माओवादीको विधान सम्मेलन फागुनमा
नेकपा (माओवादी केन्द्र)ले आउँदो फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। विधान सम्मेलनका लागि प्रतिनिधि छनोटको मापदण्ड पनि तय भएको सापकोटाले बताए।
त्यस्तै, माओवादीले विभिन्न पार्टीसँग एकता गर्न समिति पनि गठन गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एकता संयोजन समिति गठन गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
स्थायी समिति बैठकमा माओवादीले यसअघि सञ्चालन गरेको विशेष अभियानबारे समीक्षा गरिएको छ। सबै प्रदेश इन्चार्जले बुझाएको रिपोर्टका आधारमा अध्यक्ष दाहालले जानकारी दिएका थिए। यस अभियानले पार्टीलाई गतिशील बनाएको दाहालको निष्कर्ष थियो।
यसबारे विस्तृत समीक्षा स्थायी समितिको अर्को बैठकमा हुने प्रवक्ता सापकोटाले बताए। माओवादी स्थायी समितिको अर्को बैठक माघ २६ गते बस्ने भएको छ।