‘प्रतिजैविक प्रतिरोध रोकथामका लागि नियमित खोप महत्त्वपूर्ण’
प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबायल रेसिस्टेन्स)को अवस्था रोकथामका लागि नियमित खोप नै महत्त्वपूर्ण हुने विज्ञहरूले बताएका छन्।
नेपाल जनस्वास्थ्य प्रतिष्ठान, द वान हेल्थ ट्रस्ट र ग्लोबल एन्टिमाइक्रोबायल रेसिस्टेन्स पार्टनरशिपद्वारा बिहीबार (पुस २६) काठमाडौंमा आयोजित ‘प्रतिजैविक प्रतिरोध र खोप’ कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस्तो बताएका हुन्।
कार्यक्रममा द वान हेल्थ ट्रस्टका वरिष्ठ अनुसन्धान विश्लेषक ऋषिराज भागावतीले खोपले संक्रमणका साथै प्रतिजैविक औषधिहरूको प्रयोग घटाएर प्रतिरोधी जीनहरूको विकासक्रमलाई अवरुद्ध गरी प्रतिजैविक प्रतिरोध रोकथाम गर्ने बताएका थिए। यस्तै, खोपले लक्ष्यित जीवाणुहरू मात्र नभई उस्तै वातावरणमा फैलने अरू जीवाणुहरूको वृद्धि पनि रोक्ने भागावतीले बताएl
पशु सेवा विभागका भेटेरिनरी अफिसर डा. नवराज श्रेष्ठले किसानहरूलाई प्रतिजैविक औषधिहरूको सही प्रयोगबारे राम्रो जानकारी नभएको बताउँदै यो डरलाग्दो अवस्था रहेको उल्लेख गरेका थिए। सोही कारण खोपहरूलाई प्रतिजैविक प्रतिरोध नियन्त्रणको एउटा विकल्पका रूपमा प्रवर्द्धन गर्न अत्यावश्यक भएको वरिष्ठ बाल चिकित्सक र खोप विशेषज्ञ डा. रमेशकान्त अधिकारीले बताएका थिए।
सरकारले नियमित खोप कार्यक्रम अन्तर्गत विभिन्न १२ वटा खोप निःशुल्क गरेको छ भने अन्य संक्रमणका खोप पनि शुल्क तिरेर लगाउन सकिन्छ। विभिन्न उमेर समूहमा लगाइने यी खोपले भविष्यमा हुने विभिन्न संक्रमणबाट जोगाउँछ। तर नेपालमा सरकारले दिने निःशुल्क खोपबाट लक्ष्यित समूह लाभान्वित हुन सकिरहेको छैन। सोही कारण मानिसहरू जटिल संक्रमणको जोखिममा छन्।
यस्ता संक्रमणको जोखिममा रहेका मानिस पछिल्लो समय प्रतिजैविक प्रतिरोधको शिकार बनेका छन्। अर्थात् यस्ता संक्रमण भएका मानिसलाई दिइने एन्टिबायोटिकले काम गर्न छाडेको छ। डब्लूएचओका अनुसार धेरै देशमा पशुपन्छीलाई दिइने एन्टिबायोटिकमध्ये ८० प्रतिशत चिकित्सकीय प्रयोगका दृष्टिले पनि महत्त्वपूर्ण छन्। यस्ता एन्टिबायोटिक प्रयोग गरिएका पशुपन्छीको मासु, अन्डा र दूध खाएका मानिसलाई बिरामी परेका बखत सोही ‘मोलिक्यूल’ मार्फत बनेको एन्टिबायोटिक दिनुपरे काम गर्दैन। किनकि ती खानाका कारण शरीरमा हुने जीवाणुले उक्त औषधिलाई नै प्रतिरोध गरिदिने क्षमता बनाइसकेको हुन्छ। यस्तो स्थितिलाई प्रतिजैविक प्रतिरोध भन्ने गरिएको छ।
यो समस्याको सम्बोधन गर्न विभिन्न देशका वैज्ञानिक र स्वास्थ्य नीतिनिर्माताहरू गहन खोज गरिरहेका छन्। कतिपय देशमा एन्टिबायोटिक औषधिको अति प्रयोग र दुरुपयोग रोक्न छुट्टै नियमहरू समेत बनेका छन्।
तर नेपाल जस्ता देशमा पशुपन्छी र जनवारको एन्टिबायोटिकको खुलेआम दुरुपयोग भइरहेको छ। यही असरलाई रोक्न कसरी काम गर्ने भन्ने विषयमा नेपालमा पनि यस क्षेत्रका विज्ञहरूले बहस गरिरहेका छन्। त्यही सन्दर्भमा बोल्दै डा. पारसकुमार पोखरेलले छिटै मानिसहरूले खोपलाई प्रतिजैविक प्रतिरोधको नियन्त्रण गर्ने सबैभन्दा दिगो र भरपर्दो विकल्पका रूपमा लिने बताए।
त्यस्तै, राज्यले पशु स्वास्थ्यलाई पनि समान महत्त्व दिए प्रतिजैविक प्रतिरोध रोक्न सकिने डा. समीरमणि दीक्षितको भनाइ थियो।