राष्ट्रपतिसँग तीन दलका शीर्ष नेताको भेट
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधानका लागि प्रमुख तीन दलका शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका हुन्।
भेटामा राष्ट्रपति पौडेलले लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न तीनै जना नेताको ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
पोखरेलका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक दलहरूले आफूहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानून पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न सुझाएका छन्।