अझै अशान्त सेती खोंच
माघे संक्रान्तिका दिन ७२ जनाको ज्यान जाने गरी यती एअरलाइन्सको विमान दुर्घटना भएको पोखरा, सेती खोंच आसपासका बासिन्दा अझै पनि जहाजको आवाजले झस्किने गरेका छन्।
माघे संक्रान्ति मनाउन पोखरा र आसपासका बासिन्दा घर फर्किंदै थिए। कोही चाहिं पाहुना बन्न पुगेका थिए। पोखराको महतगौडा ढुंगेसाँघुमा सदा झैं माघे संक्रान्ति मेलाको चहलपहल शुरू हुँदै थियो।
२०७९ माघ १ को बिहान काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चालक दलका चार सदस्य सहित ७२ जना बोकेर उडेको यती एअरलाइन्सको एटीआर-७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन पाएन। १५ दिनअघि मात्रै धूमधामसँग उद्घाटन गरिएको विमानस्थल नजिकै आइपुगेको विमान एक्कासि सेती खोंचमा खस्यो।
शहरको मध्यभागमा रहेको सेती खोंचमा विमान जोतिएसँगै ७२ जनाको ज्यान गयो। जसमा ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रूसी, दुई जना कोरियाली, एक-एक जना अर्जेन्टेनी, अस्ट्रेलियाली, आइरिस र फ्रान्सेली नागरिक थिए। ६८ जना यात्रुमा तीन त शिशु थिए भने तीन बालबालिका।
आँखैअघि विमान खसेको देख्दा सेती खोंच क्षेत्रका बासिन्दा अत्तालिए। बालबालिका तर्सिए। वर्ष दिन भयो, जहाजको आवाज सुन्दा अझै झस्किन्छन्। ७२ जनाको सामूहिक चिहान बनेको सेती खोंच आसपासको क्षेत्र अझै पनि शान्त बन्न सकेको छैन।
‘व्यवस्थापकीय र मानवीय त्रुटिले दुर्घटना’
विमान दुर्घटनाको अध्ययन गर्न सरकारले त्यही दिन पूर्व सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा दुर्घटना जाँचबुझ आयोग बनाएको थियो। आयोगले झन्डै एक वर्ष लगाएर पुस १२ मा बुझाएको प्रतिवेदनमा ६ वटा बुँदामा विमान दुर्घटनाका कारण औंल्याएको छ। मुख्यगरी नयाँ विमानस्थलमा रहेको भूभागबारे पर्याप्त अभ्यासको अभाव, मानवीय त्रुटिलाई दुर्घटनाको कारक तत्त्व मानेको छ।
प्रतिवेदनले नयाँ भूभागमा शुरू भएको पोखरा विमानस्थलमा उच्च कार्यभारका कारण चालक दलले विमानको महत्त्वपूर्ण ‘सिग्नल’ लाई बुझ्न नपाएको उल्लेख गरेको छ। जसका कारण अवतरण हुनुअघि नै विमानको ‘प्रोपेलर’ (पंखा) रोकिएको (फेदर्थ- यस अवस्थाले हावाको गतिलाई कम गर्दै लैजान्छ) थियो।
त्यस्तै, मानवीय त्रुटिका कारण कामको तनाव र दबाब हुँदा पंखालाई झार्ने स्थितिमा राख्ने निर्णय गलत हुन पुगेको औंल्याइएको छ। पोखरा विमानस्थलमा विमान अवतरणका लागि विशेषत: दुई वटा धावनमार्ग छन्, ‘रनवे ३-०’ र ‘रनवे १-२’। विज्ञहरूका अनुसार ‘रनवे १-२’ बाट अवतरण गराउन निकट भूभाग र कडा सर्किटको आवश्यक पर्छ।
यही रनवेबाट विमान फन्को मार्ने क्रममा नै दुर्घटना भएको थियो। यसले स्थापित ‘भिज्युअल’ को मापदण्ड पूरा गर्न नसकेको बताएको छ।
यो रनवेबाट अवतरण गराउन आवश्यक मूल्यांकन, प्रमाणीकरण, जोखिमबारे नेपाल नागरिक उड्ययन प्राधिकरण तथा विज्ञहरूले उडान प्रक्रियाबारे प्रतिवेदन बुझाएका थिए। आवश्यक प्रक्रियाको विकास र स्वीकृति नै नगरी ‘रनवे १-२’ को प्रयोग गरिएको छ।
यस्तै, नयाँ विमानस्थलमा ‘रनवे १-२’ को ‘भिज्युअल अप्रोच’ बारे चालक दललाई उचित प्राविधिक तथा सीप लक्ष्यित अभ्यास, सुरक्षित विमान सञ्चालन प्रक्रियाबारे तालीमको अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ। विमानको आवश्यक कार्यसञ्चालन विधिको अनुसरण नगरिनु, चालक दल स्रोत व्यवस्थापन प्रभावकारी नहुनु र ककपिटमा अनुशासनको कमी हुनु पनि विमान दुर्घटनाको कारकका रूपमा उल्लेख छ।
विमान दुर्घटनाको एक वर्ष
नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा मानवीय त्रुटि र व्यवस्थापकीय कौशलको अभावका कारण निम्तिएको पोखरा विमान दुर्घटनाको एक वर्ष पूरा भएको छ। दुर्घटनामा ७२ जना आफन्त गुमाएका परिवार अझै पनि पीडाबाट निस्कन सकेका छैनन्।
यो एक वर्षमा विमान दुर्घटनास्थल पोखराको घारीपाटन सेती खोंच आसपासमा दिवंगत आत्माको शान्तिका लागि थुप्रै शान्तिपूजा गरिएका छन्। ज्यान गुमाएका यात्रुका परिवारका सदस्यदेखि विभिन्न संघसंस्थाका व्यक्तिले शान्तिपूजा गरेका हुन्। यो ठाउँ वरिपरि ब्यानर टाँसेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
टुक्रा टुक्रा भएर छरिएका विमानका अवशेष एकैठाउँमा राखिएका छन्। ज्यान गुमाएका ७२ जनाको सम्झनामा स्मारक पार्क बनाइँदै छ। यो दृश्यलाई नजिकबाट नियालिरहेका स्थानीय बासिन्दा भने अझै त्यो दुर्घटना बिर्सन सकिरहेका छैनन्।
त्यो बिहान स्थानीय रश्मि परियार काखको छोरालाई सुताएर आँगनमा भाडा माझिरहेकी थिइन्। विमान ढल्किएर आएको देख्दादेख्दै के भयो भन्न नपाउँदै झ्वाम्म सेती खोंचमा खसेको देखिन्। आत्तिएर छोरा सम्हाल्न पुगेकी परियारलाई धेरै दिन निद्रा परेन। “आँखा चिम्लिँदा विमान खसेको दृश्य आउँथ्यो, निदाउन सकिनँ,” उनी सम्झिन्छिन्।
रश्मिका छोरा अहिले डेढ वर्षका भए। यो एक वर्षमा बल्लतल्ल सामान्य अवस्थामा आएको उनी सुनाउँछिन्। घर अगाडि नै सेती खोंच हुँदा दुर्घटना बिर्सन सकेकी छैनन्। “मनोपरामर्श गर्न पनि आउनुहुन्थ्यो, अहिले त त्यस्तो हुँदैन तर कहिलेकाहीं जहाजको आवाज आउँदा झस्कन्छु,” परियार भन्छिन्।
परियारको जस्तै अनुभव वरपरका बासिन्दाको पनि छ। स्थानीय जमुना बस्नेत त्यो समयमा आफ्नो छोराको अवस्था सम्झिँदा अझै डराउँछिन्। “छोरो एकोहोरो भएर निदाउन सकेको थिएन,” बस्नेत भन्छिन्, “अहिले पनि हवाईजहाज नजिकबाट जाँदा डराउँछ।”
त्यस वेलाका प्रत्यक्षदर्शी स्थानीय बासिन्दाको अवस्था उस्तै छ। घरछेउमै ७२ जनाको सामूहिक चिहान भएको देखेका उनीहरू अझै अशान्त छन्। स्थानीय गीता सुनारले त्यो दिनको भयावह अवस्था अझै बिर्सेकी छैनन्। त्यति वेलाको जस्तै डर अहिले नलागे पनि असर भने उस्तै छ। “हवाईजहाजको आवाजले अझै पनि झस्काउँछ,” सुनार भन्छिन्।
बन्दै स्मारक पार्क
विमान दुर्घटनापछि घारीपाटनको सेती खोंच क्षेत्रमा मान्छेको चहलपहल बढेको थियो। दुर्घटनास्थल हेर्न आउनेको भीड नै लाग्थ्यो। महीनौंसम्म पनि हेर्न, शान्ति पूजा गर्न आउने गर्थे। अहिले पनि पोखरा पुग्नेहरू सेती खोंच क्षेत्र पुग्ने गरेका छन्।
पोखरा महानगरपालिकासँगै मिलेर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारले पोखरा-७ तर्फको क्षेत्रमा स्मारक पार्क बनाउँदै छन्। पार्क बनाउन परियोजनाको अवधारणा नै अघि बढेको वडाध्यक्ष राममोहन आचार्य बताउँछन्।
स्मारक स्तम्भमा ७२ जनाको नाम कुँदेर राखिंदै छ। माघ १ मै शिलान्यास गरेर स्मारक पार्कमा सेती खोंचलाई जोड्ने पुल, जहाज आकारको स्तम्भ लगायतको सुन्दर पार्क बनाउने योजना रहेको अध्यक्ष आचार्य बताउँछन्।
यो पनि पढ्नुहोस् :