सोल्टी होटलले ३१ प्रतिशत लाभांश वितरण गर्ने
सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न होटलको ४९औं वार्षिक साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसमा नगद लाभांश २६.५८ प्रतिशत र बोनस शेयर ५ प्रतिशत छ।
कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्टको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक विवरणहरू, २०८० असार मसान्तसम्मको वित्तीय स्थिति विवरण, नाफा वा नोक्सान तथा अन्य विस्तृत आय विवरण पारित गरेको छ।
त्यस्तै, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण र यस कम्पनीसँगै सहायक कम्पनीको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण समेत समावेश रहेको कम्पनीको एकीकृत आर्थिक विवरण पारित गरेको छ।
यसैगरी, साधारण सभाले जेबी राजभण्डारी एन्ड डिबिन्स, चार्टर्ड एकान्उटेन्ट्स काठमाडौंलाई आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक र करपरीक्षक नियुक्त गरेको छ।