चैतन्य मिश्रका नजरमा देवेन्द्रराज पाण्डेका पाँच चिनारी
पक्कै पनि नेपालमा केही निष्ठावान् राजनीतिज्ञ र उच्च प्रशासक छन्। तर ती औंलामा गन्न सकिने जति मात्र छन्। शुद्धता हाम्रोमा दुर्लभ भइसकेको छ। यो अन्धकारमा डा. पाण्डे लामो समयसम्म प्रकाशस्तम्भ बनेर रहनुभएको छ।
आज एक उच्चकोटिका व्यक्तिको जीवनको उत्सव मनाउन जुटेका छौं। हामीमध्ये श्रेष्ठ हुनुहुन्छ। यस्तो व्यक्ति हुनुहुन्छ, जसले मन, वचन र कर्मलाई जीवनभर एकाकार गरेर अघि बढ्ने अत्यन्त कठिन यात्रा पार गर्दै हुनुहुन्छ। त्यस्तो व्यक्ति हुनुहुन्छ, जसले भर्खरै पार भएको र अहिले पनि बगिरहेको इतिहासको एउटा विशिष्ट कालखण्डलाई प्रतिविम्बित गर्ने र आकार दिने दुवै काम गर्नुभयो।
आज जे बन्नुभएको छ, त्यसमा हामी गर्व गर्न सक्छौं किन पनि भने उहाँ हामी माझबाटै उदाउनुभएको हो। त्यसैले हाल मुलुकमा जे-जस्ता अप्ठ्याराहरू अनुभव गरिरहेका भए पनि आफैं मध्येबाट उदाएका एक व्यक्तिबारे गर्व गर्ने ठाउँ पाएका छौं।
आज चर्चा गरिरहेको व्यक्ति धेरै हिसाबले अपवादमा पर्नुहुन्छ। तर अर्कोतर्फ अघि संकेत गरे जस्तै उहाँको जीवन र कर्मले हामी र हाम्रो समाजमा आशा पनि सिर्जना गरेको छ। अरूलाई पनि उहाँ जस्तै हुन अभिपे्ररित गरेको छ। उहाँको जीवनबाट हामीले पाउने प्रेरणा र शिक्षा यो पनि हो कि हामी आफैं पनि परिवर्तित हुन सक्छौं। एउटै जीवनमा पृथक् जुनीहरू सिर्जना गर्न सक्छौं।
हो, म डा. देवेन्द्रराज पाण्डेबारे कुरा गर्दै छु। डा. पाण्डेको जीवनले हामी आफैंलाई परिवर्तन गर्न सक्छांै र एउटै जिन्दगीमा एकभन्दा बढी जुनी फेर्दा राम्रै हुन्छ भन्ने सिक्न सक्छौं। हाम्रा राजनीतिक नेताहरूले थुप्रै जुनी हासिल गरून् भन्ने कामना पनि गर्छु। त्यसो हुँदा हाम्रो पनि हित हुनेथियो।
डा. पाण्डेको जीवनबाट के सिक्न सक्छौं, आत्मसात् गन सक्छौं र अभ्यास गर्न सक्छौं भन्नेबारे पनि गभ्भीर भएर चिन्तन गरौं।
यहाँ पद्मा पाण्डेबारे चर्चा गर्नैपर्छ, जसले डा. देवेन्द्रराज पाण्डेसँग साथसाथ, सँगसँगै, एक ज्यान सरह रहेर जीवन अगाडि बढाउँदै हुनुहुन्छ। यसो भन्दा काठमाडौंका सडकमा दुवै जना सँगसँगै हिंडिरहेको तस्वीर मेरो आँखा अगाडि आउँछ। त्यसो त म पद्माजीको आफ्नै व्यावसायिक उपलब्धिबारे पनि धेरथोर जानकार छु। ‘पद्मा टीचर’को नामले विद्यार्थीमाझ परिचित र लोकप्रिय पद्माजीले आफ्ना दिदीबहिनी र अन्य शिक्षकको सहयोगमा लगभग चार दशकसम्म एउटा प्राथमिक विद्यालय सञ्चालन गर्नुभयो।
मीरा र मेरो छोरीले पनि त्यही विद्यालयमा तीन वर्षसम्म प्रि-किन्डरगार्टेन तह बिताएकी हुन्। पद्माजी हाम्रो छोरीको पनि प्रिय शिक्षक हुनुहुन्थ्यो। हाल आएर हाम्री छोरी व्यक्तिगत र व्यावसायिक रूपमा सफल जीवनयापन गर्दै छिन्। त्यसैले म र मीरा उहाँको स्कूल र पद्माजीप्रति अनुगृहीत छौं।
मलाई थाहा छ, पद्माजी व्यावसायिक रूपमा जति सफल हुनुहुन्छ, त्यति नै उहाँको योगदान डा. पाण्डेको व्यक्तित्व निर्माणमा पनि छ। पद्माजी विना डा. पाण्डे हामीले सम्मान गर्ने तहमा शायद पुग्न सक्नुहुन्थेन। डा. पाण्डे र र पद्मा पाण्डे भिन्दाभिन्दै व्यक्ति भए पनि सामाजिक र आत्मिक रूपमा एकै ज्यान हुनुहुन्छ। साँचो अर्थमा एउटै जीवनरथका दुई पाङ्ग्रा हुनुहुन्छ।
अब डा. पाण्डे र मेरो सम्बन्धबारे छोटो चर्चा गर्छु। डा. पाण्डेसँगको सम्बन्ध मुख्यतः व्यावसायिक प्रकृतिको नै हो। तर यति मात्रले हामीबीचको सम्बन्धका सबै पाटाहरू समेट्दैन। डा. पाण्डे र म छिमेकी पनि हौं। म उहाँका परिवारका सबैजसो सदस्यहरूलाई चिन्छु।
कान्छो भाइ कल्याण पाण्डे र म सानैदेखिको साथी हौं। दाजु नरेन्द्रराज पाण्डे, जसबारे डा. पाण्डेले निकै प्रेमपूर्वक लेख्नुभएको छ, म रेडियो नेपालमा एक वर्षभन्दा बढी काम गर्दा मेरो मेन्टर हुनुहुन्थ्यो। यसैमा थपौं, म पद्मा पाण्डेका आमाबुवा र केही सदस्यहरूलाई पनि चिन्छु। तर यी सबैका बावजुद डा. पाण्डे र मबीचको सम्बन्ध सधैंजसो व्यावसायिक रहेको छ।
आज डा. पाण्डेका पाँचवटा विशेषताको परिधिभित्र राखेर परिचित गराउँछु। यी विशेषताले उहाँलाई हाम्रो प्रिय पात्र मात्र बनाएको छैन; वर्तमान इतिहासको महत्त्वपूर्ण पात्र पनि बनाएको छ। वर्तमान इतिहास अर्थात् वर्तमान काल जसका हिस्सा हामी सबै हौं।
डा. पाण्डेको जीवनबारे चियोचर्चा गर्दा उहाँका प्रकाशित लेखहरू र खासगरी पछिल्लो पुस्तक ‘एक ज्यान दुई जुनी’ बाट धेरै सिकेको र उद्धरण गरेको छु। तर मेरो आजको यो प्रस्तुति, उहाँले लेखेको भन्दा उहाँको जीवन र उहाँले गरेका कामहरूमा बढी आधारित छ।
पहिलो र शायद डा. पाण्डेले आत्मसात् गर्ने सबैभन्दा महत्वपूर्ण गुण, जसले म जस्ता कैयौंलाई औधी प्रभाव पार्छ, त्यो हो उहाँको नागरिकत्व। जो कोहीले पनि भन्न सक्छ, उहाँले आफ्नो नागरिकत्व हृदयभित्र सबैले देख्ने गरेर छातीमा पनि टाँसेर राख्नुहुन्छ। यस अर्थमा उहाँ एक जना उत्कृष्ट र जण्ड नागरिक हुनुहुन्छ।
मेरो दृष्टिकोणमा नागरिकत्वबारे डा. पाण्डेको अवधारणामा तीन भिन्न आयाम भेट्न सकिन्छ। ती हुन्, राजनीतिक स्वतन्त्रता, समावेशिता वा सामाजिक निकटता र आर्थिक समता। यो मान्यता थमस हम्फ्री मार्शलले अघि सारेकोे नागरिकताबारेको अवधारणासँग मिल्दोजुल्दो छ। यी तीन आयाम सन् १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्तिका मूल मान्यताहरू- ‘स्वतन्त्रता, भ्रातृत्व र समानता’ सँग पनि मेल खान्छन्।
डा. पाण्डेको नागरिकता वा नागरिकत्वबारे महत्वपूर्ण आयामबारे थप विचार गरौं। पहिलो, ‘नागरिक’ भन्ने अवधारणा आम रूपमा कानूनी शब्दावलीका रूपमा मात्र प्रयोग गरिन्छ। त्यो नागरिकता वा नागरिकत्वको निश्चित र शक्तिशाली राजनीतिक, आर्थिक, सांस्कृतिक आदि आयाम पनि छन् भन्ने बिर्सन्छौं। नेपालीहरू नेपालको कानूनी मात्र नभई राजनीतिक, आर्थिक, सांस्कृतिक आदि नागरिक पनि हुन्।
अहिलेको गणतान्त्रिक कालमा मात्र नभई परम्परागत राजतन्त्रीय काल, प्रधानमन्त्रीत्व काल, पछिल्लो राजतन्त्रीय काल र पञ्चायत कालमा पनि नेपालीहरू कानूनी नागरिक रहे। तर त्यतिवेला नागरिकत्वलाई राजतन्त्र र जहानियाँ प्रधानमन्त्रीत्व लगायत निर्दलीय पञ्चायती व्यवस्थाको पूरक तुल्याइएको थियो। नागरिकतालाई पिठ्यँुमा राजतन्त्र बोकेको सामाजिक, कानूनी र राजनीतिक व्यवस्थाको पूरक बनाइएको थियो। त्यो नागरिकता राजतन्त्रलाई पवित्र मान्ने हिन्दू धर्मको पनि पूरक थियो। त्यसले गर्दा राजनीतिक नागरिकत्व प्रदर्शन गर्न र त्यसलाई अभ्यासमा ल्याउन बन्देज लगाइएको थियो। भित्र हृदयमा र बाहिर छातीमा देखिने गरी नागरिकता भिरेको देख्न र देखाउन सकिंदैनथ्यो।
वास्तवमा २०३६, २०४६ गर्दै २०६३ सालमा मात्रै कानूनी नागरिकताको राजनीतिक, आर्थिक र सांस्कृतिक सीमाहरू बढी फराकिला पारिएका हुन्। डा. पाण्डेका लेखहरूमा ‘नागरिक’ र ‘स्वतन्त्र नागरिक’ र यस्तै पदावलीहरू बारम्बार झुल्किन्छन्। त्यसको एउटै कारण छ, त्यो हो- पाण्डेले नागरिकत्वको क्रान्तिकारी अवधारणाको राजनीतिक र सामूहिक महत्त्वलाई आत्मसात् गर्नुभएको छ। त्यो अवधारणालाई सबैले आत्मसात् गर्नुपर्छ भनेर लागिपर्नुभएको छ।
डा. पाण्डेले आफ्नो हरेक बोलाइ र लेखाइमा निरन्तर ‘स्वतन्त्र नागरिक’को मान्यतालाई जोड दिनुभएको छ। साथै आफू पनि एक स्वतन्त्र नागरिकका रूपमा बाँच्ने सफल प्रयत्न गरिरहनुभएको छ। परिणामस्वरूप, आफ्नो दोस्रो ‘जुनी’भर उहाँले नेपालमा स्वतन्त्र नागरिकताको अभियानलाई नेतृत्व पनि दिनुभएको छ। यसरी उहाँका निम्ति लोकतन्त्रको अवधारणा आफ्ना लागि स्वतन्त्र नागरिकताको सुनिश्चितता मात्र होइन; स्वतन्त्र नागरिकताको अभ्यास गर्न सकिने सुनिश्चितता प्रदान गर्न जे-जति गर्न सकिन्छ सो गर्न हामीलाई आह्वान गर्नकै लागि आफ्नो दोस्रो जुनी लगाउनुभएको हो।
यही प्रयत्नकै कारण उहाँलाई बितेका थुपैै्र वर्षहरूमा कहिले राजनीतिक मञ्चको अग्रपंक्तिमा देख्यौं, कहिले बैठकमा त कहिले सडकमा र कहिले जेलका पर्खालभित्र पनि। निर्भीक र जुझारु (मिलिट्यान्ट) नागरिक भएर आफ्नो जीवन जिउनुभयो। नागरिकताको संघर्षबाट उहाँलाई निकाल्न पुराना सत्ताहरू विफल बने। न त उहाँले हामीलाई सम्मान विनाको नागरिक भएर रहन नै दिनुभयो।
यो प्रतिबद्धता र लगावका लागि उहाँ र पद्माजीले घरको कम्पाउन्डमा बम राखिनेदेखि सुरक्षा संयन्त्रको निरन्तर फोन उठाउनेसम्मका त्रासदीको सामना गर्नुपर्यो। त्यस्तो जोखिममा होमिने साहस हामीमध्ये विरलैले गर्न सक्छौं। यसो भन्न म हिच्किचाउँदिन किनकि डा. पाण्डेले जुलुसको अग्रपंक्तिको पनि बीचोबीचबाट नेतृत्व गरिरहँदा म आफैं भने पेटीमा हुन्थें। हामी सबैका निम्ति यत्रो जोखिम मोल्नुभएकोमा पाण्डे दम्पतीलाई सहस्र धन्यवाद छ।
एक सामान्य र स्वतन्त्र नागरिक रहँदाको अपार स्वतन्त्रताको अनुभव गर्न सकिन्छ भन्ने शिक्षा डा. पाण्डेको जीवनले दिन्छ। त्यस्तो नागरिक जसले कानूनको पालना गर्छ र आफैं लोकतान्त्रिक कामनाहरूको सार्वजनिक अभिव्यक्ति पनि हो, उसलाई अलोकतान्त्रिक व्यवहारले झुकाउन सक्दैन। कुर्ता-सुरुवाल लगाएर सडकका गल्लीहरूमा साइकल लिएर आम नागरिकका बीचमा कुदिरहँदा डा. पाण्डेले मुक्त रहनुको अनुभूति गर्नुभएको हुनुपर्छ।
त्यस्तो व्यवहारबाट भ्रातृत्वको सिर्जना पनि गरिरहनुभएको छ। लोकतन्त्रमा नागरिकताको एउटा महत्वपूर्ण पाटो भ्रातृत्व पनि हो। म के पनि अनुमान गर्छु भने सुत्न जानुअघि कहिलेकाहीं एक-दुई टुच्च लगाइन्छ भनेर खुलेआम भनिरहँदा पनि उहाँले त्यस्तै खालको स्वतन्त्रता र साहचर्यको अनुभव गरिरहनुभएको हुन्छ।
दोस्रो, सन् १९८० को दशकको शुरू वा मध्यतिर नै डा. पाण्डेले पूर्ण लोकतान्त्रिक नागरिकता प्राप्तिका लागि सामूहिक रूपमा नागरिक, राजनीतिक र आर्थिक पहलहरू गर्नुपर्छ भन्ने बोध गर्नुभएको हुनुपर्छ। यो मान्यतालाई पछि २०६३ को परिवर्तन र त्यसपछिको राजनीतिक संक्रमणकालको दौरानमा पनि अघि बढाइरहनुभयो।
नागरिकत्वप्रतिको उहाँको मान्यताको सार हो- कुनै पनि राजनीतिक व्यवस्थाभित्र बस्ने सबैले पूर्ण नागरिकत्वको बोध नगर्दासम्म कोही एक्लैले मात्रै त्यो अनुभूति गर्न सक्दैन। उता सबै मुलुकवासीको लागि पूर्ण नागरिक बन्न लिंग, जात, जाति आदिका आधारमा भएको शक्ति र अधिकारको समान वितरणका साथै क्षेत्रगत विभेद र असमानतालाई कमजोर तुल्याउनुपर्छ र क्रमशः उन्मूलन गर्नुपर्छ। सारमा, यस्ता विभेद र असमानताका तिखा काँडालाई प्रगतिशील अर्थ-राजनीति अपनाउँदै क्रमशः उल्टाइदिनुपर्छ।
तेस्रो, डा. पाण्डेले पूर्ण नागरिकत्व र लोकतन्त्र दुवै सामाजिक लोकतन्त्रमा मात्र सुनिश्चित हुने निष्कर्ष निकाल्नुभएको छ। उहाँका लागि समता भनेको विकास र लोकतन्त्र एकअर्काबाट छुट्याउनै नसकिने किसिमको समग्र परिपाटी हो। त्यो समग्र परिपाटी नागरिकत्वको पनि मुटु हो। अर्थात्, अति-वामपन्थी र अति-दक्षिणपन्थी राजनीति- दुवै विकास र लोकतन्त्रको पक्षमा असफल भएर रहे। त्यसैले, २०४६ सालपछिका सरकारहरू र सिंगो राजनीति नै लामो समयदेखि सामाजिक विभेद् खेपिरहेका नागरिकको आवश्यकता र आकांक्षा सम्बोधन गर्न चुकेको देख्दा चकित भएको अनुभव उहाँले आफ्नो आत्मकथा ‘एक ज्यान, दुई जुनी’ (पृ. १९३) मा उल्लेख गर्नुभएको छ।
त्यस्तै निजी क्षेत्रको हितका लागि राज्यद्वारा सञ्चालित प्रमुख उद्योगहरू विघटित गर्ने र किसानलाई दिइँदै आएको मलमा सहुलियत घटाउने निर्णयले पनि आफू निराश भएको उल्लेख गर्नुभएको छ। यसरी उहाँले नवउदारवादी अजेन्डा अस्वीकार गर्दै सामाजिक लोकतन्त्रको पक्षमा बलियो मत राख्नुभएको छ (एक ज्यान दुई जुनी, पृ. १९३)।
डा. पाण्डेलाई पीडा दिने यो विचारधारा र राजनीति २०६३ सालको संक्रमणपछि पनि कायम नै रहनुले उहाँमा पीडा अझै थपेको बुझ्न सकिन्छ (एक ज्यान दुई जुनी, पृ. १९६-२०१)। खासगरी, डा. पाण्डेलाई बीपी कोइराला र सामाजिक लोकतन्त्रको पहिचान बोकेको नेपाली कांग्रेस राष्ट्रिय परिदृश्यबाट लगभग हराउन लाग्दा अझ बढी पीडा भएको बुझिन्छ (एक ज्यान दुई जुनी, पृ. १७६-७७)।
डा. पाण्डेको जीवनको दोस्रो विशेषता लोकतन्त्र र विकास जोड्ने कडीसँग सम्बन्धित छ। लोकतन्त्र र विकासलाई दुई फरक-फरक प्रवर्गको रूपमा नभएर तिनलाई एकै ठाउँमा जोडेको छु, किनभने डा. पाण्डेले त्यसै गर्नुभएको छ। धेरैजसो विश्लेषकले यी दुई प्रवर्गलाई भिन्दाभिन्दै राख्ने गरेका छन्। डा. पाण्डे भने लोकतन्त्र र विकासबीच खासै भिन्नता देख्नुुहुन्न। उहाँको विचारमा लोकतन्त्र विना विकास हुनै सक्दैन।
लोकतन्त्रले विकासलाई र विकासले लोकतन्त्रलाई समुन्नत बनाउँछ भन्ने उहाँको बलियो धारणा छ। यद्यपि पछिल्ला चार दशकमा पश्चिमा देशहरूमा भएको विकास र लोकतन्त्रको अमिल्दो अभ्यासले वेलावेलामा त्यस धारणामा शंका पनि जन्माउँछ। खासमा यी दुवै अवधारणालाई सँगै राखेर कसैले लोकतान्त्रिक विकासको प्रक्रिया अघि बढाउँछ भने त्यसमा उहाँको पूर्ण सम्मति रहन्छ (एक ज्यान, दुई जुनी, पृ. १८४)।
विकास आर्थिक वृद्धि मात्र होइन। विकासले नागरिक, राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्र लगायत सम्पूर्ण नागरिकलाई समेट्छ। लोककल्याणको वृद्धि सम्बन्धी एडम स्मिथको भनाइलाई डा. पाण्डेले जोड दिनुभएको छ। नवउदारवादीले स्मिथलाई पढ्ने र प्रयोग गर्ने तरिकाभन्दा उहाँको बुझाइ निकै भिन्नै छ।
त्यसैगरी ‘एक ज्यान, दुई जुनी’ (पृ. १८५) मा उहाँले विलियम आर्थर लुइसको चर्चा गर्नुभएको छ, जसले सामाजिक विकास र आर्थिक वृद्धि एक-आपसमा जेलिएर रहन्छ भन्ने ठहर गरेका थिए। केही वर्षअघिको कुराकानीको क्रममा- अमत्र्य सेनको ‘डेभलपमेन्ट एज फ्रिडम’ (स्वतन्त्रता र विकासबीचको अन्योन्यास्रित सम्बन्ध) बारेको सोचबारे दुवै सहमत रहेका थियौं।
२६ वर्षअघि उहाँ, म र अरू केही साथीहरू मिलेर नेपालको मानव विकास प्रतिवेदन तयार पार्दा पनि त्यो विचार समेटेका थियौं। उक्त प्रतिवेदन ‘हरेक नागरिक र नागरिक समूहको क्षमता अभिवृद्धि एवं विस्तारमा नै विकास र स्वतन्त्रता अडेको हुन्छ’ भन्ने अवधारणामा आधारित थियो। हामीले सेन र उनको जस्तै धारणा बोक्ने अन्य विचारकहरूको अवधारणा पछ्याएका थियौं, जसले मानव क्षमतालाई मूलतः प्राथमिक स्वास्थ्य र आधारभूत शिक्षामा पहुँच एवं अत्यावश्यक आयका रूपमा अभिव्यक्त गर्छ।
डा. पाण्डेले विकास र लोकतन्त्रप्रतिका आफ्ना यस्ता मान्यताहरू आफ्नो स्नातकोत्तर तहको पढाइको दौरानमा आर्जन भएको बताउनुभएको छ। आम तवरमा भन्ने हो भने नवउदारवाद उत्कर्षमा पुग्नुअघि सन् १९८० को दशकसम्म विकासलाई संसारभर त्यसरी नै व्याख्या गर्ने गरिन्थ्यो। डा. पाण्डे केमा सहमत हुनुहुन्छ भने विकास र लोकतन्त्रका यी मान्यताबाट टाढिंदै जाँदा देशहरूबीच र देशभित्रै असमानता झन्-झन् चुलिंदै गयो। साथै; दक्षिणपन्थी राजनीतिको पनि तीव्र विकास भयो, जसको अन्तर्निहित चरित्र नै अलोकतान्त्रिक थियो।
अन्य विचारकहरूले समेत व्याख्या गरे जस्तै, यस्तो राजनीतिको विकासले पारिवारिक र सामुदायिक सम्बन्धहरूलाई दुर्बल तुल्याइदियो। त्यसका परिणाममध्ये, व्यक्तिगत एक्लोपन, राजनीतिबाट नागरिकको अलगाव आदि अवस्था सिर्जना भए, जुन पक्कै पनि लोकतन्त्रका लागि हितकर रहेनन्।
जोड दिनैपर्ने डा. पाण्डेको जीवनको तेस्रो विशेषता हो, निष्ठा। डा. पाण्डे आफैंले आफ्नो मोटो पुस्तक ‘द आइडिया अफ इन्टिग्रिटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन’ मा ‘इन्टिग्रिटी’ को अवधारणालाई परिभाषित गर्नुभएको छ। आफ्नो इमानदारी तथा सिद्धान्त र सत्यनिष्ठालाई ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल शाखा लगायत सो संस्थाको बर्लिन, जर्मनीमा रहेको मुख्य कार्यालयमा समेत बसेर कर्मबाटै पुष्टि पनि गर्नुभएको छ।
तर ‘इन्टिग्रिटी’ को अवधारणालाई नेपालीमा रूपान्तर गर्न त्यति सजिलोे छैन। धेरैले ‘इन्टिग्रिटी’ लाई निष्ठाको रूपमा अथ्र्याउँछन्। जुन सटिक त छ तर पर्याप्त छैन। ‘इन्टिग्रिटी’ ले निष्ठा लगायत इमान, निष्कपट, प्रतिबद्धता, उच्च नैतिक आचरण, शुद्धता, योगदान, मन, वचन र कर्मको एकरूपता, आफ्नो अस्तित्वको निर्वाध पूर्णता आदिलाई पनि समेट्छ। यसरी ‘इन्टिग्रिटी’ का धेरैवटा पाटाहरू हुने भएकाले डा. पाण्डेको जीवनसँग सम्बन्धित एक-दुई वटा पाटाबारे मात्रै चर्चा गर्छु।
हामीलाई थाहै छ- डा. पाण्डेले पनि निकै गहिराइमा यसबारे लेख्नुभएको छ, २०३६ सालको जनमत संग्रहको पूर्वसन्ध्यामा आफ्नो उच्च तहको सरकारी जागिर छोड्नुभयो; जबकि अरूले त्यतिवेलाका सत्ताधारीको मनोमानी लगायत वित्तीय अधिकारको दुरुपयोग सहेरै पनि जागिर धानिरहे। यसलाई उहाँको पहिलो जुनीबाट दोस्रो जुनीतर्फको सँघार नाघेको रूपमा व्याख्या गर्नु मनासिव ठान्छु।
ऐतिहासिक संक्रमणले मात्र लामो काल लिने होइन, व्यक्तिगत संक्रमण पनि सतहमा देखिनुअघि गर्भमा लामो समयसम्म विकसित भइरहेको हुन्छ। त्यो प्रक्रियाले निश्चित सीमा नाघेपछि मात्रै नयाँ परिघटना भएको देख्न सक्छौं। तर त्यसको अर्थ त्यो सीमा ननाघ्दासम्म केही भएकै थिएन भन्ने होइन। त्यो परिघटना हाम्रो दृष्टिमा नरहेको मात्रै हो। डा. पाण्डेको दोस्रो जुनीको शुरुआत त्यतिवेलै भएको थियो, जतिबेला उहाँले सन् १९७२ ‘पहिलो गणतान्त्रिक नेता’ रामराजाप्रसाद सिंहको पक्षमा भोट हाल्नुभएको थियो।
सबैलाई थाहा छ, डा. पाण्डेले आफ्नो लामो दोस्रो जुनीमा कुनै पनि व्यक्तिगत महत्वाकांक्षा विना नै निरन्तर र प्रतिबद्ध रूपमा लागिरहनुभयो। हो, उहाँ एक वर्ष मन्त्री पनि हुनुभयो। खासमा मन्त्री बन्नुको मुख्य कारण यो थियो कि उहाँ र उहाँका सहकर्मीले त्यो वेला संगठित भएको गैरपार्टी नागरिकको लोकवैधता प्राप्त विशाल राजनीतिक आन्दोलन हाँकिरहनु भएको थियो। उता राजनीतिक दलहरूलाई त्यो विशाल नागरिक आन्दोलनको वैधता आर्जन गरेर नयाँ सत्ता सफल तुल्याउनु थियो।
पक्कै डा. पाण्डेलाई पनि इतिहासको त्यो सन्धि कालको संगिन घडीमा महत्त्वपूर्ण राजकीय परिवर्तन गर्ने हुटहुटी थियो। तर राजनीतिक नेताहरूप्रतिको असन्तुष्टि पनि त्यतिवेलै शुरू भइसकेको थियो। ‘एक ज्यान, दुई जुनी’ (पृ. १०८) मा उहाँले उल्लेख गर्नुभएको छ, उहाँलाई अर्थमन्त्री बनाउन मुख्य भूमिका खेल्ने नेपाली कांग्रेसका दुई नेताहरूले तुरुन्तैजसोे आफ्ना कार्यकर्तालाई जागिर र सुविधा उपलब्ध गराइदिन अनुरोध गरेका थिए। यो उहाँले स्वीकार्न सक्ने अनुरोध थिएन।
सोही पुस्तक (पृ. १९०) मा उहाँले के पनि उल्लेख गर्नुभएको छ भने, २०४६ सालपछिको संक्रमणकालीन सरकार नयाँ संविधान निर्माण गर्न तदारुकताका साथ केन्द्रित भए पनि त्यतिबेला गर्नैपर्ने केही महत्त्वपूर्ण निर्णय र काम गर्नबाट चुक्यो। बरु उता केही अनावश्यक र प्रत्युत्पादक काममा हात हाल्योे। हामीमध्ये कतिपयलाई के पनि थाहा छ भने त्यसपछि पनि उहाँले राम्रो सुविधा र सम्मान हासिल हुने थुप्रै काम र पदहरू अस्वीकार गर्नुभयो। त्यस्ता अवसरहरू परित्याग गर्नु अपवाद नै हो भन्ने बिर्सनु हुँदैन।
फेरि उहाँले त्यस्ता अवसरहरू परित्याग गर्नु आफैंमा महत्वपूर्ण नहोला। त्योभन्दा पनि महत्वपूर्ण होला, त्यसको कारण। हामीमध्ये धेरै त्यसलाई त्यागका रूपमा व्याख्या गर्छौं। तर उहाँ आफैं त्यसरी हेर्ने गर्नुुहुन्न। लोकतान्त्रिक र विकसित नेपाल निर्माणका लागि आफू व्यस्त भएकाले ती अवसरहरू अस्वीकार गर्नुभएको हो। आफ्नो जीवनको उद्देश्य र आफ्नो गहन सामाजिक भूमिकाबारे प्रस्ट हुनुहुन्थ्यो। अरू बाँकी सबै कुरा गांैण थिए।
हुन त यो यहाँ भनिरहनुपर्ने कुरा होइन। तर, नैतिकता र सदाचारको प्रसंग आउनासाथ भन्नैपर्ने हुन्छ, आफ्ना दुवै जुनीहरूमा डा. पाण्डे सधैं प्रश्नहरूको घेराभन्दा बाहिर रहनुभएको छ। भ्रष्टाचारको मामिलामा मात्र होइन, शक्तिको दुरुपयोगका सन्दर्भमा पनि स्वच्छ हुनुहुन्छ। पक्कै पनि खास-खास समय र स्थानमा यो शुद्धता ‘सामान्य’ मानिन सक्छ। पक्कै पनि, नेपालमा केही निष्ठावान् राजनीतिज्ञ र उच्च प्रशासकहरू छन्। तर ती औंलामा गन्न सकिने जति मात्र छन्। शुद्धता हाम्रोमा दुर्लभ भइसकेको छ। यो अन्धकारमा डा. पाण्डे लामो समयसम्म प्रकाशस्तम्भ बनेर रहनुभएको छ।
डा. पाण्डेको जीवनको ‘इन्टिग्रिटी’को अर्को पक्ष पनि जोड्न चाहन्छु। उहाँलाई कहिल्यै पनि फुर्सदमा बसेको देखेको छैन। पद्माजी र उहाँको परिवारका अन्य सदस्यहरूले पनि त्यस्तै पाउनुभएको छ भन्ने लाग्छ। धेरैपटक उहाँलाई समाज, अर्थतन्त्र, देश र नेपालको विकास एवं लोकतन्त्रबारे घोत्लिरहेको, बोलिरहेको र लेखिरहेको पाएको छु। पक्कै पनि लोकतन्त्र र विकासलाई सन्धि गर्ने खाका कोर्नु निकै ठूलो चुनौती हो। तर उहाँको वैचारिक सबलता र निरन्तरको लगावले यो जटिलतालाई एकठाउँमा राख्ने प्रयास गरिरहेको छ। सम्भवतः यो नै अघि उल्लेख गरेको उहाँको जीवनको निर्वाध पूर्णता हो।
डा. पाण्डेको जीवनको चौथो विशेषतालाई ‘बगालेदेखि बर्लिन र वासिङ्टनदेखि कराची, दिल्ली, र ...काठमाडौं फिर्ता...’ को रूपमा प्रस्तुत गर्न सकिन्छ। यसको सार के हो भने, डा. पाण्डे सधैंभरि मानिस, ठाउँ र प्रणालीहरू एकआपसमा जोड्नमै लागिरहनुभयो।
डा. पाण्डेको काठमाडौं बाहेकको सबैभन्दा मन रमाउने ठाउँ बगाले, पाल्पा नै हो। त्यहाँ आफ्नोपन पाउनुहुन्छ। त्यहाँ उहाँले गर्नुपर्ने थुप्रै कामका साथै ती काम पूरा गर्न साथ दिने मानिस पनि पाउनुहुन्छ। बगाले र यस्तै अन्य ठाउँहरू अमूक र दूरदराजका स्थान होइनन्, बरु जात, लिंग, जातीयता, वर्ग आदिका आधारमा थोरबहुत बहिष्कृत मानिसले भरिएका साना-साना संसारहरू हुन्। डा. पाण्डे समाजसेवक हुनुहुन्छ।
उता उहाँको अर्काे शिविर विश्वका महानगरहरूको विशाल क्षितिज पनि हो। बगाले त्यस्ता महानगरहरूबाट निरन्तर प्रभावित र पुनर्गठित भइरहेको हुन्छ। साथै, काठमाडौंले गर्ने डेन्टिङ-पेन्टिङबाट पनि गुज्रिरहन्छ। मानिस, स्थान र प्रणालीहरूको यो बहुआयामिक संरचनामा निरन्तर संघर्ष चलिरहन्छ। बगालेले आफ्ना मानिस, श्रम, सीप र स्रोत अन्य स्थान र प्रणालीतिर बाहिरिइरहेको पाउँछ। तर पनि डा. पाण्डे र उहाँका सहकर्मीले बगाले जस्तो दुब्लाउँदै गएको स्थान र बासिन्दालाई छोडिहाल्न सक्दैनन्।
बगालेका र यस्तै अन्य समस्याहरू मनमा बोकेका डा. पाण्डे सिंहदरबार, स्वीस राजदूताबास, जर्मन राजदूताबास, विश्व ब्यांक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संसारैभर छरिएका गैरसरकारी संस्थामा नीति र आर्थिक सहयोगका लागि छलफल गर्न पुग्नुहुन्छ ताकि केवल बगाले र नेपालको निम्ति मात्र नभई विश्वका अन्य महानगरको विकास र लोकतन्त्रलाई सघाउ पुर्याउन सकियोस्। पक्कै पनि, भौतिक सम्पन्नताको हिसाबले विश्वका महानगरहरू उत्कर्षमा छन् तर त्यहाँका पनि धेरै बासिन्दाहरू सुखी छैनन्।
एक किसिमले हेर्दा यी महानगरहरूले भौतिक समृद्धिको भुलभुलैयामा आफूलाई विकृत तुल्याइरहेछन्। त्यसैले, बगाले र नेपालमा केन्द्रित भए पनि डा. पाण्डेलाई के थाहा छ भने, यी स्थान र यहाँका मानिसहरू नितान्त वेग्लै दुनियाँमा बस्दैनन्। यी स्थान र यहाँका बासिन्दा आफैं पनि विश्व संरचनामा बाँधिएकै छन्। त्यसैले, बगाले र नेपाल मात्र होइन, बाँकी महानगर र राज्यहरूको परिवर्तन पनि महत्त्वपूर्ण छ। यस्तो विशाल परिवर्तनमा हात हाल्नु अत्यन्त कठिन कार्य हो। तर, डा. पाण्डे अरू विकल्प पनि देख्नुुहुन्न।
डा. पाण्डेको जीवनलाई लिएर सूचीबद्ध गरेका विशेषताहरूमध्ये पाँचौं र अन्तिम चाहिं उहाँको अनवरत आशावादिता हो। हामी काठमाडौंवासीमध्ये धेरैजसो आफ्नो व्यक्तिगत जीवनप्रति आशावादी नै छौं। हामीमध्ये केहीले आफ्ना सन्तानको भविष्य ‘सुनिश्चित’ पार्ने समेतको जोहो गरेका छौं। तर यहाँ म व्यक्तिगत नभएर सार्वजनिक जीवनप्रतिको आशावादिताबारे चर्चा गर्दै छु। डा. पाण्डेको चार दशक लामो दोस्रो जुनी भन्नु नै अविश्राम सार्वजनिक कर्म हो।
उहाँको दोस्रो जुनीका शुरुआती वर्षहरूलाई एककिसिमको इन्टर्नसिपका रूपमा पनि लिन सकिएला। तर त्यसपछिका साढे दुई दशक निरन्तर राजनीतिक मञ्चमै बिताउनुभयो। त्यो राजनीतिक मञ्च सधैं निर्मम र प्रायः हिंस्रक एवं सैन्यकृत थियो। ‘एक ज्यान, दुई जुनी’ मा वर्णन गरिएको छ, २०४६ सालपछि राजनीतिमा उहाँको प्रवेशलाई लिएर असन्तुष्ट र चिन्तित रहने परिवारका सदस्य, साथी र अन्य शुभेच्छुकहरूको कमि थिएन। २०६२/६३ साल र त्यसपछिका समयमा पनि असन्तुष्ट हुनेहरू प्रशस्त थिए। तर पनि, बृहत्तर सार्वजनिक हितका निम्ति डा. पाण्डेले त्यो जोखिम उठाइनै रहनुभयो।
तर जब सबैको हितका निम्ति आफूले उठाएका व्यक्तिगत र सार्वजनिक जोखिमबारे चिन्तन गर्नुहुन्छ, एउटा प्रश्न सिर्जना हुन्छ- के त्यो जोखिम मोल्नु उचित थियो? ‘एक ज्यान, दुई जुनी’ मा उहाँ यो प्रश्नबारे बारम्बार घोत्लिनुभएको छ। उहाँले केही उल्लेखनीय असफलताबारे चर्चा पनि गर्नुभएको छ। भाषा फरक हुनसक्छ तर सारमा हाम्रा नेताहरूले हामीलाई अहिलेसम्म असफल नै बनाइरहेछन् भन्ने निचोडमा उहाँ पुग्नुभएको छ।
फेरि पनि के यो जोखिम मोल्नु उचित थियो? उहाँले यो प्रश्नको स्पष्ट जवाफ दिनुभएको छैन। तर उहाँले त्यसको जवाफ दिइरहनु पनि पर्दैन। पुरानो राजनीतिक प्रणाली राजाले कुल, वंश र जन्मकै आधारमा शासन गर्न पाउने अधिकारमा आधारित थियो। त्यससँग लोकतान्त्रिक वैधता थिएन। त्यो प्रणाालीले आफूले सामना गर्नुपरेका समस्याहरू समाधान पनि गरेको थिएन। कुनै तरिकाले त्यो प्रणाली टिकेकै भए पनि त्यसले हामीले आज भोगिरहेका समस्याको समाधान गर्न सक्दैनथ्योे। यो बेग्लै प्रसंग हो कि वर्तमान व्यवस्था र नेताहरू पनि यी समस्या समाधान गर्न जुटेका छैनन्। तर उहाँको लागि यसकोे अर्थ के हो भने हामी थप चिन्तन र कर्ममा लागिपरिनै रहनुपर्छ।
विगत र वर्तमानप्रति बारम्बार घोत्लिइरहे पनि र वर्तमानका घटना र प्रक्रियाबाट असन्तुष्ट र दुःखी भए पनि डा. पाण्डे आशावादी हुनुहुन्छ। किन त? पक्कै पनि सावधानीलाई सजिलोसँग व्याख्या गर्न सकिन्छ। तर, आशावादिता? यसो किन भने उहाँ यो संक्रमणप्रति पटक्कै असन्तुष्ट हुनुहुन्न। उहाँ आफैं पनि यो संक्रमणमा पूर्ण सक्रियतापूर्वक संलग्न हुनुहुन्थ्यो।
अर्कोतर्फ, यो संक्रमणले नेपाली राजनीति बृहत्तर हिंसामा फस्ने वा माओवादको दलदलमा प्रवेश गर्ने सम्भावना बन्द गर्यो। जबकि त्यतिवेला भने यी दुवै सम्भावनाहरू प्रबल थिए। यी बाहेक अर्को ठूलो उपलब्धि हो, लोकतान्त्रिक प्रणालीको स्थापना, जस अन्तर्गत लामो भविष्यसम्मको लागि एउटा विश्वजनीन र इतिहासजनीन राजनीतिक खाका कोरिएको छ।
यो सत्य हो कि वर्तमान र भविष्यबारे गर्नैपर्ने प्रश्न र खोज्नैपर्ने जवाफ प्रशस्त बाँकी छन्। तर पुरानो राजनीतिक प्रणालीहरूको पुरातन र दमनकारी प्रवृत्ति अन्तर्गत प्रतिपक्षलाई अर्थात् राजनीतिलाई उभिन सक्ने जमीन नै थिएन। संगठित भएर परिवर्तनको लागि आह्वान गर्ने ठाउँ नै थिएन।
त्यसैले, डा. पाण्डे चिन्तित भए पनि आशावादिता त्याग्न सक्नुहुन्न। युवा र सीमान्तकृत समुदायबाट आउने भविष्यका नेताबाट अझ बढी आशा राख्नुहुन्छ। कतै उल्लेख पनि गर्नुभएको छ- जागरिलो र सक्रिय कर्ता नबनिकन बस्नै सक्नुहुन्न। ‘लगे रहो मुन्नाभाइ’ जस्तै लागिपरिरहने स्वभाव छ पाण्डेको। मलाई लाग्छ, यसमा हामी सबै समर्थन गर्छौं।
(ग्रामीण स्वलम्बन विकास केन्द्रद्वारा पुस २९ गते आयोजित ‘स्वावलम्बन अवधारणा र डा. देवेन्द्रराज पाण्डेको योगदान’ विषयक संवाद कार्यक्रममा प्रस्तुत मन्तव्यको सम्पादित अंश।)