राष्ट्रिय सभाका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारको खर्चको सीमा तोकेको छ।
आयोगले आइतबार निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
यसमा मतदाता नामावली खरीद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयोगले जनाएको छ।
उम्मेदवारले खर्च गर्दा ब्यांक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी विवरण समेत निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ।
निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ। यसमा सातै प्रदेशबाट ५१ उम्मेदवार प्रतिस्पर्धामा छन्।