एक वर्षमा ८६ लाख ९१ हजारले गरे हवाई यात्रा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८६ लाख ९१ हजार ४४३ जनाले हवाई यात्रा गरेका छन्।
विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई यात्रा गर्नेको संख्या बढेको हो। सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले हवाई यात्रा गरेका थिए। कुल यात्रु आवागमन (आन्तरिक र अन्तर्राष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।
कोभिड-१९ अघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ जना र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ जनाले हवाई यात्रा गरेका थिए।
विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ जनाले हवाई यात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले बढी हो।
यो संख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा ४.५ प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी हो। कोभिड–१९ भन्दा अघिको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको उनले बताए।
सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान अवतरण ३१ हजार ४६० पटक भएको छ। जुन गत वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो।
आन्तरिकतर्फ हवाई यात्रा गर्नेको संख्या ४१ लाख ५० हजार ३२६ पुगेको छ। जुन गत वर्षको तुलनामा ७.०७ प्रतिशत कम हो।
त्यस्तै, गत वर्ष आन्तरिकतर्फ ९६ हजार ९८९ उडान अवतरण भएका छन्। उडान पनि गत वर्षको तुलनामा १०.८७ प्रतिशतले घटेको छ। आन्तरिकतर्फ कार्गो आगमन गत वर्ष १०.३६ प्रतिशतले वृद्धि भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एअरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्। त्यस्तै, अन्तर्राष्ट्रियमा तीन नेपाली सहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा उडान गरिरहेका छन्।
नेपालले ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ। पछिल्लो पटक गत मंसीर १९ गते नेपाल र रुवान्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो। -रासस