भालुवाङ दुर्घटना : सबैजसो घाइतेको अनुहारमा चोट
दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएका सबैजसो यात्रुको अनुहारमा चोट लागेको छ।
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति १०:३० बजे राप्ती नदीमा खसेको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
दाङको भालुवाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै, अस्पताल लैजाँदै गर्दा तीन जनाको र उपचारका क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।
दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये नौ जनाको सनाखत भएको छ। बाँकेकी कुसुम बस्नेत, हेटौंडाका सौरभ विष्ट, जुम्लाको चन्दननाथका मुनबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुमको गोतामकोटका दीपक डाँगी, भारतका योगेन्द्र राम, काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे र भारतको उत्तरप्रदेशका मुनेको ज्यान गएको हो। तीन जनाको सनाखत हुन बाँकी छ।
त्यस्तै, दुर्घटनामा काठमाडौंको कालिमाटीकी ३८ वर्षीया मञ्जु शर्मा, बाँकेका २० वर्षीय निरञ्जन कोरी, नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, काठमाडौंका सन्जु बरुवाल, बाँकेका २० वर्षीय महमोद जाबेद, कालीकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगर, भारतकी २० वर्षीया छोटी सिलौरा, बर्दियाका २२ वर्षीय राजीव थारू, जुम्लाका १९ वर्षीय विशाल बोहरा र बाँकेकी १९ वर्षीया नफिच खान घाइते भएका छन्।
यसैगरी, बाँकेका दशरथ विक, डोल्पाकी ३५ वर्षीया धनकली बुढा मगर, काठमाडौंकी ११ वर्षीया आध्या पाण्डे, बाँकेको राप्ती सोनारीका ३१ वर्षीय कुलबहादुर गोसाईं, काठमाडौंका ४५ वर्षीय सुभाष शाक्य, बाँकेको नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शंकर थारू, भारतका २३ वर्षीया राहुलकुमार अहिर, रौतहटका २६ वर्षीया सञ्जय कार्की र काठमाडौंकी ४५ वर्षीया राधा पाण्डे घाइते भएका छन्।
दाङ, बुटवल नेपालगन्जमा उपचार गराइरहेका घाइतेमध्ये ११ जनालाई बढी चोट लागेको छ भने १२ जनाको अवस्था सामान्य छ। सबैजसो घाइतेको अनुहारमा चोट लागेको छ। केहीका हातखुट्टा पनि भाँचिएका छन्। केहीको ढाडमा पनि चोट लागेको प्रहरीले जनाएको छ।