नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी चयन
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन्।
कैलालीको टीकापुरमा जारी उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा शुक्रबार निर्वाचन कार्यक्रम थियो। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको हो। यसअघि उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन्।
यसअघि पार्टीको संरक्षक रहेका चौधरी २०७४ सालमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। टीकापुर घटनामा दोषी ठहर भएपछि २०७९ सालको चुनावमा भाग लिन पाएका थिएनन्। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि उनी राजनीतिमा फर्किएका हुन्।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सहमहासचिवमा रामलाल डगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
यस्तै, सचिवमा तुलसीप्रसाद चौधरी, ललित ताम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेत चयन भएका छन्। सहसचिवमा पुष्पलता रेग्मी, करिश्मा कठरिया, अहमद हुनेस मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू निर्विरोध भएका छन्।
अब उपाध्यक्ष र महासचिव पदका लागि निर्वाचन हुनेछ। सात वटा उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जना उम्मेदवार छन्।