आर्थिक मन्दीको चर्चाबीच तथ्यांकले देखायो- पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि
अर्थतन्त्र गहिरो मन्दीमा रहेको व्यवसायीले बताइरहेका वेला राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक विस्तार भइरहेको तथ्यांक सार्वजनिक गरेको छ।
कुल गार्हस्थ्य उत्पादनको तथ्यांक निकाल्ने आधिकारिक निकाय राष्ट्रिय तथ्यांक कार्यालयले यस आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको उल्लेख गरेको छ। यो गत वर्षको यही अवधिको आर्थिक क्रियाकलापसँग गरिएको तुलना हो। अर्थात्, गत वर्षको पहिलो त्रैमासका तुलनामा यस वर्षको पहिलो त्रैमास (साउन-असोज)मा आर्थिक क्रियाकलाप बढेको छ। यो मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांक हो।
व्यवसायीले भने अर्थतन्त्र मन्दीमा गएको बताउँदै आएका छन्। उद्योगी व्यवसायीको संस्था नेपाल उद्योग परिसंघले गत साता सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिएको थियो।
परिसंघको सर्वेक्षण अनुसार औद्योगिक उत्पादनको समग्र बजार माग गत वर्षको पहिलो त्रैमासका तुलनामा यस वर्षको पहिलो त्रैमासमा १२.०६ प्रतिशत बिन्दुले घटेको छ। परिसंघले उद्योगीसँगको सर्वेक्षणमा आधारित यस्तो निष्कर्ष निकालेको थियो।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक क्रियाकलापको तथ्यांक, उत्पादन, लगानी, उपभोग र बचत केलाउने अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तमा आधारित रहेर कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गर्ने तथ्यांकलाई नै देशको अर्थतन्त्रको आधिकारिक तथ्यांक मानिन्छ।
तथ्यांक कार्यालयका अनुसार खानी र खनिजको क्षेत्र, निर्माण, होटल व्यवसाय, वित्त र बीमा क्षेत्र, प्रशासन र सहयोगी क्षेत्र आदिमा उल्लेख्य सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासका तुलनामा यस वर्षको पहिलो त्रैमासमा खानी र खनिज १५.८ प्रतिशतले बढेको छ। निर्माण ११.४ प्रतिशतले बढेको छ। वित्त र बीमा १३.२ प्रतिशत र प्रशासन ८.८ प्रतिशतले बढेको छ।
यद्यपि पहिलो त्रैमासमा व्यापारमा गिरावट आएको छ। गत वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा थोक तथा खुद्रा व्यापार र मोटर/मोटरसाइकल मर्मतसम्भारको क्षेत्रमा १.२ प्रतिशतले गिरावट आएको देखिएको छ। आयातको वृद्धिदर सुस्त हुनुले पनि व्यापारको क्षेत्रमा गिरावट आएको तथ्य देखाउँछ।
तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र एक प्रतिशतले संकुचित भएको थियो। त्यसयता अर्थतन्त्रको वृद्धिदर मध्यम गतिमा छ। २०७९/८० को तेस्रो र चौथो त्रैमासमा अर्थतन्त्र क्रमशः २.४ र ४.३ प्रतिशतले बढेको थियो। सामान्यतया अर्थतन्त्र लगातार दुई त्रैमास संकुचित भएमा आर्थिक मन्दी भएको मान्ने अभ्यास छ।
तथ्यांक कार्यालयले मौसमी प्रभाव समावेश गरिएको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक पनि प्रकाशित गर्छ। अर्थतन्त्रमा मौसम अनुसार उत्पादन र कारोबार फरक फरक पर्ने भएकाले त्यसलाई समेत मापन गरिन्छ। उदाहरणका लागि प्रमुख कृषि बाली धान आर्थिक वर्षको दोस्रो त्रैमासमा फल्छ। यसलाई चार वटै त्रैमासमा समायोजन गर्दा आँकडाले अर्को स्थिति देखाउँछ।
यस अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन-असोज)मा गत आर्थिक वर्षको अन्तिम त्रैमास (वैशाख-असार)का तुलनामा अर्थतन्त्र संकुचित भएको छ। गत आर्थिक वर्षको अन्तिम त्रैमासमा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धि २.५ प्रतिशतले बढेकोमा यस वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन १.४ प्रतिशतले घटेको छ। गत वैशाख-असारका तुलनामा साउन-असोजमा विद्युत्, ग्यास, खानी र खनिज, व्यापार, यातायात र भण्डार जस्ता क्षेत्र घटेका छन्।
नेपालमा आर्थिक वर्षको अन्तिम त्रैमासमा बढी आर्थिक क्रियाकलाप हुन्छ। खासगरी, सरकारी खर्च धेरै हुने कारणले यो त्रैमासमा अरू त्रैमासका तुलनामा बढी आर्थिक क्रियाकलाप हुन्छ। यो त्रैमाससँग तुलना गर्दा पहिलो त्रैमासमा वृद्धिदर न्यून हुनु वा संकुचित भएको देखिनु स्वाभाविक भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरी भण्डारीले बताए। “वैशाख-असारका तुलनामा आर्थिक क्रियाकलाप साउन-असोजमा थोरै हुन्छ,” भण्डारीले भने।
यसअघिका वर्षमा पनि पहिलो त्रैमासमा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर न्यून वा संकुचित हुने गरेको देखिन्छ। गत वर्षको पहिलो त्रैमासमा पनि मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर ०.९ प्रतिशतले संकुचित भएको थियो।