यूरोप सपनाले सयौं ठक्कर
यूरोप छिर्ने भनेर घरबाट निस्किएका धादिङका बिचारी सापकोटा र उनका तीन जना साथीलाई दलालले काठमाडौंबाट दिल्ली, मुम्बई हुँदै तान्जनिया पुर्यायो भने त्यहाँ कैयौं दिन भोकभोकै बस्नुपर्यो।
धादिङका बिचारी सापकोटा दक्षिण अफ्रिका उड्नका लागि घरबाट निस्किए। लक्ष्य थियो- यूरोप। पुगे- अर्को अफ्रिकी देश तान्जनियाको हिन्द महासागरसँगै जोडिएको शहर दार ए सलाम।
अरबी शब्दावलीको यो नामको अर्थ हुन्छ, शान्तिको कुटी। तर धादिङको नीलकण्ठका बिचारीका लागि दार ए सलामको बसाइँ जीवनकै सबैभन्दा अशान्त बन्न पुग्यो।
यात्रा शुरू हुन्छ, काठमाडौंबाट। बिचारीका भतिजा भुवन सापकोटा काठमाडौंमा डेरा गरी बस्थे। पेशाले पठाओ ‘राइडर’।
२०७९ साउनतिर भुवन मोटरसाइकलमा एक जना यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर हुइँकिए। बाटामा यात्रुसँग कुराकानीका क्रममा चिनापर्ची पनि शुरू भयो। यात्रु रहेछन्- स्याङ्जाको वालिङ नगरपालिका-६ का रामप्रसाद पंगेनी। नेपालीलाई विदेश उडाइदिने उनको काम रहेछ।
कुराकानीका क्रममा रामप्रसादले बुटवलका एक युवकलाई क्रोएशिया पठाउन विमानस्थलसम्म हिंडेको सुनाए। काठमाडौंमा पठाओ चलाएर दिन काटिरहेका भुवन पनि विदेश जान खोजिरहेका थिए।
विमानस्थलमा रामप्रसादलाई ओरालेपछि भुवनले भने, ‘विदेश जान मलाई पनि मन छ। तपाईंलाई मैले छिटै सम्पर्क गर्नेछु।’
धादिङको निलकण्ठ नगरपालिका-१४ स्थित घरमै बसिरहेका बिचारीलाई काठमाडौंबाट भतिजा भुवनको फोन आयो। “अंकल साँच्चिकै विदेश लैजाने मान्छे फेला परेको छ। धेरै जनालाई लगिसक्यो रे! विमानस्थलसम्म आफैं पुर्याउन जाने रहेछ। उता पुगेपछि काम लगाइदिने मान्छे पनि ऊसँग रहेछन्। क्रोएशियाका लागि एप्लाई गरौं,” भुवनले एकै सासमा सुनाए।
काका-भतिजाबीच लामो समय चलेको फोन संवादबाट विदेश जाने नै निष्कर्ष निस्कियो। विदेश जाने हुटहुटी भएका छिमेकी अनिप शाह र काठमाडौंमै बसेर स्नातक तहमा अध्ययनरत अर्का भतिजा रूपक सापकोटा पनि तयार भए।
नीलकण्ठका बिचारी, अनिप, भुवन र रूपक ‘जसरी भए पनि यूरोप छिर्ने’ लक्ष्य लिएर २०७९ मंसीर २३ मा एजेन्ट रामप्रसादलाई भेट्न काठमाडौंको सोह्रखुट्टेस्थित जीएम गोस मेनेजमेन्ट कन्सल्टेन्सीमा पुगे। रामप्रसादले क्रोएशियाका लागि अहिले नमिल्ने बरु दक्षिण अफ्रिका हुँदै यूरोप छिर्ने योजना सुनाएको बिचारी बताउँछन्।
“दक्षिण अफ्रिकामा हाम्रा एजेन्टहरू छन्। त्यहाँबाट मोरक्को हुँदै यूरोप जान सकिन्छ। तपाईंहरू चाहनुहुन्छ भने ब्राजिल हुँदै अमेरिका पनि पुर्याउन सक्छु,” रामप्रसादको भनाइ उद्धृत गर्दै बिचारी भन्छन्, “दक्षिण अफ्रिकासम्म सात लाख रुपैयाँ लाग्छ, त्यहाँबाट यूरोप वा अमेरिका जान पैसा थप्नुपर्छ। जहाँ भन्नुहुन्छ, त्यहीं पुर्याइदिन्छौं।”
उनीहरूलाई रामप्रसादले ‘सेटिङ’ को भिसा भएको सुनाएका थिए। उनको भनाइ थियो, ‘जोखिम लिने काम मेरो भयो, पैसा र जाने काम तपाईंको भयो।’
शुरूमै पैसा तिर्नुपर्ने भएपछि उनीहरू केही अलमलमा परे। यूरोपको सपना देखिसकेका थिए। त्यसैले समाधान निकाले; नेपाली कागजमा केही शर्त सहित वकील राखेर करारनामा गर्ने र पैसा तिर्ने।
करारनामाको पहिलो पक्ष (एजेन्ट रामप्रसाद)ले १६ डिसेम्बर २०२२ बाट लागू हुने गरी एक महीनाभित्र दोस्रो पक्ष (चारै युवा)लाई दक्षिण अफ्रिकाको राजधानी केप टाउनमा पुर्याएर रोजगारी दिलाउनुपर्ने, मासिक आठ हजार साउथ अफ्रिकी र्यान्ड (करीब ५७ हजार रुपैयाँ)को तलब सुनिश्चित गरिदिनुपर्ने, तत्काल रोजगारी नपाए खानेबस्ने सबै व्यवस्था मिलाउनुपर्ने जस्ता आठ बुँदामा सहमति गरिएको थियो।
त्यसपछि चारै जनाले रामप्रसादलाई पैसा दिएको बिचारी बताउँछन्। ‘दुवै पक्षले हस्ताक्षर गरेपछि अब विदेश जान पाइने भइयो भन्ने लाग्यो,” उनी भन्छन्, “तत्काल एक जनाको सात लाख रुपैयाँका दरले २८ लाख रुपैयाँ बुझायौं।”
त्यसको भोलिपल्ट नै रामप्रसादले दक्षिण अफ्रिका लैजाने भनी काठमाडौंबाट दिल्ली उडाएको अर्का युवा रूपक बताउँछन्। पाँच दिन दिल्लीको गेस्ट हाउसमा राखेपछि मुम्बई पुर्याइयो। मुम्बईको डोर्मेटरी (होस्टेल)मा १२ दिन राखेको रूपक बताउँछन्। “पकेट मनी पनि लैजानु पर्दैन भनेको थियो। त्यसैले केही लगेका थिएनौं,” उनी मुम्बई बसाइ सम्झिन्छन्, “डोर्मेटरीमा बिहानबेलुका खाना मात्रै खुवाएर राख्यो, दिउँसो खाजा पनि दिएन।”
धेरै दिनसम्म मुम्बईमा बसाएपछि उनीहरूले दबाब दिए। अन्ततः रामप्रसादले दुई-दुई जना गरी दुई पटक उडाइदिने भए तर दक्षिण अफ्रिकातिर नभई तान्जनियातिर। “अन्योलमा थियौं। पैसा लगिसकेको थियो, विदेश जानैपर्ने भयो,” बिचारी भन्छन्, “तान्जनियामा रहेको एजेन्टले सजिलै केप टाउन पुर्याइदिने भनेर विश्वास दिलाएपछि तयार भयौं। अरू उपाय पनि त देखेनौं।”
४१ वर्षका बिचारीले २०५४ सालमा एसएलसी दिएपछि पढ्न छाडेका थिए। गाउँमै लामो समय स्थानीय राजनीतिमा संलग्न भए। लामो समय यूएईमा बसेर आएका उनी खाडी क्षेत्र छोडेर यूरोपतिरै जाने सोचमा थिए। उनका तीन भाइ स्पेन पुगिसकेका थिए। उनीहरूले पनि बल गरिरहेका थिए, “दाइ, जसरी भए पनि यूरोप छिर्नुस्, यहाँ सेट गर्ने जिम्मा हाम्रो।”
३३ वर्षीय अनिपले पनि वैदेशिक रोजगारीको विकल्प देखेका थिएनन्। काठमाडौंका सानातिना जागीरले दैनिकी चलाउन पुगिरहेको थिएन। त्यसैले अनिप र बिचारी तान्जनिया हुँदै भए पनि उड्न तयार भए।
घरबाट निस्किएको १७ दिनपछि तान्जनियाको दार ए सलामतिर उड्नका लागि मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल छिर्दै गर्दा दुवै गाउँले साथीभाइको मनमा आशा र डर दुवै थियो। “के हुने हो भन्ने डर थियो। तर लामो समय मुम्बईको डोर्मेटरीमा निराशाजनक बसाइँपछि विमानस्थलसम्म पुगेका थियौं,” बिचारी त्यो क्षण सम्झिन्छन्, “यूरोप पुगिन्छ भन्ने आशा पनि उत्तिकै थियो।”
समुद्री तटमा रहेको भव्य शहर दार ए सलाममा ओर्लिन नपाउँदै बिचारी र अनिपको मनमा अनिश्चितता छाइसकेको थियो। मुम्बईबाट उड्ने वेलामा एजेन्टले ‘भिसा’ हातमा थमाइदिंदै भनेको थियो, “विमानभित्र पुगेपछि यसलाई कतै फालिदिनू। उता इमिग्रेशनमा देख्यो भने छोेपेर जेल हाल्न सक्छन्।”
त्यसैले विमानबाट झर्ने वेलामा बिचारी र अनिपको हातमा राहदानी र टिकट बाहेक केही थिएन।
इमिग्रेशन नपुग्दै केही एजेन्ट भेटिए। बिचारीका अनुसार उनीहरू तान्जनियाकै नागरिक थिए। “सीसीटीभी छलेर हामी दुवैलाई उनीहरूले सुटुक्क कुनातिर लगे। २५० डलर मागेर तीन महीना म्याद रहेको भिसा हातमा थमाइदिए,” बिचारी भन्छन्।
त्यति वेलासम्म तान्जनियामा ‘भिसा अन अराइभल’ पाउने राष्ट्रमध्ये नेपाल पनि एक हो भन्ने बिचारी र अनिपलाई थाहा थिएन। ‘ब्ल्याक’ मा पाएको भिसाको आधारमा इमिग्रेशन छल्दै विमानस्थलबाट होटेलमा पुगे।
दार ए सलामको बसाइ एकदम अप्ठ्यारो भएको बिचारी सुनाउँछन्। डरैडरमा दिन बित्यो। त्यहाँ नेपाली एजेन्ट कोही थिएन। साथमा लगेको पैसाले भिसा किनेका थिए। अरू पैसा थिएन।
बिहान र साँझ खानका लागि दक्षिण अफ्रिकामा रहेका रामप्रसादका नेपाली एजेन्टले वेस्ट्रन युनियन मार्फत पैसा पठाउँथे। “तिनलाई दिल्लीबाट रामप्रसादले पैसा पठाइदिंदो रहेछ। एक दिनका लागि १० हजार तान्जानियन शिलिङ (करीब ५०० रुपैयाँ) खानका लागि र उत्ति नै बस्नका लागि पाउँथ्यौं,” तान्जनियाको दैनिकी सुनाउँछन्।
तान्जनिया बसुन्जेल दुःख पाएको बिचारी बताउँछन्। शुरूमा नेपाली नभेटेको र त्यहाँका एजेन्टले नेपाली वा अंग्रेजी भाषा नबुझ्ने भएकाले समस्या भएको उनी सुनाउँछन्।
पैसा सकिएको दुई-तीन दिनपछि मात्रै अर्को किस्ता आउँथ्यो। “त्यो बीचमा पानी समेत पिउन पाएनौं। खाना खान पाएनौं। भोकभोकै बस्नुपर्यो,” उनी सम्झिन्छन्, “तान्जनियाबाट दक्षिण अफ्रिका जानुपर्ने थियो। यता दिन प्रतिदिन भिसाको म्याद सकिइरहेको थियो। यूरोप अब निकै टाढा जस्तो लाग्न थालेको थियो। त्यसमाथि हामीलाई पटक पटक इमिग्रेशनले पनि छोप्यो। हामी भ्रमणका लागि मात्रै आएको भनेर सफाइ दियौं।”
तान्जनिया पुगेपछि किलिमन्जरो भन्ने ज्वालामुखीको पहाडबारे थाहा पाएका उनीहरू त्यसकै नाम लिएर पक्राउ पर्नेबाट जोगिए। हिमाली क्षेत्रबाट किलिमन्जरो हेर्न आएको भनेर इमिग्रेशनलाई ढाँटेको उनी बताउँछन्। विमानस्थलमा पाएको तीन महीनाको भिसा पनि देखाएपछि जोगिएको सुनाउँदै उनी भन्छन्, “अनिश्चितता, डर, भोकले तान्जनियामा निकै अप्ठ्यारो लाग्यो।”
एजेन्ट रामप्रसादले भने अझै पनि यूरोप वा अमेरिका पठाइदिन्छु भनेर आश्वासन दिइरहेका थिए। मलेशियाको नक्कली राहदानी बनाएर पठाइदिने र तान्जनियाबाट भिसा विनै यूरोप छिर्न पाइने उनको भनाइ थियो। रामप्रसादले ‘मोरक्को हुँदै स्पेन र पोर्चुगलको घाँटी हुँदै यूरोपतिर छिर्नुहोस् अथवा अमेरिका जाने भए ब्राजिलको एउटा सेटिङ भिसा लाग्छ, त्यहाँबाट निकारागुवा-पानामाको घाँटीबाट मेक्सिको हुँदै हिंडेर जानुस्’ भनेर फकाइरहेका थिए। “मेरो आशा अझै पनि यूरोपतिरै थियो। आफन्तहरू स्पेनमा रहेकाले त्यतै जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो,” बिचारी भन्छन्।
बिचारीको मनमा रहेको यूरोप सपना त्यति वेला मेटियो, जति वेला उनले १० जना नेपालीलाई दार ए सलामकै एक होटलमा बसिरहेको भेटे। उनका अनुसार त्यहाँ पुगेको एक महीनापछि भेटेका ती नेपालीको अवस्था झनै पीडादायी थियो। ‘ब्ल्याक’ मा किनेको भिसाको म्याद सकिएको थियो। म्याद थप्न भनेर स्थानीय एजेन्टहरूले राहदानी पनि लगिसकेका थिए। अजेन्टलाई बुझाउने पैसा नहुँदा राहदानी फिर्ता पाएका थिएनन्।
इमिग्रेशनले जुनसुकै वेला पक्राउ गरेर जेल हाल्न सक्थ्यो। पैसा नबुझाए एजेन्टहरूले नै इमिग्रेशनलाई पोल लगाइदिनसक्थे। हातमा राहदानी नभएपछि होटल बाहिर निस्कन पनि सकिरहेका थिएनन्।
त्यसरी बस्नेहरूमा दाङतिरका पाँच जना थिए। “उनीहरूले खान पनि पाएका थिएनन्। निकै पीडामा देखिन्थे,” बिचारी सुनाउँछन्, “हामीले बरु दुई-तीन दिन बिराएर केही पैसा पाइरहेका थियौं। त्यसैबाट केही पैसा ती भाइहरूलाई पनि दियौं, केही खाऊन् भनेर।”
दार ए सलाममा बेवारिस भएका नेपालीलाई पनि बिचारी र अनिपलाई जस्तै यूरोप र अमेरिकाको सपना देखाएर लगिएको थियो। “हामीलाई पठाउने दलाल र उनीहरूलाई पठाउने दलाल फरक थिए,” बिचारी भन्छन्, “तर शैली चाहिं उही।”
दार ए सलाममा १० नेपालीको अवस्था देखेपछि बिचारी झसंग भएँ। अब जसरी भए पनि नेपाल फर्किनुपर्छ भन्ने सोचेको बताउँछन्। होटलको दुई महीना लामो बसाइपछि उनी आफैं टिकट काटेर दिल्ली फर्किए। “अनिप भने मसँग फर्किन मानेनन्। अब यूरोप जान पाइएला भन्ने आशा त थिएन तर सात लाख रुपैयाँ खर्च भइसकेकाले रित्तै हात नेपाल फर्कन उनको मनले मानिरहेको थिएन,” बिचारी भन्छन्, “म एक्लै फर्किएको केही दिनपछि उनी पनि फर्किए।”
नयाँ दिल्ली फर्किएपछि बिचारी सीधै एजेन्ट रामप्रसादकहाँ पुगे। उनी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिक महिपालपुरमा फ्ल्याटमा बस्थे। यसअघि मुम्बईबाट उड्न नपाएका रूपक र भुवनलाई पनि अजेन्टले दुई महीनादेखि फ्ल्याटमै राखेका थिए।
उनीहरूलाई ‘अब सर्बियातिर उडाइदिन्छु, पैसा थप’ भनिरहेका थिए। तान्जनियाबाट फर्किएपछि भने रामप्रसादले कतै पठाउँदैन भन्ने यकीन भइसकेको बिचारी सुनाउँछन्। त्यसपछि सम्झौता अनुसार पैसा फिर्ता माग्ने भनेर चारै जना नेपाल फर्किए।
यूरोपको सपना बोकेर घरबाट हिंडेको करीब तीन महीनापछि रित्तो हात फेरि घर फर्किएका यी चार युवाको अब एउटै ध्येय छ- जसरी हुन्छ फसेको पैसा फिर्ता लिने। त्यसका लागि उनीहरूले गएको चैतमा नै काठमाडौं महानगरीय प्रहरी वृत्तमा मौखिक उजुरी सहित एजेन्ट रामप्रसादलाई उपस्थित गराएका थिए।
तत्काल पैसा फिर्ता गर्ने कबूलपछि उनलाई छाडियो। उति वेलै एजेन्टले ६-६ लाख रुपैयाँको चार वटा चेक काटेर हातमा थमाइदिए। वैशाख १५ गतेको मिति राखेर एजेन्टले काटेको चेक साट्न व्यग्र प्रतीक्षामा रहेका उनीहरूलाई ब्यांंकले खातामा पैसा छैन भनेर निराश पारिदियो। “एक महीनामा पैसा पाऔंला भनेर चूप लागेर बस्यौं। रामप्रसाद त भारततिर भागिसकेको रहेछ,” बिचारी भन्छन्।
वैदेशिक रोजगारीको असफल यात्रा सकिएको अहिले एक वर्ष पुग्दै छ।
रामप्रसादसँग दोहोरो नागरिकता
धादिङका चार युवालाई दक्षिण अफ्रिका लैजाने भनेर पैसा असुल गरेका रामप्रसादसँग नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको छ। हिमालखबरलाई प्राप्त कागजात अनुसार उनको नेपाली नागरिकता २०६७ असोज ५ गते जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट जारी भएको देखिन्छ। २०७७ मंसीर ३ गते उनले नागरिकताको दोस्रो प्रतिलिपि लिएका छन्। मतदाता नामावलीको विवरण र नागरिकतामा उल्लेख भएका विवरण मिलेका छन्।
उनले भारतको राहदानी बोक्ने गरेको पनि खुलेको छ। पश्चिम बंगालको दार्जीलिङ ठेगाना राखी ३१ जनवरी २०१९ मा टी १५४१२४७ नम्बरको राहदानी लिएका छन्। नेपाली नागरिकता र भारतीय राहदानीमा बुबाआमाको नामथर भने फरक फरक उल्लेख गरेका छन्।
भारतीय राहदानीबाट उनी ब्राजिल, मलेशिया र दक्षिण अफ्रिका पुगेको देखिन्छ। यी सबै देशमा उनी भ्रमण भिसामा गएका हुन्। त्यसमध्ये ब्राजिल र मलेशिया ‘मल्टिपल-इन्ट्री’ भिसा मार्फत गएका हुन्। अर्थात् तोकिएको समयमा उनी धेरै पटक ब्राजिल र मलेशिया छिर्न पाउँछन्। दक्षिण अफ्रिका भने उनी सिंगल-इन्ट्री भिसामा ३० दिनका लागि गएका हुन्।
नागरिकता अनुसार स्याङ्जाको वालिङ नगरपालिका-६ स्थायी ठेगाना भएका रामप्रसादमाथि यसअघि पनि क्रोएशिया लैजाने भनी पैसा असूल गरेको आरोप लागेको छ। उनले २०७६ साउन २६ गते स्याङ्जाको वालिङ र भिरकोटका १० जना युवासँग डेढ लाखको दरले पैसा लिएको र नक्कली भिसा थमाएर सम्पर्कविहीन भएको भिरकोट नगरपालिका-५ का प्रेमप्रसाद अधिकारी बताउँछन्।
प्रेमप्रसादका अनुसार वालिङ-९ का कृष्ण श्रेष्ठ, मनोजकुमार श्रेष्ठ र मिलन एसके, वालिङ-१४ का सनम श्रेष्ठ, विजय श्रेष्ठ (क), विजय श्रेष्ठ (ख), दीपेन्द्र श्रेष्ठ, अर्जुन एसके, रोशन श्रेष्ठ र अमित श्रेष्ठबाट पैसा लिएर रामप्रसाद फरार भएका हुन्। “पैसा लिएपछि नक्कली भिसाको कागज हातमा दिए। दुई-तीन पटकसम्म दिल्लीसम्म लगे। तर हामीलाई होटलमा बस्न भनेर दूतावास नै पुर्याएनन्,” प्रेमप्रसाद भन्छन्, “क्रोएशियाको दूतावासलाई हामीले भिसाबारे इमेल गरेपछि बल्ल रामप्रसादले दिएको भिसा नक्कली रहेछ भन्ने थाहा भयो।”