तीन वटा दुर्घटनामा बालबालिका सहित १९ जनाले ज्यान गुमाए
देशका विभिन्न भागमा भएका तीन वटा छुट्टाछुट्टै दुर्घटनामा बालबालिका सहित १९ जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएका छन्।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस गएराति दाङको भालुवाङस्थित राप्ती नदीमा खसेको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए।
दुर्घटनामा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, हेटौंडाका ३० वर्षीय सौरभ विष्ट, जुम्लाको चन्दननाथका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमको गोतामकोटका २५ वर्षीय दीपक डाँगी, भारतको पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम, काठमाडौंको चन्द्रागिरीका ६५ वर्षीय ताराकान्त पाण्डे र भारतको उत्तरप्रदेशका ३१ वर्षीय मुनेको मृत्यु भएको छ। चार जनाको सनाखत हुन सकेको छैन।
दुर्घटनामा २३ जना घाइते भएका छन्। उनीहरूको अनुहार, हात र ढाडमा चोट लागेको छ। सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। घोराही, बुटवल र नेपालगन्जमा उनीहरूको उपचार भइरहेको छ।
त्यस्तै, शनिबार दिउँसो काठमाडौंबाट मकवानपुरको चित्लाङतर्फ जाँदै गरेको प्र ३-०१-२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छिन्। काठमाडौंको चन्द्रागिरि नगरपालिका-४, पानीघाट नजिक हिमचुली सेतोपहरामा भएको दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो।
दुर्घटनामा घाइते भएकी ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले बताए।
दुर्घटनामा काठमाडौंको मैतीदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौंको लाजिम्पाटका डा. महेशकुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको घटनास्थलमै ज्यान गएको थियो।
दुर्घटनामा डा. सृष्टि तिवारी गौतम घाइते भएकी छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ। उपचारका क्रममा ज्यान गएका प्रियान्स उनका छोरा हुन्।
यसैगरी, शनिबार बिहान बाग्लुुङको ढोरपाटन नगरपालिका-५, अस्तुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते छन्। जीप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्ती मगर र काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ की २८ वर्षीया संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए।
दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।
अन्य ६ जना सामान्य घाइते छन्। बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार भइरहेको छ।