बीपी प्रतिष्ठानका कर्मचारी र चिकित्सक आन्दोलित, ओपीडी सेवा बन्द
बढुवा प्रक्रिया शुरू नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
उनीहरूको आन्दोलनका कारण आइतबारदेखि ओपीडी सेवा बन्द भएको छ। उनीहरूले ओपीडीको चाबी अस्पताल प्रशासनलाई बुझाएका छन्। आकस्मिक कक्ष, ल्याब, एक्स-रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
यससँगै उनीहरू निमित्त उपकुलपतिको कार्यकक्ष अगाडि धर्नामा बसेका छन्। माग पूरा नहुन्जेल धर्ना जारी रहने कर्मचारी कल्याण समाजकी कविता ढकालले बताइन्। यसअघि भएका सहमतिबाट प्रतिष्ठान पदाधिकारी पन्छिएपछि आन्दोलनमा उत्रिनुपरेको ढकालले बताइन्।
आन्दोलनरत कर्मचारी, शिक्षक र चिकित्सकका अनुसार चार जना पदाधिकारीमध्ये तीन जना बढुवा प्रक्रियामा सकारात्मक छन्। तर निमित्त उपकुलपति प्रा.डा. प्रह्लाद कार्की सहमत देखिएका छैनन्।
धरानका राजनीतिक दल र स्थानीय सरकारले समस्या समाधानका लागि पहल गरे पनि प्रतिष्ठानका पदाधिकारीले वास्ता नगरेको शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अली खानले बताए। समस्या समाधान नभएपछि संयुक्त आन्दोलन गर्नुपरेको खानको भनाइ छ।
यसअघि पनि उनीहरूले आन्दोलन गरेका थिए। त्यति वेला बढुवा प्रक्रिया अघि बढाउने सहमति भएको थियो। प्रतिष्ठान पदाधिकारीको बेवास्ताका कारण १७७ शिक्षक र एक हजार २०० कर्मचारीको बढुवा प्रक्रिया रोकिएको उनीहरूले बताएका छन्।
आन्दोलनका कारण सेवाग्राही समस्यामा छन्। बिहानैदेखि अस्पताल पुगेका बिरामीले उपचार नपाई फर्किनुपरेको बताएका छन्।