काठमाडौं आउँदै गरेको बस दुर्घटना, १२ जनाको मृत्यु
बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
गएराति यात्रुबाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खसेको हो। सात जनाको घटनास्थलमै, चार जनाको उपचारका लागि लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।
दुर्घटनामा बाँकेकी कुसुम बस्नेत, हेटौंडाका सौरभ विष्ट, जुम्लाको चन्दननाथका मुनबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुमको गोतामकोटका दीपक डाँगी, भारतका योगेन्द्र राम, काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे र भारतको उत्तरप्रदेशका मुनेको मृत्यु भएको छ।
दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते २२ जनामध्ये नौ जनाको नेपालगन्जमा, सात जनाको बुटवलमा र ६ जनाको भालुवाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।
बस दुर्घटना भएको खबर पाउने बित्तिकै सशस्त्र प्रहरी उपरीक्षक गोपालप्रसाद श्रेष्ठको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोली खटिएको थियो। सशस्त्र प्रहरीको टोलीले नै घाइतेको उद्धार गरेको हो।
नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस गएराति १०ः३० बजे राप्ती नदीमा खसेको हो। प्रहरीले बस चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ।