अनि मनिता हिंड्न थालिन्
जन्मेदेखि स्वाभाविक शारीरिक विकास नभएकाले गत वैशाखसम्म एउटा कोठामै सीमित मनिताको जीवनमा एकाएक कायापलट आएको छ, संसार फराकिलो भएको छ, उनी स्कूल जान थालेकी छन्।
एकै वर्षअघि त हो, भरतपुर नगरपालिका-२८, गोलाघाटकी मञ्जुमाया कुमाल नजिकैको पसलबाट घरायसी सामान किनेर फर्किंदै गर्दा केही छिमेकीले आफैंलाई इंगित गर्दै कुरा गरेको सुनिन्। उनीहरू भनिरहेका थिए, “यस्ता बच्चालाई त मर्न दिए पनि हुन्छ, किन स्याहार्नु होला यस्तालाई?”
१४ वर्षकी कान्छी छोरी मनिताबारे छिमेकीहरूले त्यसरी कुरा गरेको सुनेपछि घर आएर एक्लै रोएको सम्झिन्छिन् मञ्जुमाया। “आफ्नो सन्तानलाई मर्न छोडिदिनु भनेको सुन्दा कुन आमाले सहन्छन् र?” पुसको तेस्रो हप्ता उनले सुनाइन्, “तर मैले सहें, घरमा आएर भने मन थाम्न सकिनँ। एक्लै रोएँ।”
त्यसो त मनितालाई लिएर गरिएका यस्ता छेडखानी उनका निम्ति नयाँ थिएनन्। जन्मेको ६ महीना पुग्दानपुग्दै मनितामा शारीरिक अपांगता भएको थाहा भएको बताउँछिन् मञ्जुमाया। शरीर एकदमै कमजोर, अडिनै नसक्ने भएपछि उनले ‘कलेज अफ मेडिकल साइन्स’, भरतपुर लगेकी थिइन्। डाक्टरहरूले केही वर्षमा उनको शरीर अरूको जस्तै बलियो हुने आश्वासन दिएका थिए। तर १३ वर्षसम्म पनि कुनै सुधार हुन नसकेको मञ्जुमाया सुनाउँछिन्।
“जीउ नै अडिन नसक्ने, हिंडडुल नहुने, बोल्न पनि नसक्ने भएपछि उसको सबै काम आफैंले गरिदिन थालें,” उनी भन्छिन्, “उसलाई खुवाउने, मुख धुने, ट्वाइलेट गराउने, लुगा फेरिदिने सबै आफैंले गर्न थालें।”
आम नेपाली गृहणीका जस्तै अनेकौं दायित्व छन् मञ्जुमायाका। मनिताभन्दा जेठा दुई छोरी छन्, मनिसा र मनिका। मनिसाले १२ कक्षा पूरा गरिन्, मनिका १० कक्षा पढ्दै छिन्। उनीहरूलाई पनि समय दिनैपर्यो। श्रीमान् मनोजकुमार नेपाल प्रहरीमा वरिष्ठ हवल्दार छन् जो कामको सिलसिलामा प्रायः घर बाहिर नै हुन्छन्। खेतबारी, घर, गोठ सबैसँगै मनिताको स्याहार सजिलो त पक्कै थिएन। एकैछिन छोड्दा पनि केही दुर्घटना भयो कि भनेर डर लागिरहन्थ्यो।
त्यस्तै एउटा प्रसंग सुनाइन् उनले। दुई वर्षअघि १२ वर्षकी मनितालाई कोठामै छोडेर केही बेर करेसाबारीमा गएकी थिइन् मञ्जुमाया। फर्किंदा छोरी दिसापिसाबको आहालमा डुबेको देखिन्। “त्यसपछि मैले यसलाई कहिल्यै एक्लै छोडिनँ, आफू ट्वाइलेट जाँदा पनि सँगै लिएर गएँ,” उनी सुनाउँछिन्।
त्यसपछि कतै जानुपर्यो भने कपडाले बाँधेर बिस्ताराको एक कुनामा राखेर जाने गरेका बताउँछिन् उनी। विडम्बना, मनिताको शिर नै सीधा हुँदैनथ्यो। बोल्न, हाँस्न, हिंड्न मात्र होइन कुनै प्रतिक्रिया जनाउनै सक्दिनथिन्।
गत वैशाखमा भने मनिताको जीवनमा मात्रै होइन मञ्जुमायाको दैनिकीमा पनि नयाँ मोड आयो। अपांगतायुक्त बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यले भरतपुर महानगरपालिकासँगको सहकार्यमा अटिजम केयर चितवन सोसाइटीले सञ्चालन गरेको समावेशी शिक्षा कार्यक्रम मनिताको टोलमा पुग्यो।
सोही परियोजना अन्तर्गत अपांगता भएका बालबालिकालाई प्रशिक्षित गर्न तालीमप्राप्त घुम्ती शिक्षकहरू टोल टोलमा खटिएका थिए। तिनै घुम्ती शिक्षकको एक टोली गत वैशाखमा मञ्जुमायाको घरसम्म आइपुग्यो। उक्त टोलीले शारीरिक अपांगताको पहिचान गरी उनलाई आवश्यक उपचार गरेर लेखपढ गराउन सकिने जानकारी गरायो।
शुरूमा आफूले त्यो टोलीलाई विश्वास नै गर्न नसकेको सुनाउँछिन् मञ्जु। “उठ्न/बस्न नसक्ने, बोल्न नसक्ने, सही-गलतको हेक्का नभएको बच्चालाई एकै पटक आएर पढाउँछौं भन्दा छक्क परेका थियौं,” मञ्जुमाया सुनाउँछिन्।
उक्त टोलीमा रहेका घुम्ती शिक्षक शिवनारायण महतोले मनितालाई प्रशिक्षण दिने भए। शिवनारायणका अनुसार अपांगतायुक्त बालबालिकाको अवस्था बुझेर एक जनालाई एक तरीकाले शिक्षा प्रदान गर्ने विधि हो- वैयक्तिक शैक्षिक योजना। यो योजना अन्तर्गत भरतपुर महानगरपालिकामा त्यति वेला नै ६० जनाको तालीम भइरहेको थियो। त्यसैले पनि मनितामा परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास जागृत भएको बताउँछन् उनी।
शुरू भने शारीरिक अवस्थामा सुधारबाटै गर्नुपर्ने थियो। त्यसका लागि फिजियोथेरापिस्टको सहयोग लिइयो। मनिताका वर्षाैंदेखि नचलेका औंला, हात र खुट्टा सक्रिय बनाउन फिजियोथेरापिस्टले थेरापी शुरू गरे। सँगै शिवनारायणले पनि मनितासँग हाउभाउका माध्यमबाट संवाद गर्न थाले। यसबीचमा मनिताको रुचि बुझेर उनका लागि निजी वैयक्तिक शैक्षिक योजना बनाए।
शिवनारायणका अनुसार उनीहरूको पहिलो लक्ष्य एक महीनामा मनितालाई हिंड्न सक्ने बनाउने थियो। जुन पूरा हुने सम्भावना बढ्दै गएपछि उनलाई लेखपढमा रुचि जगाउने नयाँ लक्ष्य बनाए। त्यसका लागि उनको बिहानदेखि बेलुकासम्मको समयतालिका बनाइयो। बिहान उठेर शौचालय जान प्रयास गर्ने, खाना खान सिकाउने, बाहिर हिंडडुल गराउनेदेखि राति सुत्नुअघि पढ्ने, लेख्ने प्रयास गर्ने र सुन्न प्रेरित गर्नेसम्मको तालिका उनको कोठामै टाँगियो। यही तालिका अनुसार मनितालाई आफूले पढाउन थालेको शिवनारायण बताउँछन्।
“चित्र बनाउने, कथा भन्ने, पाना पल्टाउने, रङ देखाउने, घुमाउने जस्ता क्रियाकलाप गर्दा मनिता खुशी हुन थालिन्,” उनी भन्छन्।
त्यो समयतालिका अपनाउँदै मनिताकी आमा मञ्जुमायाले पनि सबै शारीरिक अभ्यास गराउन थालिन्। “तीन महीनामै उनी पहिलो पटक भित्ता समाएर हिंडडुल गर्न थालिन्, हामी सबै छक्क पर्यौं,” मञ्जुमाया खुशी हुँदै सुनाउँछिन्, “त्यसपछि त नानी पनि खुशी भएको र रिसाएको थाहा हुन थाल्यो। अनुहारको हाउभाउ बुझिन थाल्यो।”
भित्ता समाएर एक्लै शौचालयसम्म छोरी पुगेको दिन जीवनकै अविस्मरणीय बनेको पनि बताउँछिन् उनी।
आमाको स्याहारकै कारण मनितामा चार महीनामै यो परिवर्तन आउन सम्भव भएको बताउँछन् शिवनारायण। “मञ्जुमायाले मनितालाई गर्ने माया, उनले दिने समय र हेरचाहले पनि उनका दैनिक कार्यक्रमहरू सही तरीकाले सम्पन्न गर्न सम्भव भयो,” उनी भन्छन्।
त्यसो त अहिले पनि मनिता सामान्य मानिस सरह हिंडडुल गर्न सक्दिनन्। छिटो छिटो हिंड्दा हुत्तिन्छिन्, दौडन सक्दिनन्। तर १४ वर्षसम्म नचलेका उनका औंलाले सिसाकलम समाएका छन्। कागजमा रेखा बनाउन, आकार दिन र रङ भर्न थालेका छन्। यही वैशाखसम्म एउटा कोठामा सीमित उनको संसार फराकिलो भएको छ। उनी ‘राष्ट्रिय आधारभूत विद्यालय, लौखरी’ मा शिशु कक्षामा भर्ना भएकी छन्।
यो त्यही विद्यालय थियो जसले दुई वर्षअघि मनितालाई भर्ना लिन मानेको थिएन। “दुई वर्षअघि त उनको शरीर अडिन पनि सक्दैनथ्यो,” विद्यालयकी शिक्षिका सावित्री सापकोटा भन्छिन्, “तर अहिले त पहिलाकी मनिता नै होइनन् जस्तो लाग्छ। कलमले लेख्न सक्ने, प्रस्ट नबोले पनि हाउभाउ दिन सक्ने भएकी रहिछन्।”
यही भदौ ५ गतेदेखि विद्यालय जान थालेकी मनिताले अहिले त जीवनको सपना देख्न थालेकी छन्। विद्यालय जान थालेकी छन्। स्कूलबाट फर्केपछि पढ्न बस्छिन्। हो, उनको घडीको गति अरूहरूको भन्दा फरक छ। तर जीवन न हो, सबैको आफ्नै बाटो हुन्छ, हुन्छ आफ्नै गन्तव्य। र, आफ्नो जीवनपथमा अब मनिता आफ्नै खुट्टाले हिंड्ने भएकी छन्।