आधा हिउँद बित्यो, परेन एक झर पानी
भूमध्यसागरमा बढ्दो तापमान तथा पश्चिमी वायु सुक्खा हुँदा नेपालमा हिउँदे वर्षा पातलिन थालेको छ। यसको असर खेतीपातीदेखि जलविद्युत् उत्पादनसम्म परिरहेको छ।
गत मंसीर तेस्रो साता जल तथा मौसम विज्ञान विभागले यस वर्ष हिउँदमा सरदरभन्दा धेरै पानी पर्ने आकलन सहितको हावापानी सम्बन्धी प्रक्षेपण सार्वजनिक गर्यो। मध्य मंसीरदेखि मध्य फागुनसम्म हिउँदमा देशका अधिकांश भागमा विगत तीन दशकको सरदरभन्दा बढी वर्षा हुने अनुमान थियो। तर हिउँदको आधा समय घर्किंदा समेत देशका अधिकांश भागमा एक झर पनि पानी परेको छैन।
विभागका अनुसार हिउँदका तीन महीनामा देशभर औसतमा ६०.१ मिलिमिटर पानी पर्छ। यो वर्ष पुस मसान्तसम्म औसतको ३.१ प्रतिशत अर्थात् १.९ मिलिमिटर मात्रै पानी परेको विभागको अभिलेख छ। पश्चिमी वायुको प्रभाव बढी हुने देशको पश्चिमी भूभागमा पनि वर्षा भएको छैन, हिउँ नपर्दा कतिपय हिमाल कालापहाड जस्तै देखिएका छन्।
पुस अन्तिम साता मात्रै उपल्लो डोल्पाबाट फर्किएका त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. मदन सिग्देल भन्छन्, “सेताम्मे हुनुपर्ने हिमाली क्षेत्रमा पनि हिउँ परेको छैन, मुकुट हिमाल क्षेत्रमा कालो पत्थर मात्रै देखिन्छ।”
अहिलेसम्मको तथ्यांकले यो हिउँद सुक्खामध्ये एक हुन पुगेको देखाउँछ। २०६२ सालयताका ६ हिउँदमा मात्रै सरदरभन्दा बढी पानी परेको छ भने बाँकी तुलनात्मक रूपमा सुक्खा नै बितेका छन्।
विभागको हावापानी आकलन पछिल्ला वर्षमा विश्वसनीय मानिएको थियो। तर यस वर्ष आकलन गरिए जस्तो अहिलेसम्म हिउँदे वर्षा भएको छैन। त्यसो भए के विभागको आकलन मेल नखाएको हो?
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेल अहिले नै आकलन असफल भएको निष्कर्ष निकाल्न हतार हुने बताउँछिन्। अहिलेसम्म हिउँद सुक्खा भए पनि अन्तिमका सातातिर बढी पानी पर्न सक्ने पोखरेलको भनाइ छ। उनी भन्छिन्, “हामीले हिउँदको लामो अवधिको हावापानी आकलन गरेका हौं। अहिलेसम्म पानी नपरे पनि हिउँदको बाँकी डेढ महीनामा सरदरभन्दा बढी पानी पर्न सक्छ।”
भूमध्यसागरबाट जलवाष्प बोकेको हावा इरान, अफगानिस्तान, पाकिस्तानको बाटो हुँदै नेपाल छिर्न पाएमा हिउँदमा पानी पर्छ। यो जलवाष्प बोकेको हावा अरू कारणले बिथोलिएमा कमजोर भएर पानी पर्न सक्दैन।
त्यस्तै, नेपालमा हुने हिउँदे वर्षा प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिसँग अन्तरसम्बन्धित हुन्छ। प्रशान्त महासागरमा विकसित हुने एल निनो र ला निना भनिने दुई मौसमी प्रक्रियाका कारण हावापानीमा ठूलो प्रभाव पर्छ।
पूर्वी प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम सरदरभन्दा धेरै भएको अवस्थालाई एल निनो भनिन्छ। एल निनो प्रणाली सक्रिय भएका वर्ष नेपालमा सरदरभन्दा धेरै पानी गरेको विगत छ। मौसम विज्ञान विभागले प्रशान्त महासागरमा रहेको एल निनो प्रणाली हिउँद भरी कायम रहने आकलन गरेको थियो।
त्यसका आधारमा एल निनो प्रणाली सक्रिय हुँदा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईं बताउँछन्। “तर एल निनो सक्रिय भएका कुनै कुनै वर्ष सरदरभन्दा कम पानी परेको पनि बिर्सन मिल्दैन,” उनी भन्छन्।
ला निना प्रणाली विकसित भएको वेला प्रशान्त महासागरमा पानीको तापक्रम सरदरभन्दा कम हुन्छ। जसकारण हावाको बहाव परिवर्तन भएर पश्चिमी वायुलाई सक्रिय हुनबाट रोक्छ। यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव कमजोर भएर वर्षा पनि कम हुन्छ। गत वर्ष यही प्रणाली बलियो बन्दा नेपालमा हिउँदमा पानी परेको थिएन। यस वर्ष एल निनो सक्रिय भएकाले पानी पर्याप्त हुने आकलन गरिएको भए पनि पश्चिमी वायु अनुमान गरिए जसरी सक्रिय हुन पाएन।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा. विनोद पोखरेल भूमध्यसागरमा तापक्रम बढेको तथा त्यो क्षेत्र नै सुक्खा भएकाले नेपालमा हिउँदे वर्षा गराउने चिसो र जलवाष्प बोकेको वायु सघनता साथ नआएको बताउँछन्। “अध्ययनहरूले भूमध्यसागर तातेको तथा सुक्खा भएको देखाएका छन्, नेपालमा हिउँदका महीनामा पानी नपर्नुमा यो पनि कारण हुन सक्छ,” डा. पोखरेल भन्छन्। जलवायु सम्बन्धी अध्ययनहरूले पनि सन् २०२३ ऐतिहासिक रूपमा तातो वर्षका रूपमा देखाएका थिए।
सुक्खा हिउँद
गत वर्षको हिउँद पनि सुक्खा नै बितेको थियो। हिउँदका महीनामा औसत वर्षाको २१ प्रतिशत हाराहारीमा मात्रै पानी परेको विभागको अभिलेख छ। २०७९ सालको हिउँदमा १२.९ मिलिमिटर मात्रै वर्षा भएको थियो, जुन पछिल्लो डेढ दशकयताकै न्यून थियो।
सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम पानी परेमा खडेरी मानिन्छ। गत वर्षको हिउँद चरम खडेरीमा बितेको थियो। अहिलेसम्मको प्रवृत्तिले यो वर्षको हिउँदमा पनि खडेरी लम्बिने देखिएको छ। यो वर्ष असोजमा वर्षा थामिएयता देशका धेरै स्थानमा पानी छिट्याएको पनि छैन। उच्च हिमाली क्षेत्रमा समेत फाट्टफुट्ट बाहेक हिउँ परेको छैन।
त्यसो त पछिल्ला धेरैजसो हिउँद खडेरीयुक्त भइरहेका छन्। गत १८ वर्षयताको हिउँदे वर्षाको तथ्यांक अनुसार १८ मध्ये १२ हिउँदमा सरदरभन्दा कम पानी परेको छ। यसमध्ये पनि आठ वर्षका हिउँद त गत वर्ष जसरी नै अधिक खडेरीमै बितेका छन्।
१८ वर्षअघि २०६२ सालको हिउँदभरि सरदर ७.१ मिलिमिटर मात्रै पानी परेको थियो। २०६५ सालको हिउँदमा ११.८ मिलिमिटर, २०७४ सालको हिउँदमा पनि सरदर १६.७ मिलिमिटर मात्रै वर्षा भएको थियो।
नेपालमा हुने वार्षिक वर्षामध्ये करीब ८० प्रतिशत मनसुनको वेला (सामान्यतया जेठ–असोज)मा हुन्छ। बाँकी वर्षा मनसुन शुरू हुनुअघि (प्रि-मनसुन) तथा पछिका महीना र हिउँदमा हुन्छ। मौसम विज्ञान विभागका मौसमविद् हुमागाईं नेपालमा वार्षिक रूपमा पर्ने सरदर पानीको तीनदेखि चार प्रतिशत मात्रै हिउँदमा पर्ने बताउँछन्। “यसको मतलब दुई-तीन झर ठूलो पानी पर्यो भने हिउँदे यामको सरदर अवस्थामा पुगिहाल्छ,” उनी भन्छन्।
के हिउँदे वर्षा हराउँदै जानु जलवायु परिवर्तनका कारणले हो? संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी मञ्च (आईपीसीसी)को सन् २०२३ को संश्लेषण प्रतिवेदनले एशियामा दीर्घकालमा धेरै वर्षा हुने, खडेरी बढ्ने, छोटो अवधिमा धेरै वर्षा हुने वा वर्षा तथा सुक्खा यामबीचको विषमतालाई अझै चर्काइदिने जस्ता असर देखापर्ने औंल्याएको छ। नेपालमा पनि हिउँदको अन्तिमतिर मात्रै पानी पर्ने वा धेरैजसो खडेरी नै हुन थालेको तथ्यांकले देखाउँछ।
“हिउँदे वर्षा घट्दै गएको र हिउँदमा पनि ताता दिनहरू बढिरहेको पक्का हो,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक पोखरेल भन्छन्, “सन् १९८० देखिको हिउँदको तथ्यांकमा आधारित मेरो अध्ययनले पनि हिउँदमा पानी पर्ने क्रम घटेको देखाउँछ।” उनी विश्वव्यापी तापमान वृद्धिले मनसुनको अवधिमा तथा मनसुन पूर्व बढी पानी पर्ने र हिउँद सुक्खा हुने प्रवृत्ति देखाएको बताउँछन्। “आउने वर्षहरूमा यस्तो क्रम अझै बढ्छ भन्ने अनुमान गर्न सकिन्छ,” उनी भन्छन्।
सहप्राध्यापक पोखरेलले उल्लेख गरे जस्तै हिउँदको अर्को चरित्र पनि फेरिएको छ, ताता दिनहरू बढिरहेका छन्। आइपीसीसी प्रतिवेदनले पनि दक्षिणएशियामा दिनहरू तातो भइरहेको उल्लेख गरेको छ। यो वर्ष हिउँद शुरू भएयता असाध्यै जाडो भएको छैन।
मौसम विज्ञान विभागको जलवायु विश्लेषण महाशाखाको तापक्रम मनिटरिङ प्रतिवेदन अनुसार देशका अधिकांश स्थानका मौसमी केन्द्रहरूले यस वर्षको हिउँद शुरू भएदेखि पुस २६ गतेसम्म अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा धेरै रहेको मापन गरेका छन्। विभागले हिउँदको मौसमी प्रक्षेपण गर्दा नै यस वर्ष सरदरभन्दा तापक्रम धेरै हुने अनुमान गरेको थियो। सन् २०२३ त सबैभन्दा गर्मी वर्षमध्ये एक भएको थियो। विभागका अनुसार पछिल्लो चार दशकमै सबैभन्दा दोस्रो गर्मी भएको वर्ष थियो, यो।
बिथोलिएको जनजीवन
हिउँदे वर्षा नदी बहावमा आधारित जलविद्युत् आयोजनाका लागि त वरदान सरह नै हो भने हिउँदे बाली लगाउने किसानका लागि कम्ता लाभदायक छैन। धूलाम्मे र प्रदूषित वायुलाई पखालेर वायुमण्डललाई स्वच्छ राख्न पनि यसको ठूलो भूमिका हुन्छ।
अघिल्लो वर्ष जस्तै यस वर्ष पनि हिउँदे वर्षा नहुँदाको असर जलविद्युत् उत्पादकहरूलाई पर्न थालिसकेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका सहमहासचिव प्रकाशचन्द्र दुलाल भन्छन्, “विद्युत् उत्पादन निकै घटिरहेको छ। पानी पर्ने छाँट नदेखिएकाले माघमा अझै उत्पादन घट्ने अनुमान छ।”
दुलालका अनुसार स्वतन्त्र (निजी) ऊर्जा उत्पादकहरूले लगानी गरेको आयोजनाको जडित क्षमता दुई हजार १९६ मेगावाट छ। २६ मेगावाटका आयोजनाले परीक्षण उत्पादन गरिरहेका छन्। तर यी सबै नदी प्रवाहमा आधारित भएकाले हिउँदमा उत्पादन एक चौथाइसम्म झर्ने दुलाल बताउँछन्।
अझ हिमनदीमा आधारित नभएका खोलामा त पानी स्वाट्टै घट्ने भएकाले जलविद्युत् उत्पादन पनि निकै खस्किन्छ। दुलाल भन्छन्, “पानी नपरेको हिउँदमा निजी क्षेत्रका आयोजनाको उत्पादन ७०० मेगावाटभन्दा पनि तल ओर्लिन्छ। जडित क्षमतामध्ये हिउँदमा उत्पादन २८ देखि २५ प्रतिशतसम्म झर्छ।”
खोलामा पानी नहुँदा खासगरी साना जलविद्युत् आयोजनाको आम्दानी घट्छ। पानी नपर्दा खोलामा पानीको बहाव कम भएकाले उत्पादन घटिरहेको बाराही हाइड्रोका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद अधिकारी बताउँछन्। बाराही हाइड्रो लिमिटेडले निर्माण गरेको १.५ मेगावाटको ठेउले खोला जलविद्युत् आयोजनाको उत्पादन ४०० किलोवाट जतिमा झरिसकेको अधिकारी बताउँछन्। “सुक्खा याम लम्बिएमा यो ३०० किलोवाट जतिमा झर्छ,” उनी भन्छन्।
हिउँदमा बढी बिजुली उत्पादन गर्नसक्नु जलविद्युत् उत्पादकहरूका लागि ठूलो अवसर हो। नेपाल विद्युत् प्राधिकरणले हिउँदमा उत्पादन हुने विद्युत्का लागि वर्षा यामको तुलनामा दोब्बर जति मूल्य दिन्छ। जलविद्युत् उत्पादकले वर्षा याममा विद्युत् बेच्दा प्राधिकरणबाट प्रतियुनिट चार रुपैयाँ ८० पैसा पाउँछन् भने हिउँदमा आठ रुपैयाँ ४० पैसा। “बढी पैसा कमाइने वर्षा नभएर खोलामा पानीको बहाव कम भयो भने साना जलविद्युत् उत्पादक मर्कामा पर्छन्,” अधिकारी भन्छन्, “हिउँदमा पानी थोरै मात्रै पर्यो भने हाम्रो आम्दानीमा प्रति मेगावाट सरदर ४० लाख रुपैयाँ जति घाटा पर्छ।” गत वर्ष हिउँदमा पानी नपर्दा साना जलविद्युत् आयोजनाले प्रतिमेगावाट ४० लाखका दरले गुमाएको उनी बताउँछन्।
कुलेखानी बाहेक देशभित्रका सबैजसो जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित भएकाले अहिले नै विद्युत्को उत्पादन खस्किएका कारण प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको परिमाण बढाइसकेको छ। अहिले दैनिक सरदरमा एक हजार ३०५ मेगावाट विद्युत् खपत भइरहेकोमा सरदरमा करीब एकचौथाइ भारतबाट आयात गरिरहेको प्राधिकरणले जनाएको छ। विद्युत्को उच्च माग हुने बिहानबेलुकाको समयमा त भारतबाट हुने आयात अझ बढ्छ।
अहिले दैनिक ३१ हजार ३३८ मेगावाट घण्टा विद्युत्को माग रहेकोमा देशभित्रको जम्मा विद्युत् उत्पादन २२ हजार ८९० मेगावाट घण्टा मात्रै छ। अर्थात् कुल मागको ७३ प्रतिशत मात्रै देशभित्रका आयोजनाले आपूर्ति गरिरहेका छन्। भारतबाट आयात हुने विद्युत्ले समेत माग नधानेपछि बढी विद्युत् खपत हुने उद्योगमा समय समयमा आपूर्ति बन्द हुने गरेको उद्योगीको गुनासो छ।
हिउँदे वर्षा नभएकाले गहुँ, जौ, तोरी, मुसुरो, फलफूल र तरकारी बालीको उत्पादनमा पनि असर पर्ने कृषि विभागका प्रवक्ता रविकिरण अधिकारी बताउँछन्। गहुँ बाली सप्रिन उम्रिएको २१ दिनपछि पानी चाहिन्छ। “पानी भएन भने गहुँको उत्पादन घट्छ,” अधिकारी भन्छन्।
गहुँ पनि नेपालको मुख्य बालीमध्ये एक हो। नेपालमा करीब दुई लाख हेक्टरमा तोरी, सात लाख १६ हजार हेक्टरमा गहुँ बाली लगाइन्छ। आर्थिक वर्ष २०७९/८० मा नेपालमा करीब २१ लाख मेट्रिक टन गहुँ फलेको थियो।
देशभर सिंचाइ हुने क्षेत्रफल कम रहेकाले अधिकांश किसान आकाशे पानीमा निर्भर छन्। जसले गर्दा गहुँ जस्तै हिउँदमा लगाइने तोरी, मुसुरो, तरकारी बालीका लागि पनि पानी नभएमा उत्पादनमा असर गर्न सक्ने अधिकारी बताउँछन्। उनी भन्छन्, “अझै पनि पानी परेमा उत्पादनमा धेरै असर गर्दैन तर हिउँदभरि पानी परेन भने उत्पादन घट्छ।”
हिउँदमा पानी नपर्दा वनजंगलमा डढेलोको जोखिम पनि बढ्छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक पोखरेल हिउँदमा पानी नपर्दा र अर्कोतिर तापक्रम वृद्धि हुँदा डँढेलो बढ्ने अध्ययनले देखाएको बताउँछन्। नेपाल सरकारको विपद् पोर्टलका अनुसार पछिल्लो एक सातामा देशका ५१ स्थानमा डढेलो लागिसकेको छ। फागुन–चैतसम्म पनि पानी नपरे डढेलो फैलिने जोखिम रहेको सहप्राध्यापक पोखरेल बताउँछन्।
पानी नपर्दा बढ्ने वायु प्रदूषणको स्तरलाई डढेलोले थप बढाउँछ। हिउँदे वर्षा भयो भने धूलाम्मे वायुको प्रदूषण पनि पखालिदिन्छ। पुस २९ मा महेन्द्रनगर, सिमरा, रत्नपार्क, शंखपार्क (काठमाडौं)मा वायुको गुणस्तर सूचकांकले अस्वस्थ स्थिति देखाएको थियो। हुन त यस वर्ष विगतका वर्षहरूमा जस्तो वायु प्रदूषण डरलाग्दो गरी बढ्न पाएको छैन।
हिउँदतिर भारत र पाकिस्तानमा बालीका ठुटा पोल्दा नेपालमा वायु प्रदूषण ह्वात्तै बढ्छ। विषाक्त धूवाँ मिसिएको पश्चिमी वायुले नेपालको तराई र काठमाडौं सहितका क्षेत्रमा त्यस्तो प्रदूषण भित्र्याउँछ। यस पटक भने त्यस्तो प्रदूषण धेरै भित्रिन पाएको छैन।
तथापि अझै तत्काल वर्षा हुने मौसमी अवस्था देखिएको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी कम्तीमा एक सातासम्म पनि पानी पर्ने सम्भावना छैन।