शहरको माघमा गुमनाम ‘ख्याल’
माघमा विस्तृत बहस हुने ‘ख्याल’ संस्कृति शहरमा छुट्नु प्राणहीन माघ मनाइनु हो।
गत पुस १७ गते म बर्दियाको बाँसगढी नगरपालिका अन्तर्गतका थारू गाउँका बरघर (अगुवा)हरूको जुटौला (भेला)मा सहभागी भएको थिएँ। बाँसगढी अन्तर्गत ४५ थारू गाउँ पर्छ। उक्त भेलामा ४५ वटै गाउँका प्रत्येक बरघर उपस्थित थिए। लिखनडरियाले बैठकको निर्णय नसुनाउन्जेल कोही बरघर लाखापाखा पनि लागेनन्।
भेलामा माघ महोत्सवबारे छलफल हुँदै थियो। उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवमा बरघर/गुरूवा/थाकस पदाधिकारीहरूको भूमिका के रहने, स्टल कस्तो बन्ने विषयमा बरघरहरूले जिज्ञासा राखेका थिए।
भेलाबाट महोत्सवमा ‘थारू ग्राम’ बनाउने प्रस्ताव पारित भयो। थारू नाचको झाँकी टोलीलाई यातायात भाडादेखि खाजा खर्च दिने निर्णय पनि भयो। महोत्सवमा थारू नृत्य प्रतियोगिता पनि राख्न सफल भएछन् बरघरहरू।
मलाई अनौठो त त्यस वेला लाग्यो जब माघको पहिलो साता हुने ख्याल (गाउँभरिको विस्तृत बैठक)बाट गरिने निर्णय पुसको तेस्रो सातामै सकियो। बैठकको सहजीकरण गरिरहेका एकराज चौधरीले भने, “माघपछि विहे भोज लगायत झमेलामा थारू समुदाय फस्छ। विस्तृत निर्णय गर्ने समय हुँदैन। त्यसैले केही वर्ष यता पुसमै नगरपालिकास्तरीय बरघर भेलाले गाउँ सञ्चालन प्रक्रियाबारे निर्णय गरिरहेको छ।”
अर्कोतिर पुसको २० र २१ गते थारू कल्याणकारिणी सभा (थाकस) दाङ देउखुरीले जिल्ला विकास समिति प्राङ्गणमा माघ महोत्सव आयोजना गर्ने सूचनाले ‘ओहो यति चाँडै महोत्सव’ भन्ने लागेको थियो मलाई। संयोगले पुस २१ गते म सो महोत्सवमा सहभागी भएँ।
केही पातलिएको सहभागिताका कारण थाकस दाङका सभापति अशोक चौधरीले कार्यक्रम अझ चाँडो गर्नुपर्ने आशय व्यक्त गरे। कारण, सोही दिन घोराही नगरपाालिकाको १७ नं वडा कार्यालयले ढिकपुर गाउँमा माघ महोत्सव आयोजना गरेको रहेछ। त्यहाँ प्रतियोगीका रूपमा ५२ गाउँको थारू नृत्य टोलीको सहभागिता रहेछ।
ढिकपुरको कार्यक्रमले घोराहीको महोत्सवमा सहभागी पातलिएका रहेछन्। अर्को दिन घोराही नगरपालिका १८ नं वडा कार्यालयले माघ महोत्सव कार्यक्रम आयोजना गरेको रहेछ।
पहिले थारूहरूको छाता संगठन थाकस या कुनै संस्था र क्लबले माघ महोत्सव आयोजना गर्थे। तिनमा नगरपालिका, गाउँपालिकाको सहकार्य कमै हुन्थ्यो। अहिले भने माघ महोत्सवका लागि स्थानीय तहले रकम छुट्याउनै पर्ने दबाब बढेको छ। स्थानीय तह आफैं आयोजक भई माघ महोत्सव मनाउनुले सरकारले थारू संस्कृति संरक्षणमा टेवा पुर्याउँदै गएको थारू समुदायले महसूस गर्न थालेका छन्।
थाकस दाङका सभापति अशोक चौधरी भन्छन्, “थाकसको सञ्जाल वडा तहसम्म पुग्न सकेको छैन। त्यहाँ यस वर्षदेखि खासगरी घोराही नगरपालिका आफैंले थरूहट क्षेत्र रहेको वडा तहको माघ महोत्सव मूल समिति बनाई कार्यक्रम गरेको उदाहरणीय छ। यसको सिको अरू स्थानीय तहले पनि गर्नुपर्छ।”
अशोकले माघ महोत्सवको विस्तारलाई सांस्कृतिक क्रान्तिको रूपमा लिएका छन्।
शहरमा छुटेको ‘ख्याल’
थारू समुदाय गाउँबाट शहर छिरेपछि माघ संस्कृति ‘माघी संस्कृति’को रूपमा पनि चिनिन थालेको छ। शहरिया थारूहरूले माघमा खाइने गाउँको खानपानको शैली त पछ्याएका छन् तर गाउँको मौलिकता शहरमा भित्र्याउने छेकछन्दो देखाएका छैनन्।
माघको मञ्चमा हिन्दी, भोजपुरी द्विअर्थी गीतको घुसपैठ भएको छ। शहरिया माघमा डफला बजाउँदै ढमार गाएको सुन्न कहाँ पाउनु?
प्रत्येक थारू गाउँमा बरघरको उपस्थितिमा विगतको वर्ष आफ्नो गाउँले केकस्तो प्रगति गर्यो भन्ने समीक्षा हुन्छ। आगामी वर्ष गाउँको मुहार टल्काउन के गर्न सकिन्छ तथा गाउँलाई अनुशासनमा बाँध्न के गर्न सकिन्छ भनेर विभिन्न नियम बनाइन्छ। भने अनुसार प्रगति भएन भने बरघरलाई केरकार गर्ने मात्रै होइन, बरघरको पद नै धरापमा पर्छ।
तर, सिंगो थारू सुमदाय हाँक्ने थारू सुमदायको छाता संगठन थाकसका पदाधिकारीहरूको समीक्षा भने कुनै वर्ष भएको देखिंदैन।
माघमा बरघरको अगुवाइमा हुने ख्याल (विस्तृत बैठक) माघको प्राण हो। विडम्बना शहरमा बस्ने थारूहरूले आफ्नो पुर्ख्यौली थलोका समुदायका लागि के कस्तो योगदान गर्न सकियो भन्ने समीक्षा माघमा गरेकै छैनन्। शहरिया माघमा ‘ख्याल’ गुमनाम छ।
शहरियाहरू सस्तो मनोरञ्जनमा रमाएका छन् (शासक वर्ग पनि यही चाहन्छ, जनजाति मनोरञ्जनमा लिप्त होऊन् र अधिकारका कुरा नगरून्)। माघमा विस्तृत बहस हुने ‘ख्याल’ संस्कृति शहरमा छुट्नु प्राणहीन माघ मनाइनु हो।
‘माघ’ कि ‘माघी’
काठमाडौंस्थित नेपाल पर्यटन बोर्डले २०५९ सालबाट मनाउन थालेको माघ महोत्सवले ६० को दशकसम्म खासै आकार लिएको थिएन। कोरोना महामारीको अवधि बाहेक ७० को दशकमा भने यसको व्यापक विस्तृतीकरण भएको छ।
पर्वको नाम ‘माघ’ भन्ने या ‘माघी’, सामाजिक सञ्जालमा व्यापक बहस हुन थालेको छ। थाकस केन्द्रले टुँडिखेलमा आयोजना गरिरहेको मूल ब्यानरमा माघी महोत्सव तथा कोष्ठमा सानो अक्षरमा भने माघ, तिलासंक्राइत, खिचरा, खिचरी उल्लेख गरेको छ।
दाङदेखि पश्चिम बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुरसम्म यो पर्वलाई माघ नै भनिन्छ। कपिलवस्तुदेखि पश्चिम नवलपरासीसम्म खिचरी, पूर्व नवलपरासी तथा चितवनमा खिचरा अनि त्यो भन्दा पूर्वी थरूहटको जिल्लामा तिलासंक्राइत भनिन्छ। माघ, तिलासंक्राइत, खिचरा, खिचरीलाई अहिले ‘माघी’ शब्दले जोडेको छ।
मेरो घरको भित्तामा झुन्डिएको ‘हिमाल भित्तेपात्रो’मा माघ १ को रातो अक्षरमा ‘माघी पर्व’ उल्लेख छ। थारूको ‘माघ पर्व’ हेर्दाहेर्दै ‘माघी पर्व’मा रूपान्तरण भएको छ। परिस्थिति अनुसार कुनै एक शब्दको अर्को पर्यायवाची शब्द बन्दै जान्छ। त्यसैले पहिलेदेखि भनिदै आएको ‘माघ’ र अहिले स्थापित भइरहेको ‘माघी’मा धेरै ऊर्जा खर्च गर्न जरुरी छैन।
पर्वको विस्तारसँगै शब्दको विस्तारलाई पनि सहजतापूर्वक लिन सक्नु पर्छ। ‘माघ’लाई ‘माघी’ लेख्दा अर्थको अनर्थ हुँदैन। त्यसमाथि माघ त रिसराग बिसाउने पर्व पनि हो।