अनिलको विस्फोटक ब्याटिङमा मधेशको सहज जित
प्रारम्भिक ब्याटर अनिल साहले विस्फोटक ब्याटिङ गरेपछि मधेश प्रदेशले पहिलो खेलमा सहज जित हासिल गरेको छ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको हो। कोशीले दिएको १२८ रनको लक्ष्य मधेशले तीन विकेट गुमाएर २०.१ ओभरमै पूरा गरेको हो।
मधेशका लागि प्रारम्भिक ब्याटर अनिल साहले ५४ बलमा ८८ रन प्रहार गरे। उनले १४ चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै, हरिशंकर साहले २४, निरज यादवले नौ, पवन सर्राफले दुई र मयन यादवले एक रन बनाए। कोशीका लागि सोनु मण्डलले दुई र सुजन थपलियाले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। कोशीका लागि फिर्दोस अन्सारीले ४१ र अंकित सुवेदीले ४० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
मधेशका लागि सबै बलरले कसिलो बलिङ गरे। प्रदीप पासवानले तीन, राजेश यादव, रञ्जित कुमार र पवन सर्राफले दुई–दुई तथा विशाल पटेलले एक विकेट लिए।
एकदिवसीय राष्ट्रिय प्रतियोगिता शनिबारदेखि नै शुरू भएको हो। प्रतियोगितामा सातै वटै प्रदेश र तीन वटा विभागीय गरी १० टोली सहभागी छन्।