माछा अनुसन्धान गर्न नयाँ परियोजना अघि बढाइने
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले संयुक्त राज्य अमेरिकाको कृषि विभागसँगको सहकार्यमा माछा अनुसन्धानमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ।
नेपालमा माछापालनको प्रचुर सम्भावना रहेकाले परियोजना सञ्चालन गर्न लागिएको नार्कका महानिर्देशक डा. ध्रुवराज भट्टराईले हिमालखबरलाई बताए। नेपालमा पहाडी र उच्च पहाडी भेगका चिसो पानीमा गरिने माछा अनुसन्धानका लागि छुट्टाछुट्टै अनुसन्धान केन्द्रले काम गरिरहेको भए पनि गर्मी स्थानका अनुसन्धान केन्द्रहरूको संख्या बढाउनुपर्ने भट्टराईले बताए। नेपाल माछामा करीब आत्मनिर्भर भए पनि नयाँ जातका माछा तथा प्रविधि विकासका लागि धेरै काम गर्नुपर्ने उनले बताए।
खुमलटारस्थित नार्कमा भएको परियोजना तयारी छलफलमा यूएसडीएका प्रतिनिधि जोना ब्राउन र लुथर्न वर्ल्ड रिलिफका प्रमुख डा. मनजुरुल करिमल लगायतको उपस्थिति थियो। दुवै संस्थाले माछा सम्बन्धी आगामी परियोजनामा सहकार्य गर्ने प्रतिबद्धता गरेको भट्टराईले बताए।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा माछापालनको योगदान १.३३ प्रतिशत छ। माछापालनले करीब ६ लाख मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। देशभर हाल माछाको भुरा उत्पादन गर्ने ९२ वटा ह्याचरी, भुरा हुर्काउने ११९ वटा नर्सरी, सात वटा दाना उद्योग तथा ४५ हजारभन्दा बढी पोखरी सञ्चालनमा छन्।
नेपालमा अझै पनि उन्नत प्रविधि, गुणस्तरीय दाना, स्वस्थ भुरा तथा उत्पादनका लागि आवश्यक सामग्री सहजै उपलब्ध हुन सकेका छैन। माछाको प्रशोधन तथा प्याकेजिङमा पनि चुनौती छ।
“नेपालमा माछाको उत्पादकत्व प्रतिहेक्टर पाँच टन वा सोभन्दा कम छ। त्यो भनेको दक्षिणएशियाका अन्य देशको तुलनामा धेरै कम हो,” माछाविद् माधवबहादुर पन्तले भने, “परम्परागत तरीकाले माछापालन गरिंदा उत्पादकत्व बढ्न नसकेको हो। हामीले प्रविधिको विस्तार गर्ने हो भने उत्पादकत्व बढ्ने मात्रै होइन नेपालको आर्थिक विकासमा नै छलाङ मार्न सक्छौं।”
माछामा ओमेगा ३, फ्याट्टी एसिड अधिक मात्रामा उपलब्ध हुँदा यसलाई स्वस्थकर मानिन्छ। “सामान्य मानिसलाई प्रतिदिन ४५ ग्राम प्रोटिन आवश्यक पर्दछ जसको एकतिहाइ भाग प्राणीजन्य स्रोतबाट प्राप्त हुनुपर्छ,” उनले भने, “यसरी हेर्दा प्रतिवर्ष प्रतिव्यक्ति करीब ५.५ किलो प्रोटिन आवश्यक पर्छ र यसको पूर्तिका लागि माछा प्रोटिनको सस्तो एवं सर्वोत्तम स्रोत हो।”