न्यायाधीशपत्नीद्वारा सर्वोच्च अगाडि आत्मदाह प्रयास
निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले सर्वोच्च अदालत अगाडि आत्मदाहको प्रयास गरेकी छन्।
न्यायाधीश गिरी विरुद्ध रावलले वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। त्यसमा अदालतबाट न्याय नपाएको भन्दै उनी आइतबार बिहान सर्वोच्च अदालत पुगेकी हुन्।
सर्वोच्चको मुख्य गेट अगाडि शरीरमा पेट्रोल छर्किन खोज्दा सुरक्षाकर्मीले जोगाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले बताए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले रावललाई प्रहरी वृत्त सिहदरबारमा राखिएको छ।
रावलले मुद्दा हालेपछि गत चैतमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो। हाल उनी निलम्बनमा छन्। गिरी विरुद्धको मुद्दामा जिल्ला अदालत, कपिलवस्तुमा विचाराधीन छ।