‘हामी त सिद्धिने भयौं’
प्रकृतिपूजकका रूपमा रहेको कुमाल समुदायका अगुवा सरकारी लापरवाहीका कारण आफ्नो समुदाय नै अस्तित्वको संकटमा पुगेको गुनासो गर्छन्।
माघे संक्रान्तिका लागि चितवनको गोलघाटमा तयारी चलिरहेको छ। देशभरका कुमाल समुदायका मानिस सहभागी हुने भएकाले झन् रौनक छाएको छ। तर तेजबहादुर कुमाल (विशाल) त्यति खुशी छैनन्।
समुदायकै पहिचान मेटिने हो कि भन्ने चिन्तामा छन्। “हामी त सिद्धिने भयौं,” तेजबहादुर गुनासो गर्छन्, “हाम्रा बारे बोल्दिने कोही पनि छैन।”
सरकारकै कारण आफ्नो समुदाय पहिचानविहीन अवस्थामा पुगेको उनी सुनाउँछन्। “कुमाललाई तराईमा मधेशीमा राखेको छ, पश्चिम पहाडमा दलितमा राखेको छ,” तेजबहादुर भन्छन्, “यताउता तान्दातान्दै सकिने भयौं।”
परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएको जातिमा कुमाल पनि पर्छ। नेपाल सरकारले आदिवासी जनजातिमा समेटेको ५९ जातिमध्ये एक हो- कुमाल। यस समुदायलाई सीमान्तीकृत समुदायको सूचीमा पनि राखिएको छ।
२०७८ सालको जनगणना अनुसार देशका ७० जिल्लामा बसोबास गर्दै आएको कुमाल समुदायको जनसंख्या एक लाख २९ हजार ७०२ छ। तथ्यांक अनुसार नवलपरासी, दाङ, चितवन, कास्की, गोरखा, पाल्पा, धादिङ, तनहुँ लगायत जिल्लामा कुमाल समुदायको बसोबास बाक्लो छ।
पश्चिम क्षेत्रमा कुमाल जातिलाई दलितमा राख्ने गरिएको छ। तराई-मधेशमा कुमाललाई मधेशीमा राखिएको छ। त्यस्तै, आदिवासी जनजातिको सूचीमा पनि यो समुदाय छ।
मधेशी आयोगको चौथो वार्षिक प्रतिवेदनको थर सूचीकरणको विवरणमा कुमाल जातको थर समावेश गरिएको छ। मधेशी समुदायको सूचीकरणबाट हटाउनुपर्ने उनीहरूको माग छ। कुमाल समाजका अध्यक्ष समेत रहेका तेजबहादुर भन्छन्, “राज्यबाट पछाडि परेको समुदायले पाउनुपर्ने सेवासुविधा पनि पाएका छैनौं।”
यस समुदायको प्रमुख पेशा माटाको भाँडा बनाउनु हो। यसका साथै माछा मार्ने, खेतीपाती गर्ने पुर्ख्यौली पेशामै पर्छ। विशेषत: मधेश र टार, जहाँ माटाको भाँडा बनाउन उपयुक्त माटो पाइन्छ, त्यहीं बस्दै आएका छन्। “अहिले न पुर्ख्यौली पेशाले जीवन चल्छ न त नयाँ पेशा व्यवसाय गर्न सकेका छौं,” राजन कुमाल भन्छन्।
उनी कुमाल समुदायको पहिचान र अधिकारका लागि बोल्ने वेला आएको सुनाउँछन्। त्यसैले यो माघे संक्रान्तिमा देशभरका कुमाललाई एकै थलोमा भेला गराउन लागिएको उनी बताउँछन्। माघे संक्रान्ति बृहत् राष्ट्रिय कार्यक्रम-२०८० नाम दिएर कुमाल समुदायलाई एकजुट गराउन खोजिएको छ। यसका संयोजक समेत रहेका राजन तीनै तहका सरकारलाई कुमाल समुदायका समस्याप्रति पनि उत्तरदायी बनाउन एकजुट हुन लागेको बताउँछन्।
माघ १ मा भरतपुर महानगरपालिका-२८ स्थित गोलाघाटमा भेला आयोजना गरिएको छ। अरू समुदायको पर्वलाई राज्यले सम्बोधन गरे पनि कुमाल समुदायको यस पर्वलाई वास्ता नगरेको कुमाल समाजका अध्यक्ष तेजबहादुर गुनासो गर्छन्। “कुमाल समुदायको राष्ट्रिय पर्वका रूपमा माघे संक्रान्तिलाई नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्यो,” उनी भन्छन्।
प्रकृतिपूजक कुमाल जातिको यस पर्वसँग प्राकृतिक महत्त्व र विशेषता पनि जोडिएको छ। अन्नबाली भित्र्याएपछि पुसमा पकाएर माघमा खाने चलन यस वर्षसँग जोडिन्छ। यस दिनलाई कुमाल समुदायले नयाँ वर्षको शुरूआतका रूपमा पनि मनाउने गरेको छ।
त्यस्तै, पितृपूजा पनि हुने गरेको तेजबहादुर सुनाउँछन्। “यो दिन गंगा (नदी)मा गरिने स्नानलाई महास्नान भनिन्छ। स्नान गरेर पितृलाई सम्झी पूजा गरिन्छ,” उनी भन्छन्, “पितृको नाममा पानी दिने, कुखुराको बलि दिएर रगतमा मुछेको चामलको टीका लगाइदिने परम्परा छ।”
यस दिन कुटुम्बलाई कुखुरा, सुँगुरको मासु, माछा, सेल, खुदौरो, फुरौला, घ्यूचाकु, भातको जाँड लगायत परिकारले सत्कार गर्ने चलन छ। “कुमाल समुदायका लागि दशैंतिहारभन्दा पनि ठूलो पर्व माघे संक्रान्ति हो,” अध्यक्ष तेजबहादुर भन्छन्।
यस अवसरमा देशभरका कुमाल समुदायका अगुवा गोलघाटमा भेला हुन लागेका छन्। यसमा करीब ६ हजार जना सहभागी हुने उनी बताउँछन्। कुमाल जातिको मौलिक संस्कार, संस्कृति र पर्वको प्रवर्द्धनसँगै मौलिक घर, खानाका परिकार, वेशभूषा, सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिने भएको छ।