पृथ्वीनारायण शाहबारे हिमालका १२ सामग्री
पृथ्वीजयन्ती मनाइरहँदा फेरि एक पटक पृथ्वीनारायण शाहबारे बहस-विमर्श भइरहेका छन्। जसरी जहाँसुकैका ऐतिहासिक पात्रबारे भिन्दाभिन्दै मत हुने गर्छन्, त्यसैगरी पृथ्वीनारायण शाहबारे पनि नेपाली बौद्धिक समुदाय एकैखाले धारणा राख्दैन।
कसैका लागि उनी नेपाल राज्यको पुनः एकीकरण गर्ने सम्माननीय व्यक्तित्व हुन् भने कसैका लागि गोर्खाली साम्राज्यका विस्तारवादी खलनायक। जुनसुकै कोणबाट हेरे पनि उनी ऐतिहासिक यथार्थ भने पक्कै हुन्।
आज जुन सरहदको नेपाल राज्य निर्माण भएको छ, त्यसको शुरूआत उनीबाटै भएको हो। त्यसैले वर्तमान राज्यको भूगोल मात्र नभई राजनीतिक, आर्थिक र सामाजिक चरित्रको जग उनैले हालेका हुन्। यसर्थ उनी सधैंभरि पठनीय पात्र हुन्।
पृथ्वीनारायण शाहबारे विभिन्न कोणबाट लेखिएका लेख, रचना, टिप्पणी र उनीसँग सम्बन्धित विभिन्न प्रसंगका रिपोर्ताज हिमालले वेलाबखत प्रकाशन गरेको छ। तीमध्ये हामीले छनोट गरेका १२ सामग्री यहाँ समेटिएको छ।
१) यस्ता थिए पृथ्वीनारायण : ज्ञानमणि नेपाल
नयराज पन्तको पाठशालाबाट दीक्षित इतिहासकार ज्ञानमणि नेपालले यस लेखमा पृथ्वीनारायण शाहको व्यक्तित्व र पौरखको वर्णन गर्दै उनीमाथि लगाइएका आरोप खण्डन गर्ने प्रयत्न गरेका छन्।
२) कुन हो पृथ्वीनारायण शाहको असली आकृति? : अनिता भेटवाल
यसो रिपोर्ताजमा हिमालकर्मी अनिता भेटवालले पृथ्वीनारायण शाहकै पालामा बनेका मूर्ति र तस्वीरको सन्दर्भ लिंदै कसरी समयक्रममा उनको छविको पुनर्निर्माण गरियो भन्ने व्याख्या गरेकी छन्।
३) के थियो पृथ्वीनारायण शाहको नेपाल एकीकरण रणनीति? : डा. सुरेन्द्रसिंह रावल
नेपाली सेनाका पूर्व सहायक रथी डा. सुरेन्द्रसिंह रावलले यस लेखमा पृथ्वीनारायण शाहको सैन्य अभियानको सफलताका कारण केलाएका छन्। उनको तर्क छ- पृथ्वीनारायण शाहद्वारा सञ्चालित सैनिक अभियानको सबैभन्दा उल्लेखनीय पक्ष राष्ट्रिय शक्तिका चार साधनहरू कूटनीति, सूचना, सैनिक र आर्थिक पाटोको समन्वयकारी तथा प्रभावकारी परिचालन थियो।
४) पृथ्वीनारायण शाहले यसरी गरे भक्तपुरमा हमला : गरुडनारायण गोंगल
१८२६ मंसीर १ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले भक्तपुरमाथि हमला गर्दाका प्रत्यक्षदर्शी गरुडनारायण गोंगलले लेखेको यो वर्णन जगदम्बा प्रकाशनले पुस्तकाकारमा प्रकाशन गरेको छ। त्यही पुस्तकको उद्धृत अंश हो यो लेख जसले तत्कालीन युद्धको झलक प्रस्तुत गर्छ।
५) पृथ्वीनारायणले किन फेरे गोत्र? : राजकुमार दिक्पाल
यो लेखमा लेखक राजकुमार दिक्पालले कट्टर हिन्दू राजा पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गर्दा अन्य राज्यका सहगोत्री शासकलाई मारकाट गर्नुपर्ने र यस्तो गर्न धर्मले लगाएको प्रतिबन्ध छल्न भारद्वाजबाट काश्यप गोत्र धारण गरेको विषयको चर्चा गरेका छन्।
६) पृथ्वीनारायणले लिम्बूहरूलाई दिएका लालमोहर : अर्जुनबाबु माबुहाङ
यस लेखमा अर्जुनबाबु माबुहाङले पृथ्वीनारायण शाहले काठमाडौं पूर्व राज्य विस्तार गर्दा त्यहाँका लिम्बूहरूलाई दिएका लालमोहरहरू उल्लेख गर्दै किरात र शाह राज्यबीचको सम्बन्धको इतिहास उत्खनन गर्ने प्रयास गरेका छन्।
७) ‘एकीकरणपछि लिम्बूहरूलाई फकाउन गोर्खाली भारदारले मीत लगाए’ : लक्ष्मण लावती
यस लेखमा लक्ष्मण लावतीले अरुणपूर्व भेटिएका दुई वटा ऐतिहासिक सामग्रीको सन्दर्भ लिंदै त्यस क्षेत्रमा पृथ्वीनारायणको राज्य विस्तारको इतिहास उधिनेका छन्।
८) ‘पृथ्वीनारायण शाह बाहेक कुनै राजनीतिज्ञले पनि इतिहासमा अभिरुचि देखाएको थाहा छैन’ : नयराज पन्त
संशोधन-मण्डलका संस्थापक नयराज पन्तले लिच्छवि संवत्को निर्णय ग्रन्थका लागि २०४३ सालको मदन पुरस्कार पाएपछि पुरस्कार ग्रहण समारोहमा दिएको मन्तव्य हो यो। नेपालमा इतिहासप्रतिको अभिरुचिको विगत र वर्तमान कोट्याउँदै पन्तले यस्तो तर्क गरेका छन्- श्री ५ पृथ्वीनारायण शाह बाहेक हाम्रो देशका राजनीतिज्ञहरूमा अरू कसैले इतिहासमा अभिरुचि देखाएको हामीलाई थाहा छैन। अहिले आएर हामीहरूमा इतिहासप्रति जुन अनुरक्ति देखिएको छ, यो पश्चिमा विद्वान्हरूको संसर्गबाट नै आएको हो भन्ने कुरामा केही सन्देह छैन।
९) के पृथ्वीनारायण शाह इसाईप्रति द्वेष राख्थे? : सुजित मैनाली
इतिहासकार महेशराज पन्तको पुस्तक नेपाली इतिहासको परिवेशः केही ऐतिहासिक र मसीजीवीको समीक्षा हो यो। मैनालीले यस समीक्षामा संशोधन-मण्डलको इतिहास लेखन परम्पराको प्रवृत्ति उजागर गर्दै पृथ्वीनारायणबारे केही थप तथ्य राखेका छन्।
उनी लेख्छन्- हिन्दू धर्मप्रति गहिरो आस्था राखेकै कारण पृथ्वीनारायणको विजय अभियान हिन्दू पुनरुत्थानको प्रेरणाबाट प्रभावित थियो भन्ने निष्कर्ष निकाल्नु चाहिं हतारो हुन्छ। बरु पृथ्वीनारायणका समकालीन सेन राजाहरू आफूलाई हिन्दूपति भनी चिनाउँदा गौरव महसूस गर्थे।
१०) कीर्तिपुरेको नाक काट्न तामाङहरूको प्रयोग! : राजकुमार दिक्पाल
पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नुअघि तामाङहरूको बसोबास भएको कान्तिपुर अधीनस्थ नुवाकोट र तिमाल क्षेत्र विजय गरेका थिए। पछि, १८२२ चैतमा कीर्तिपुर जितेपछि त्यहाँका नेवारको नाक र ओठ काट्न तामाङहरूलाई प्रयोग गरिएको लिखतबारे परेको यस लेखमा राजकुमार दिक्पालले उल्लेख गरेका छन्।
११) पृथ्वीनारायण शाहले नै रोपेका थिए दरबारमा कलहको बीउ : वसन्त महर्जन
पृथ्वीनारायण शाहको निधनपछि नेपाली दरबारमा राजखलक र भारदारहरूबीच फूट आयो। पृथ्वीनारायणका भाइ र कान्छा छोरा देशनिकाला भए। पछि फर्किएका बहादुर शाहको पनि रहस्यमय मृत्यु भयो। त्यहाँबाट शुरू भएको कलह कोतपर्वसम्म पुग्यो। महर्जनले यस लेखमा कलहको त्यो बीज पृथ्वीनारायण शाहले रोपेको जिकिर गरेका छन्।
१२) पृथ्वीनारायण शाहको दानवीकरण गर्नेहरूको नाममा : शिवप्रसाद तिवारी
यस टिप्पणीमा लेखक शिवप्रसाद तिवारीले पृथ्वीनारायण शाहको विपक्षमा गरिने आलोचनाको खण्डन गर्ने प्रयास गरेका छन्। उनको तर्क छ- पृथ्वीनारायण शाहको एकतर्फी विरोधले हामीलाई कहीं पुर्याउँदैन। बदल्न नसक्ने इतिहासका घटनाक्रमबारे झगडा गरेर बस्नुभन्दा इतिहासमा भएका गल्तीकमजोरी सुधार्न सोच, बोली र व्यवहार परिवर्तन गरेर अगाडि बढ्नु जस्तो रचनात्मक र सकारात्मक विकल्प केही हुन सक्तैन।