाडौं उपत्यकामा मात्रै ७० प्रतिशत घर भत्किएका थिए। उक्त घटनाको स्मरणमा हरेक माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाइन्छ।
यी ९० वर्षमा नेपाल अनकौं परिवर्तनबाट गुज्रिएको छ। राणाशासनदेखि २००७ पछिको प्रजातन्त्र, पञ्चायत, बहुदल, सशस्त्र द्वन्द्व र संघीय गणतन्त्रसम्म।
नेपालले १९९० को भन्दा साना अनेकौं भूकम्प पनि बेहोरेको छ। तीमध्ये एक हो- २०७२ सालको गोर्खा भूकम्प जसमा करीब नौ हजार मानिसले ज्यान गुमाए, आठ लाख जति संरचना ध्वस्त भए। तर गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पले नेपाल अहिले पनि यस्ता प्रकोपका लागि तयार भइनसकेको देखाउँछ।
‘पानीको छाल जस्तै जमीन तरंगित भइरहेथ्यो... जमीन भासिएला जस्तो देखिन्थ्यो र धेरै घर भत्किएका थिए। यति ठूलो हलचल थियो ....आँधी आएसरह रूख पनि बाँगिइरहेथे,’ ९० सालको भूकम्पबारे ब्रह्मशमशेरले सोही वर्ष प्रकाशित आफ्नो पुस्तक नेपालको महाभूकम्प १९९० मा वर्णन गरेका छन्।
मेजर जनरल बबरशमशेरका छोरा ब्रह्मशमशेरले जमीन फाटेर कसरी तातो पानी र बालुवा माथिसम्म उछिट्टियो भनेर वर्णन गरेका छन्। बागमती र विष्णुमती नदीमा कालो, फोहोर पानी बगेको उनले लेखेका छन्।
नेपाल भूकम्पीय दृष्टिकोणले सक्रिय क्षेत्र हो जहाँ हरेक ७०-८० वर्षमा भूकम्प जाने गर्छ। २०७२ सालको गोर्खा भूकम्पलाई धेरैले महाभूकम्प भन्ने गल्ती गर्छन्। हिमालय क्षेत्रका भूकम्पविद् रोजर विल्ह्यामका अनुसार वैज्ञानिकहरूले आशंका गरे जस्तो त्यति ठूलो भूकम्प भने थिएन त्यो।
वास्तवमा मध्यनेपालमा अहिले पनि प्रशस्त ऊर्जा सञ्चित भएको छ जुन कुनै पनि वेला भूकम्पका रूपमा बाहिरिन सक्छ। तर त्योभन्दा पनि जोखिम पश्चिम नेपालमा छ जहाँ लामो समयदेखि भूकम्प गएको थिएन र जाजरकोट भूकम्पका कारण पनि सबै ऊर्जा ननिस्केको बताउँछन् भूकम्प प्रविधि राष्ट्रिय समाजका इन्जिनीयर सूर्यनारायण श्रेष्ठ।
पछिल्लो पटक पश्चिम नेपालमा सन् १५०५ मा ठूलो भूकम्प गएको थियो जुन ८.९ म्याग्निच्यूडको भएको अनुमान गरिएको छ। उक्त भूकम्पका कारण राजा सहित काठमाडौं उपत्यकाका एकतिहाइ मानिस मरेका थिए।
“पश्चिम नेपालमा थुप्रिएको ऊर्जाले ८ म्याग्निच्यूडको भन्दा ठूलो भूकम्प निम्त्याउन सक्छ, जाजरकोट भूकम्पले निकै कम ऊर्जा मात्र बाहिरिएको छ,” श्रेष्ठको व्याख्या छ, “यसको अर्थ हो, १९९० सालको जस्तो घटना काठमाडौंमा फेरि हुन सक्छ र यस पटक धेरै जनसंख्या भएकाले निकै बढी क्षति हुन सक्छ।”
हिमालयको काखदेखि गंगाको मैदानसम्म फैलिएको हिमालय थ्रस्ट (दरार)का कारण पश्चिम महाकालीदेखि पाल्पासम्म कुनै पनि ठाउँमा भूकम्प जान सक्छ। पश्चिम नेपालमा आठ म्याग्निच्यूडको भूकम्प गयो भने तुरुन्तै १५ लाख भवन भत्किन सक्छन्। र, रातिपख भूकम्प गयो भने एक लाख मानिसको ज्यान जान सक्छ।
अस्पतालहरू पनि भत्किन सक्छन्। बचेका अस्पतालमा दुई लाख जति घाइतेको भीड लाग्न सक्छ। गुणस्तरहीन विद्यालय र सार्वजनिक भवन तासको महल जस्तै भताभुंग हुन सक्छन्। विद्युत्, राजमार्ग, टेलिफोन र खानेपानी वितरण प्रणाली छिनभरमै तहसनहस हुन सक्छ।
२०७२ सालको भूकम्प खासगरी भवन निर्माणबारे नेपालीहरूका लागि एउटा शिक्षा हुनुपर्ने थियो। पक्कै पनि, त्यसपछि पुनर्निर्माण भएका ९० प्रतिशत भवनले सरकारको भवन निर्माणसंहिता पालना गरेका छन् तर काठमाडौंमा धेरैले त्यो नियम मिचेका छन्।
“हामीसँग नीति र कानूनी व्यवस्था छ तर अहिले पनि हाम्रो तयारी न्यून छ,” श्रेष्ठको चेतावनी छ, “भइरहेका भवन पहिले नै जोखिमयुक्त छन् तर नयाँ भवनहरू झनै बढी जोखिमयुक्त छन्।”
१९९० सालको भूकम्पपछि भूगर्भविद् एवं इन्जिनीयर इडेनले केही अवलोकन गरेर नेपालमा सुरक्षित घर निर्माणका लागि केही सुझाव दिएका थिए।
गोरखापत्रमा त्यति वेला प्रकाशित उनको सुझाव थियो- ‘भक्तपुर, हरिसिद्धि, खोकना र बुङमती क्षेत्र भूकम्पका कारण ठूलो क्षति हुने जोखिममा छन् जबकि पशुपतिनाथ, बौद्ध र गोकर्ण तुलनात्मक रूपमा कम जोखिमयुक्त छन्। स्वयम्भू र कीर्तिपुर उसैगरी खतरामुक्त छन्। नेपालको तराईमा खोला, नदी र ट्यांकीहरूको छेउमा घर बनाउन नदिनु नै उपयुक्त हुन्छ।’
इडेनले भूकम्पप्रतिरोधी भवन निर्माण गर्न पनि जोड दिएका थिए। कहाँ र कस्तो घर बनाउनुपर्छ भन्ने उनको सुझाव थियो- ‘माटो कस्तो छ भन्नेले मात्रै भूकम्पले ल्याउने क्षति निर्धारण गर्दैन। घरको बनावट, प्रयोग गरिएका सामग्री र घर बनाउनेहरूको सीपले पनि भूकम्पले ल्याउने क्षतिमा भूमिका खेल्छ।’
झन्डै एक शताब्दीअघि नै हामीले के गर्नुपर्छ भन्ने थाहा पाइसकेका थियौं।
सिमेन्टको घर हुँदैमा बलियो हुन्छ भन्ने छैन। वास्तवमा सिमेन्टको गुणस्तरहीन घर झनै खतरनाक हुन्छन्। नेपालमा खोजबिन र उद्धार गर्ने टोली नभएकाले र त्यस्ता भवनका भग्नावशेषबाट मानिस निकाल्ने सामग्रीको अभावका कारण मानवीय क्षति झनै बढी हुन्छ।
श्रेष्ठको चेतावनी छ, “आठ म्याग्निच्यूडको भूकम्प कुनै पनि वेला जान सक्छ र यी सबै गुणस्तरहीन भवन भत्किनेछन्। यो निकै ठूलो विपत्ति हुनेछ।”
- नेपाली टाइम्समा प्रकाशित यो सामग्री अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।