१५ नदीमा ३०० विज्ञले गन्दै जलपन्छी
हिउँद याममा गरिने जलपन्छीको गणना यस वर्ष पनि देशका १५ वटा नदी प्रणालीमा चलिरहेको छ भने विगतको तुलनामा घटेको देखिएको छ।
देशभरका ताल, तलैया, नदी, नाला, सिमसार क्षेत्रमा पाइने चराको गणनाको काम झण्डै ८० प्रतिशत सकिएको छ। देशभरका ३०० पन्छीविद् तथा चरा अवलोकनकर्ता पन्छी गणनामा खटिएका छन्।
गणको विस्तृत रिपोर्ट आउन केही साता लाग्ने चरा गणनाका राष्ट्रिय संयोजक चराविद् डा. हेमसागर बरालले बताए। हिमाली प्रकृति संस्थाको अगुवाइमा चलिरहेको ३७औं जलपन्छी गणनामा विभिन्न जिल्लामा रहेका चराको क्षेत्रमा काम गर्ने संस्थाले समन्वय गरिरहेका छन्। जलपन्छी गणनमा खासगरी पानीमा आश्रित हाँसका प्रजाति, बकुल्लाका प्रजाति, गरुडका प्रजाति, हुटिट्याउँ लगायत चरा गणना गरिन्छ।
उत्तरी गोलाद्र्धका रुस, मंगोलिया, कजाकस्तान, किर्गिस्तान तथा चीनको उत्तरी भेगमा हिउँ पर्ने भएकाले त्यो क्षेत्रमा बस्ने चरा आहारा र गर्मी खोज्दै आउनेका छन्। हिँउदमा नेपाल लगायतका देशमा आउने अधिकांश चरा प्रजाति हाँस परिवारका छन्। जसमा कैलो टाउको हाँस, सुइरोपुच्छ्रे हाँस, मालक हाँस, खोया हाँस, नादुन हाँस लगायत छन्।
जलपन्छी झिसमिसेमा खेतबारीमा आहार खाएर पानीमै बस्न आउने हुँदा गणना पनि तुलनात्मक रुपले सहज हुन्छ। गणना गर्दा दूरविनको प्रयोग गरी एउटै चरा दुई पटक गणना नहुने निश्चित गरिन्छ। चरा गन्ती अभियान कोशी, बागमती, मनोहरा, कर्रा, राप्ती, नारायणी, खगेरी, ढुङ्ग्रे, तेलार, दानो, तिनाउ, विजयपुर, पश्चिम राप्ती, कर्णाली र महाकाली गरी १५ वटा नदी प्रणाली सञ्चालन भइरहेको छ। “राराबाहेक पाँचवटै रामसार क्षेत्रमा गणनाको काम सकिएको छ,” डा. बरालले भने।
रारा ताल महत्त्वूर्ण पन्छी क्षेत्र भए पनि हिँउ जमेका कारण गणना हुन नसकेको बरालले बताए। गणनाको प्रारम्भिक नतिजा हेर्दा समग्रमा चराहरुको संख्या घट्दो क्रममा रहको देखिएको उनले बताए। “चितवनमा भने चराको संख्या स्थिर रहेको देखिन्छ तर अन्त भने केही न केही घटबढ भइरहेको देखिन्छ,” बरालले भने।
चराको बासस्थान रुपमा चिनिने जगदीशपुर ताल, २० हजारी ताल, घोडाघोडी तााल, पोखराका ताल क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्षमा गणनाको काम सकिएको छ। चितवनका केही क्षेत्र र कैलालीमा अन्तिम चरणमा पुगेको छ।
गत वर्ष जगदीशपुरमा १० हजार मात्र चरा देखिएका थिए। जबकि, नेपालकै चराको राम्रो बासस्थान मानिने यो तालमा पाँच वर्षअघि २३ हजार चरा गणना गरिएको थियो। कोशीटप्पुमा गत वर्ष कोशी पन्छी समाजले गरेको गणनामा सात हजार ६०० को संख्यामा जलपन्छी रहेको पाइएको थियो।
खेतबारीमा हालिने विषादीका कारण मरेका किराफट्याङ्ग्रा खाएर चराहरूको प्रजनन क्षमता कमजोर हुँदै गएको विज्ञहरूको अनुमान छ। बासस्थान साँघुरिँदै जाँदा पनि जलपन्छीको संख्या घट्दै गएको छ।
संसारभर पाइने ८९२ चरा प्रजातिमा झण्डै २०० प्रजातिका जलपन्छी नेपालमा पाइन्छन्। अहिलेसम्म अभिलेख गरिएका ४३ दुर्लभ पन्छी प्रजातिमा विश्वकै दुर्लभ १२ प्रजातिका जलपन्छी छन्।
भारतीय महाद्विपमा अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरन्याशनल’ले सन् १९८७ देखि पन्छी गणना थालेको हो। शुरूआतमा अफगानिस्तान, जापान, दक्षिण कोरिया र अस्ट्रेलियामा जलपन्छी गणना गरिएको थियो। नेपालमा जलपन्छीको गणना सन् १९८७ देखि शुरू भएको हो।