देश रहेन, व्यथा रहिरह्यो
देशको दशा र जनताको दुर्दशा देखाइएको उपन्यास माई क्याट युगोस्लाभियामा यस्ता मानिसहरूको कथा कहिएको छ, जसका व्यथाहरू अमर त भए तर देश रहेन।
फिनल्यान्डका लेखक पज्टिम स्तातोभ्सीले एक अन्तर्वार्तामा भनेका थिए, ‘आफ्नो जीवनभर कुनै एउटा मात्रै किताब पढ्नुपर्यो भने म रूसी लेखक मिखाइल बुल्गाकोभको उपन्यास द मास्टर एन्ड मार्गरिटा पढ्छु। त्यो उपन्यास हरेक पटक पढ्दा नयाँ र फरक गहिराइ भेट्ने गर्छु।’
यो उपन्यासबाटै प्रभावित भएर हुनुपर्छ, उनले पनि आफ्नो पहिलो उपन्यास माई क्याट युगोस्लाभियामा बिरालालाई पात्र बनाएका छन्, जो मान्छे जस्तै बोल्न सक्छ। त्यो बिरालालाई हाम्रो जस्तै प्रकृति र प्रवृत्ति दिएका छन्। त्यसले किताबमा यस्तो जादुमयी तत्त्व थपेको छ, जसले बेग्लै संसार निर्माण गरेको छ।
बिरालाले ‘मलाई अब बिरालो हुनु छैन। म बिरालो भएर थाकिसकें’ भनिरहँदा लाग्छ, लेखकले पहिचानलाई नै अस्तित्वको संज्ञा दिएका छन्। जसको किनारमा उपन्यासको मुख्य पात्र बेकिम निराश भएर उभिइरहेका छन्। माई क्याट युगोस्लाभिया त्यस्तै पात्रहरूको कथा हो जसले समाज र देशमा आफ्नो उपस्थितिको अस्तित्व मात्रै होइन, आत्मसम्मान, अस्मिता, लैंगिक पहिचान, समानता र स्वतन्त्रता खोजिरहेका छन्।
हररात ग्रोसरी स्टोरमा अबेरसम्म गर्नुपर्ने कामले आजित पज्टिमले एक पटक घोत्लिंदै आफैंलाई प्रश्न गरेका थिए, ‘म अहिलेसम्म कसको प्रतीक्षा गरिरहेको छु?’ त्यसको लगभग १८ महीनापछि माई क्याट युगोस्लाभियाको पहिलो ड्राफ्ट तयार पारेका थिए। त्यति वेला उनी २१ वर्षका थिए। उपन्यास प्रकाशित हुँदा भने २४ वर्षमा टेके।
एउटा स्थानमा जन्मिएर अर्को ठाउँमा हुर्किंदा, पढ्दा, फरक परिवेश, विस्थापन र आप्रवासी अनुभव, बहुसांस्कृतिक तथा भाषाको ज्ञान, साहित्यको गहिरो अध्ययनबाट डोरिएर लेखक बन्ने सपना बुनेका थिए। उनी युगोस्लाभियामा युद्ध शुरू हुनुभन्दा एक वर्षअघि जन्मिएका थिए। गृहयुद्धका कारण सानै उमेरमा मातृभूमि छाडेर फिनल्यान्डमा आप्रवासी जीवन बाँच्न बाध्य भए। झन्डै २१ वर्ष चलेको गृहयुद्धमा एक लाख ३० हजार नागरिकले ज्यान गुमाएका थिए।
इतिहासलाई पहिल्याउँदै जाँदा २०औं शताब्दीको पहिलो दशकबाट नै यूरोपका ठूला राष्ट्रबीच कूटनीतिक तनाव शुरू हुन थालेको देखिन्छ। जसका कारण २८ जून १९१४ मा बोस्नियाको विद्यार्थी संगठनका एक क्रान्तिकारी सदस्यले अस्ट्रिया-हंगेरीका राजकुमारलाई गोली हानी हत्या गर्छन्।
त्यो संगठन बोस्नियालाई अस्ट्रिया-हंगेरीको पराधीनताबाट स्वतन्त्र बनाएर दक्षिण स्लाभिक जनतालाई संगठित बनाई छुट्टै युगोस्लाभिया राष्ट्र बनाउन चाहन्थ्यो। त्यस घटनालाई पछ्याउँदै विश्वयुद्ध शुरू भयो। प्रथम विश्वयुद्धले नै युगोस्लाभियालाई जन्माएको भन्दा फरक पर्दैन।
युगोस्लाभिया यस्तो देश हो, जुन अहिले विश्वको मानचित्रमा भेटिँदैन। केवल ७४ वर्षको आयु लिएर आएको उक्त देश अहिले सात विभिन्न राष्ट्रमा विभाजित छ। युगोस्लाभियाको नक्शामा क्रोशिया, स्लोभेनिया, मेसेडोनिया, बोस्निया तथा हर्जगोभिना, मोन्टेनिग्रो, सर्भिया र कोसोभो छन्। माई क्याट युगोस्लाभिया त्यही समयको कथा हो, जति वेला देशभित्र युद्धको आगो सल्किरहेको थियो, देश विघटनको सँघारमा थियो।
माई क्याट युगोस्लाभिया उपन्यास लेखक पज्टिमको जीवनभन्दा धेरै टाढा छैन। उनले उपन्यास मार्फत् आप्रवासी र सीमान्तीकृत समुदायका वेदना पोखेका छन्। उनीहरूको संघर्ष देखाएका छन्।
उपन्यास दुई फरक समयरेखामा विभाजित छ। एक, जहाँ समलिंगी पहिचान भिरेका बेकिम फिनल्यान्डको एक विश्वविद्यालयमा अध्ययनरत छन्। उनी आफ्नो जागीरबाट बेखुश छन्। आफ्नो भविष्यबारे केही ज्ञात छैन। निराश छन्।
परिवारबाट टाढिएर एक्लै बसिरहेका उनी कसैले परिचय माग्दा फरक फरक तरीकाले चिनाउँछन्। आप्रवासी हो भन्ने थाहा पाएर केहीले त उनको मुखमा थुक्दै भन्छन्, ‘आफ्नो अनुहारबाट थुक पुछिस् भने तँ मर्छस्, शरणार्थी!’
यसरी कसैको देशमा परचक्री भएर बाँच्दाको अनुभव र पीडा उनी कसैलाई सुनाउन सक्दैनन्। एकलासे जीवनमा साथका लागि एउटा सर्प किनेर ल्याउँछन् र पाल्छन्। किताबमा कता कता त्यो सर्पले पात्रको आचरण र अवस्थाको बयान गरेको छ। सर्पलाई आप्रवासीको बिम्बका रूपमा पनि देखाइएको छ, जो कसैको पराधीनमा दबिएर बस्न बाध्य छ। त्यसले ‘फिनिश’ हरूको नजरबाट पूरै ‘युगोस्लाभिया’ लाई चित्रण गर्ने कोशिश गरेको छ।
एक रात बेकिमको भेट बिरालासँग हुन्छ, जो पछि गएर उनैको अपार्टमेन्टमा बस्न थाल्छ, ‘लिभिङ टुगेदर’ का रूपमा। बिस्तारै बिस्तारै बिरालाले उनीमाथि आफ्नो अधिकार जमाउन थाल्छ। पटक पटक बिरालोबाट अपमानित हुनुपर्छ। बिरालाले गर्ने व्यवहार र स्वभावका कारण शरणार्थीको दृष्टिबाट बिरालालाई फिनल्यान्डको प्रतिबिम्बका रूपमा देखाइएको छ।
बेकिम सानो हुँदा बिरालो र सर्प सपनामा आएर तर्साइरहन्थे। शायद त्यही भएर पनि हुनुपर्छ, उनले आफूभित्र रहेको भयको दैत्यलाई परास्त गर्न दुवैलाई आफूसँगै राख्छन्। एक दिन तिनै बिरालो र सर्पको आपसमा झगडा पर्छ। बिरालाले उनलाई छाडेर आफ्नो बाटो लाग्छ।
बेकिमको एक्लोपनमा कहिलेकाहीं पाठकले आफैंलाई पनि पाउँछन्। नयाँ सम्बन्धले पनि उनले बोकेका घाउका खतलाई राम्रोसँग मेटाउन सक्दैनन्। आफूलाई मात्रै खोजिरहेका छैनन्। उनी आफैंबाट पलायन हुन चाहिरहेका छन्। कता कता उनलाई आफ्नै परिवारसँगका तीता स्मृतिहरूले निर्देशित गरिरहेको भान हुन जान्छ।
पीडा बिर्सिन अथवा सामना गर्न एक दिन सर्प मारेर उनी आफ्नो देश फर्किन्छन्, जसले नयाँ नाम पाइसकेको हुन्छ। त्यहाँ आफ्नो हजुरबुबालाई भेटेर सर्प दिन्छन्, जसले प्रतीकात्मक अर्थ बोकेको छ।
दोस्रो, यो समयरेखा सन् १९८० बाट शुरू हुन्छ, जति वेला युगोस्लाभियामा आन्तरिक तनाव उत्कर्षमा पुगेको थियो। त्यही वर्ष युगोस्लाभियाका लीडर जोसिप टिटोको मृत्यु भएको थियो। उनको देहान्तपछि पूर्वी यूरोपमा साम्यवादको पतन र जातीय तनाव बढ्दै जान थाल्यो। अन्तरजातीय युद्धहरूको शृंखला शुरू भयो।
यसरी एउटा देश विघटन हुन पुग्यो, जसको परिणामस्वरूप राष्ट्रिय सिमाना फेरि खिचिए। थुप्रैले आफ्नो ज्यान गुमाए। कैयौं विस्थापित हुन पुगे। धेरै बेरोजगार भए।
यस समयरेखाले एमिनेको कथालाई देखाउँछ, जो यस्तो संकुचित र अन्धकार समाजमा हुर्किएकी छिन्, जहाँ विवाहको पहिलो रात दुलहीले आफ्ना दुलहालाई कुनै पाल्तु जनावर दिनुपर्छ। दुलाहाले दुलहीको सन्मुख त्यो जनावरलाई मारेर आफ्नो पुरुषत्व देखाउनुपर्छ। यस्तो डर देखाउनुपर्छ, जसमा बाँधिएर उसकी दुलहीले उसलाई आजीवन पुज्नुपर्छ।
एमिनेले अहिलेसम्म कुनै पनि मुस्लिम महिला राजनीतिज्ञ, शिक्षक वा वकील भएको सुनेकी छैनन्। उनी महत्त्वाकांक्षी छिन् तर उनको समाजमा महिलालाई सपना देख्न वर्जित छ। उनी यस्तो समयकी पात्र हुन्, जति वेला महिलालाई कुनै पनि पुरुषको अघि हाँस्न मात्रै होइन मुस्कुराउन पनि अनुचित मानिन्थ्यो।
सानै उमेरमा उनको विवाह हुन्छ। विवाहकै दिन आफ्ना पतिबाट बलात्कृत हुन्छिन्। कुमारीत्वको प्रमाण दिन उनले आफ्नो हात काटेर रगत तन्नामा लगाउँछिन्, पतिले थाहा नपाउने गरेर। पतिबाट लगातार दमन खप्न बाध्य हुन्छिन्। यस विरुद्ध बोल्न सक्दिनन्।
सन्तान जन्मिन्छ। युद्धले परिवारलाई देशबाट विस्थापित गरिदिन्छ। शरणार्थी जीवन उनीहरूका लागि झन् कष्टकर हुन्छ। उनको देखाएको संयम र सहनशीलताले वेलावेला पाठकलाई निमोठ्छ।
माई क्याट युगोस्लाभिया आमा र छोरा दुई जनाको दृष्टिकोणबाट देखाइएको कहानी हो। उनीहरू फरक फरक स्थानमा रहे पनि व्यथा एउटै हो। यसरी दुई समयरेखामा बाँचिरहेका दुई शरणार्थी पात्रले आफ्नो देश मात्रै खोजिरहेका छैनन्, छोरा बेकिम पनि चिनारी खोजिरहेका छन्। आमा एमिने परिवारभित्रै स्वतन्त्रता खोजिरहेकी छन्। यो खोजको कथा हो।
समाजले पारित गरेको नियमले कसरी मान्छेको विचार र धारणालाई ध्वस्त पारिदिन्छ? किन पुरुषले आफ्नो अहम्ताको प्रदर्शन गरिरहन्छ? विवशताले कसरी मान्छेलाई अपराधतिर धकेल्छ? विस्थापनले मान्छे र देशलाई कस्तो असर पार्छ? लेखकले यी प्रश्नको जवाफ माई क्याट युगोस्लाभिया मार्फत दिएका छन्।
तथ्यांक हेर्ने हो भने अहिलेसम्म विश्वभर एक खर्ब १४ अर्बभन्दा बढी मानिस विस्थापित भइसकेका छन्। अहिले पनि विभिन्न ठाउँमा शरणार्थीलाई कुनै अर्कै ग्रहबाट आएका फरक प्रजातिका रूपमा हेर्ने गरिन्छ। धर्ती नहुनेहरूको आकाश पनि नहुँदो रहेछ। गृहयुद्ध उत्कर्षमा पुगेको वेला मात्रै युगोस्लाभियाबाट लगभग २० लाखभन्दा बढी मानिस विस्थापन भएका थिए। जीवित भएकाहरू अहिले पनि त्यो आघातको पीडासँग लडिरहेका छन्। माई क्याट युगोस्लाभियालाई इतिहासको एउटा दस्तावेज भन्दा फरक पर्दैन।
लेखन भनेको कथालाई जोड्ने बलियो धागो हो। माई क्याट युगोस्लाभियाको लेखाइ मीठो छ। कथाभरि ‘लिरिकल’ वाक्यहरू छरिएका छन्।
पुस्तक पढ्न शुरू गर्दा लागेको थियो- यो बिरालोको कथा हो। तर यो यस्तो देशको कथा हो, जो अहिले इतिहास बनिसकेको छ। यो युद्धको पृष्ठभूमिमा लेखिएको कथा हो, जसले आफू र समाजभित्र चिहाउन बाध्य पार्छ। यो किताब देश-समाजमा विद्यमान अन्धविश्वासी मूल्यमान्यता, भेदभाव, पुरुषत्वको अहम्ता विरूद्धको आवाज बनेको छ। आफ्नो चिनारी र अस्तित्वका लागि लड्न बल दिएको छ।
लेखक पज्टिमले आफ्नो ‘डेब्यू’ उपन्यास मार्फत देशको दशा र जनताको दुर्दशा देखाएका छन्। यस्ता मानिसहरूको कथा कहेका छन्, जसका व्यथाहरू अमर त भए तर देश रहेन।