राष्ट्रिय सभाका ५१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।
निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो। सात वटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
राष्ट्रिय सभा निर्वाचनका लागि आठ राजनीतिक दलका ५१ उम्मेदवार प्रतिस्पर्धामा छन्। कोशी प्रदेशमा पाँच, मधेशमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उम्मेदवार छन्।
कर्णाली सुदूरपश्चिम प्रदेशमा ६-६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ आठ र अन्य समूहतर्फ २० जना उम्मेदवार छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गरिएको थियो। आउँदो माघ ११ गते राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि निर्वाचन हुनेछ।