त्रिशूलीमा खसेको जीप भेटियो, यात्रुबारे यकीन भएन
भारतीय नम्बरप्लेटको जीप मंगलबार बिहानै त्रिशूली नदीमा खसेको छ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट जीप त्रिशूलीमा खसेको हो। आज बिहान पौने ५ बजेतिर जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।
जीप सडकबाट करीब १०० मिटर तल खसेको भण्डारीले बताए। त्रिशूली नदीमा जीप भेटिए पनि यात्रुको विषयमा भने यकीन हुन नसकेको उनले बताए।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोर सहितको टोली परिचालन गरिएको छ। स्थानीय बासिन्दाले जीप नदीमा खसेको खबर गरेपछि सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटाइएको हो।
केही बेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक थापाले बताए। जीपमा कति यात्रु सवार थिए भन्ने यकीन हुन नसकेको थापाले बताए। यसबारे सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजबिन गरिरहेको छ।