रोहितको उत्कृष्ट प्रदर्शनमा एपीएफ विजयी
कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएको छ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो। कोशीले दिएको १३६ रनको लक्ष्य एपीएफले १९.१ ओभरमै पूरा गरेको छ।
एपीएफका लागि कप्तान पौडेलले ८० रन बनाए। उनले ५३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, प्रज्वल शाहीले २२ र सुमित महर्जनले २० रन बनाए। कोशीका लागि फिरोद अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मन्डलले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कोशीले ४४.३ ओभरमा १३५ रन बनाएको थियो। कोशीका लागि फिर्दोश अन्सारीले ५५, सोनु अन्सारीले २०, अंकित सुवेदीले १३, सोनु मण्डलले ११ र आइश भट्टराईले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
एपीएफका लागि अविनास बोहरा र रोहित पौडेलले तीन-तीन, अमर रौटेलाले दुई, भुवन कार्की र मौसम ढकालले एक-एक विकेट लिए।
त्यस्तै, अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ। लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले पाँच विकेटको क्षतिमा २९.३ ओभरमा पूरा गरेको हो।
सुदूरपश्चिमका लागि शेर मल्लले ४२, नारायण जोशीले २८ र खडक बोहराले २१ रन बनाए। लुम्बिनीका लागि अभिषेक गौतमले तीन, कृष्ण कार्की र अजय चौहानले एक–एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको लुम्बिनीले ४८.४ ओभरमा सबै विकेट गुमाएर १५८ रन बनाएको थियो। लुम्बिनीका लागि प्रज्वल थापाले ४२, मोहम्मद हुसैनले २६ र विराट भण्डारीले २३ रन बनाए।
सुदूरपश्चिमका लागि नारायण जोशीले तीन, भोजराज भट्ट र नरेन साउँदले दुई–दुई तथा मिलन बोहराले एक विकेट लिए।