ताइवानमा नयाँ राष्ट्रपति चुनिएपछि बेइजिङको विज्ञप्ति- ‘पुनः एकीकरणमा बाधा पुग्दैन’
ताइवानको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक प्रोगेसिभ पार्टी (डीपीपी)का उम्मेदवार विलियम लाईले विजय हासिल गरेका छन्।
योसँगै ताइवानमा सत्तारूढ स्वतन्त्रतावादी दल डीपीपीले राष्ट्रपतीय निर्वाचनमा लगातार तेस्रो कार्यकाल विजय हासिल गरेको छ। डीपीपीका लाईले कुओमिन्ताङ पार्टीका होउ यू-ईह र ताइपेई (ताइवानको राजधानी)का मेयर तथा ताइवान पिपल्स पार्टीका खो वेन-चेलाई पराजित गरेका हुन्। लाई हाल ताइवानका उपराष्ट्रपति हुन्।
शनिबार सम्पन्न मतगणना अनुसार त्यहाँको केन्द्रीय निर्वाचन आयोगले लाईले ४०.१ प्रतिशत मत पाएको जानकारी दिएको छ। दोस्रो भएका उम्मेदवार होउले ३३.५ प्रतिशत मत पाएका छन्।
“हाम्रो लोकतन्त्रमा नयाँ अध्याय लेखेकोमा म ताइवानी जनतालाई धन्यवाद भन्न चाहन्छु,” लाईले विजयपछिको भाषणमा भने, “हामी अन्तर्राष्ट्रिय समुदायलाई भन्दछौं कि लोकतन्त्र र अधिनायकवादमध्ये हामी लोकतन्त्रको पक्षमा उभिन्छौं।”
तर लाई निर्वाचित हुँदा चीनले असन्तुष्टि पोखेको छ। शनिबार मतपरिणाम सार्वजनिक भए लगत्तै चीनले डीपीपीले मूलधारको जनमतलाई प्रतिनिधित्व नगर्ने भन्दै यसले बेइजिङको ‘अपरिहार्य पुनः एकीकरण’ मा बाधा नपुग्ने बताएको छ।
निर्वाचनअघि नै चीनले लाईलाई खतरनाक पृथक्तावादी भन्दै उनी निर्वाचित भएमा त्यस क्षेत्रको शान्तिमा खलल पुग्ने बताएको थियो। र चीनले यस निर्वाचन शान्ति र युद्धमध्ये एकको छनोट भएको बताएको थियो।
“ताइवान चीनको ताइवान हो,” बेइजिङका ताइवान मामिला कार्यालयका प्रवक्ता छेन पिनहुआले एक विज्ञप्ति मार्फत भने। राष्ट्रिय पुनः एकीकरणबारे दृढ रहेको र आफूहरूको अडान चट्टान झैं अचल रहेको पनि उनले बताएका छन्।
“ताइवानको स्वतन्त्रता लक्ष्यित पृथक्तावादी गतिविधि र विदेशी हस्तक्षेपको चीन दृढतापूर्वक विरोध गर्दछ,” उनले थप भनेका छन्।
उता, लाईले भने चीनलाई शान्ति र स्थिरताका लागि आह्वान गरेका छन्। सञ्चारकर्मीसँग बोल्दै उनले ‘चीन-ताइवान सम्बन्धलाई व्यवस्थित गर्ने’- चीनबाट स्वतन्त्रता पनि नखोज्ने र चीनसँग एकीकृत पनि नहुने र ‘चीनका खतराहरूबाट ताइवानलाई जोगाउने’ बताए।
१९४० को दशकदेखि स्वशासित टापु ताइवानलाई चीनले आफ्नो बताउँदै आएको छ। सम्भावित द्वन्द्वको भय सिर्जना गर्ने गरी केही महीनायता चीनले ताइवान वरपर आफ्नो सैन्य उपस्थिति बढाएको छ।
- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा