त्यो दिन, त्यो भीड
पोखरा विमान दुर्घटना हुँदा खूबै चर्चा-परिचर्चा भए पनि एक वर्षपछि फर्केर हेर्दा हवाई सुरक्षाबारे कुनै प्रभावकारी कदम चालेको देखिएन।
सखरखण्ड, तरुल लगायत परिकार पाकेका थिए। केही आफन्तजन घर आउँदै थिए। सदा झैं माघे संक्रान्ति पर्व मनाउने तयारीमा जुटेका थियौं। बिहानको समय परिवारसँग बिताएर दिउँसो ढुंगेसाँघु मेलाको रिपोर्टिङ गर्ने योजना बनाएकी थिएँ।
संक्रान्ति मनाउन आउँदै गरेकी दिदीले बाटोमै जहाज निकै तल आएर एक्कासि आगोको मुस्लो बलेको देखिछन्। दिदी अझै पनि सम्झिन्छिन्, ‘गाडीमा थिएँ। ल, जहाज तल आयो, के भयो भन्दा भन्दै खस्यो।’
त्यो दिन पनि दिदीको फोन आयो। उठाउन नपाउँदै ‘जहाज खस्यो’ भनिन्। काँपिरहेको आवाज सुन्दा के भएको भन्ने प्रस्ट बुझ्नै सकिनँ। पोखरामा ‘जहाज खस्यो’ भन्ने वाक्यलाई मेरो मस्तिष्कले ‘डिकोडिङ’ नै गर्न सकेन। किनिक त्यो हामी सबैका लागि अप्रत्याशित घटना थियो।
सहकर्मीलाई फोन गरें। उनले ‘मैले पनि बुझेको छैन, त्यतै जान लागेको छु’ भन्ने जवाफ दिए। तत्कालै म पनि घरबाट निस्किएँ, पोखरा विमानस्थलछेउकै घारीपाटनस्थित सेती खोंचतिर।
घारीपाटन नजिकिंदै जाँदा सवारीसाधनको भीड थियो। हुलका हुल मान्छे दोड्दै त्यतैतिर कुँदिरहेका थिए। स्कूटर छेउतिर राखेर त्यतै दौडिएँ। त्यो घटनासँगै मान्छेको भीडले पनि वातावरण तनावपूर्ण बनेको थियो।
घाँटीमा ‘प्रेस कार्ड’ झुन्ड्याएर क्यामेरा बोकी नजिक गएँ। केही पत्रकार भर्खर पुगेका थिए भने केही पुग्दै थिए। घटनाबारे कहींकतैबाट पनि ठ्याक्कै उत्तर आइसकेको थिएन। हतासको समय थियो।
यती एअरलाइन्सको एअर ट्राफिक कन्ट्रोलमा फोन गर्दा केही जानकारी मिल्यो। त्यो काठमाडौंबाट पोखरा आउँदै गरेको यतीको एटीआर–७२ विमान रहेको र त्यसमा ७२ जना सवार थिए भन्ने यकीन भयो।
सेतीको खोंचमा खसेको विमानबाट आगोको मुस्लो माथि माथिसम्म फैलिइरहेको थियो। दनदनी जलिरहेको विमानका पाटपुर्जा बल्दा होला, केही पड्किएको जस्तो आवाज आइरहेको थियो।
त्यसैमा मान्छेको भीडले खुट्टा राख्ने ठाउँसम्म थिएन। जसले गर्दा उपचारमा समस्या भइरहेको थियो। प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको थियो। केही युवा र स्थानीय बासिन्दा भीड व्यवस्थापन गर्न सघाइरहेका थिए।
सेती खोंचको पश्चिमतर्फ नयाँ गाउँ र पूर्वतर्फ घारीपाटन छ। यो ठाउँसम्म आइपुग्न थुप्रै मुख्य र सहायक बाटाहरू छन्। तर सबै बाटा साँघुरो छन्।
यस घटनाले पोखरा महानगरका साँघुरो सडकको अवस्थालाई उदांगो बनाइदिएको थियो। आपत्कालीन दुर्घटना हुँदा साँघुरा सडक अवरोधका रूपमा देखा पर्दा रहेछन्।
विमान दुर्घटनास्थलसम्म पुग्न पृथ्वीचोक, पुरानो विमानस्थल हुँदै जानुपर्छ। त्यहाँबाट एउटा बाटो पृथ्वीचोक बसपार्क, घारीपाटन हुँदै सानो पुल (सीताराम पुल)को हो भने अर्को, रामबजार वा बुद्धचोक वा इन्द्रचोक हुँदै घलेचोक, नयाँ गाउँ हुँदै आइपुगिन्छ।
सबै सडक साँघुरा छन्। जसले गर्दा आपत्कालीन रूपमा आवश्यक पानीको फोहोरा फ्याँक्ने दमकललाई घटनास्थल पुग्न समस्या भयो। साँघुरो सडक त छँदै थियो, भीडले झन् बाधा पुर्यायो। त्यससँगै पर्याप्त सुरक्षाकर्मी परिचालन र स्वयंसेवकको पनि अभाव देखिन्थ्यो।
दनदनी जलिरहेको विमानलाई नजिकबाट हेर्न कोही घरका छतमा पुगिरहेका थिए भने कोही पर्खाल चढिरहेका थिए। सबै दौडिइरहेका थिए; दुर्घटनाग्रस्त विमान हेर्न, ज्यान गुमाएका मान्छे हेर्न। तँछाडमछाडमा एकले अर्कालाई धकेलिरहेका थिए, मानौं केही रमाइलो दृश्य छुट्दै छ जसरी।
त्यो देख्दा लाग्यो, संयमता खै! आपत्कालीन अवस्थामा आवश्यक पर्न सक्ने व्यवस्थापन गर्न सक्ने संयन्त्र खै? दुर्घटनास्थलमा गर्नुपर्ने आकस्मिक उद्धारमा मानिसको भीडले झन् ढिलाइ हुँदो रहेछ। त्यो दिन पनि भीडले गर्दा दमकल, प्रहरी, एम्बुलेन्सलाई दुर्घटनास्थलसम्म पुग्न अवरोध सिर्जना गरेको थियो।
दुर्घटनाको तस्वीर त मैले पनि खिचें, जसरी त्यहाँ पुगेका सयौं नागरिकले खिचिरहेका थिए। प्रत्यक्षदर्शीसँग कुराकानी गरें। उनीहरूको अडियो तथा भिडिओ लिएँ।
एक छिन भीडलाई हेरें। अधिकांशको हातमा मोबाइल थियो। सबैले दुर्घटनाको तस्वीर तथा भिडिओ खिचिरहेका थिए। कोही टिकटक लाइभमा थिए त कोही आगोको मुस्लो उडिरहेको विमानलाई पृष्ठभूमिमा राखेर सेल्फी लिइरहेका थिए। यो सबै देख्दा नरमाइलो लाग्यो। संयमता, संवेदना गुमे जस्तो भान भयो। त्यो भयावह दुर्घटनालाई महसूस गर्न सकेको देखिएन, शायद त्यसमा चिनजानको कोही परेका थिएनन्।
म भने भारी मन बनाएर घर फर्किएँ। पत्रकार त्रिभुवन पौडेल दाइलाई गुमाउनुपरेको थियो। पत्यार त लागेको थिएन तैपनि त्यो यथार्थ थियो। त्रिभुवन दाइसँग केही दिनअघि एक कार्यक्रममा भेटेर कुराकानी गरेकी थिएँ। झलझली याद आयो।
सेती खोंचबाट फर्किएर समाचार लेखें। दिनभर के भयो भन्नेबारे अझै स्पष्ट हुन सकेकी थिइनँ। समाचार, रिपोर्टिङको चेत मात्रै थियो मसँग। त्यस बाहेक व्यक्तिगत रूपमा आफ्ना भावलाई शब्दमा, विचारमा समेट्न सकेकी थिइनँ।
आपत्कालीन अवस्थामा यस्ता घटनाले स्तब्धु बनाइदिंदो रहेछ। एक सातासम्म रिपोर्टिङका लागि हरेक दिन दुर्घटनास्थल पुगेको थिएँ। हरेक पटक जाँदा भीड र साँघुरो बाटाले नै सास्ती थपे। हावामा मिसिएर आइरहेको विमान जलेको गन्धले उकुसमुकुस बनाइरह्यो।
एक वर्षपछि फेरि दुर्घटनास्थल सेती खोंच पुगें। यस घटनाबाट पाठ नसिकेको महसूस भयो। आपत्कालीन घटनामा पोखराका साँघुरा सडकको अवस्था, यस्तो अवस्थाका लागि तयार रहनुपर्ने व्यवस्थित संयन्त्रको अभाव यथावत् नै छ। अर्कातिर, सभ्य नागरिकको कर्तव्य (संवेदनशील र संयमित बन्नुपर्ने) निर्वाहका लागि सचेत गराउनुपर्ने आवश्यकता देखियो।
उसै पनि नेपालमा हवाई दुर्घटना अन्य देशको तुलनामा बढी नै हुने गरेका छन्। अझ सडक दुर्घटनाको त कसैलाई वास्ता हुँदैन। पोखरा दुर्घटनाले सिकाएको अर्को पाठ हो- नेपालमा विमानको सुरक्षामा ध्यान दिनुपर्ने सरकारी संयन्त्रबारे पर्याप्त बहस आवश्यक छ। नत्र पोखरा दुर्घटना जस्तै संकटका वेला चर्चा-परिचर्चा हुन्छ, केही समयपछि बिर्सिइन्छ र फेरि नागरिकले उसै गरी ज्यान गुमाउनुपर्छ।
यो पनि पढ्नुहोस् : अझै अशान्त सेती खोंच