गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सात दलको अपील
सत्ता साझेदार सात दलले राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपील गरेका छन्।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त प्रेस विज्ञप्ति जारी गरी अपील गरेका हुन्।
उनीहरूले गठबन्धनमा आबद्ध उम्मेदवार सबैका साझा भएको उल्लेख गरेका छन्। ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं,’ अपीलमा अगाडि भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो।’
अपीलमा भनिएको छ, ‘देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्व शर्त भएको स्पष्ट पार्दै लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि गठबन्धन प्रतिबद्ध रहेको र निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौं।’
निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्नेतर्फ सचेत गराउँदै अपीलमा भनिएको छ, ‘यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो । तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ। हामी सम्पूर्ण मतदातालाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन अपील गर्दछौं।’