‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘केही लेखकलाई आफ्नो कृति अंग्रेजीमा अनुवाद हुने बित्तिकै नोबेल पुरस्कार पाइने भ्रम छ। तर ती साँच्चै विश्वस्तरीय छन् त भन्नेमा गहिरिएर सोच्न जरुरी देखिन्छ।’
वसन्त थापाका अनेक परिचय छन्- पत्रकार, सम्पादक, अनुवादक, पुस्तक प्रकाशक, रेस्टुराँ व्यवसायी, पथप्रदर्शक आदि। लेखनकर्म, खास गरी अनुवादमा उनको विशेष दखल छ। त्यसैले उनलाई ठूलो समूहमा परिचित पनि गरायो।
थापाले गीत लेखे, पत्रपत्रिकामा संस्मरणात्मक लेख पनि आइरहन्छन्। तर उनी आफूलाई मौलिक लेखक मान्दैनन्। मौलिक लेखन गर्नुभन्दा खेत खन्ने कर्म सजिलो ठान्छन्।
थापाले मानवशास्त्री डोरबहादुर विष्टको पुस्तक फ्याटलिज्म एन्ड डेभलपमेन्टलाई नेपालीमा भाग्यवाद र विकासका रुपमा अनुवाद गरेका छन्। मानवशास्त्री विष्टको माघ ४ मा परेको ९४औं जन्मदिनको अवसर पारेर हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा अनुवादक थापासँग भाग्यवाद र विकाससँगै लेखनका विविध आयाममा केन्द्रित भएर सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश:
तपाईंसँग रेस्टुराँ व्यवसायी, पथप्रदर्शक, पत्रिकामा सम्पादकसम्म भएको अनुभव छ। यी सबैका बीच अनुवाद कर्ममा चाहिं कसरी जोडिनुभयो?
वास्तवमा मेरो सबैभन्दा पहिलो काम नै अनुवाद हो। कलेज पढ्दा नै जानी-नजानी अनुवाद थालेको थिएँ। अरू चाहिं पछि जोडिएका काम हुन्।
धरानमा हुर्किएर त्यहींका स्कूल-कलेज पढें। सरसँगाती र अग्रजहरूको संगतबाट साहित्य, संगीत, कला र नाटकमा रस बस्यो। पत्रपत्रिका पढ्ने बानी पर्यो। त्यही वेला साथीभाइले अनुवाद गर्न हौस्याए। हिन्दी भाषाका पत्रपत्रिका र जासूसी उपन्यास खूब पढिन्थ्यो। त्यसैले पहिलो अनुवाद पनि हिन्दीबाटै गरेको थिएँ, मार्क्सवादको पहिलो किताब।
राम आसरे वर्माले लेखेको उक्त किताब बूकलेट जस्तो सानो आकारको थियो। धरानका हाम्रै साथीभाइको ‘बूक कर्नर’ प्रकाशक रहेको त्यो पुस्तक बनारस लगेर छापियो। त्यस ताका जे छाप्न पनि त्यहीं जाने चलन थियो। छापिएर आएपछि किताब हाताहाती बिक्यो। मलाई चाहिं कोशीका अञ्चलाधीशबाट पक्राउ पुर्जी जारी भयो।
सरकारले पक्राउ पुर्जी नै जारी गर्नुपर्ने के थियो र किताबमा?
मार्क्सवाद सरल तरीकाले बुझाउने किताब थियो त्यो। वर्गको निर्माण, वर्ग संघर्षको शुरूआतसँगै पूँजीवाद, समाजवाद र साम्यवादको व्याख्या गरिएको थियो।
पुर्जी काटिएपछि विराटनगर पुगें। राजकाज सम्बन्धी मुद्दा लगाउने सुरसार रहेछ। किताबमा हिन्दी शब्द नेपालीमा आउँदा फरक परेछ। ‘सबै जनताको उन्मुक्ति, सबै समान हुने भए यस्तो स्थितिमा पुगिन्छ जहाँ राज्यको कुनै अस्तित्व रहँदैन’ भन्ने कार्ल मार्क्सको भनाइ छ। छापिएर आउँदा राज्यको ठाउँमा ‘राजसत्ताको अस्तित्व हुँदैन’ भन्ने पर्न गएछ। वास्तवमा हुनुपर्ने ‘राज्यसत्ता’ थियो।
कसै-कसैले 'अध्यक्ष'को साटो 'अधक्ष' भने जस्तो भएको थियो। मैले त ठीकै लेखेको थिएँ, बनारसमा शुद्धाशुद्धि हेर्दा बिगारेछन्। त्यो वाक्यले सीधै राजसंस्थालाई प्रहार गरेको भनी पक्राउ पुर्जी जारी गरिएको रहेछ।
कसरी पार पाउनुभयो त?
सहायक अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले मलाई कसको छोरा भनी सोध्नुभयो। बुबा (इन्द्रबहादुर थापा) त्यस क्षेत्रमा मजदूर नेताका रूपमा चर्चित वामपन्थी हुनुहुन्थ्यो। श्रेष्ठले चिन्नुहुँदो रहेछ। त्यसैले उहाँमा मप्रति ‘सफ्ट कर्नर’ देखियो। सोध्नुभयो, ‘तिमीले जानेर लेखेको हो?’ मैले यथार्थ बताइदिएँ। उहाँले ‘अन्जानमा भएको गल्ती’ भनी तारेखमा छाड्न निर्देशन दिनुभयो।
म तारेख धाइरहें। मुद्दा के हुन्छ, थाहा थिएन। धेरै पछि श्रेष्ठले कार्यालयमा मलाई देखेर सोध्नुभयो, ‘तिमी किन आइरा’को?’ मैले तारेखमा आएको बताएँँ। त्यसपछि उहाँले एउटा शाखाको मानिसलाई बोलाएर केही भन्नुभयो। अब तारेख धाउन नपर्ने भयो। एक व्यक्तिको सहानुभूतिकै कारण मैले मुक्ति पाएँ।
त्यसपछि अनुवाद कर्म कसरी अघि बढ्यो?
पढ्न काठमाडौं आएपछि पनि अनुवादको काम गरिरहें। किनकि सानोतिनो जागीर मात्रैले टिक्ने अवस्था थिएन। अनुवाद कर्म भर्खर भर्खर व्यावसायिक हुँदै थियो। विभिन्न अफिसका कागजपत्र अनुवाद गर्ने काम खूब आउँथे। बिहान-बेलुकी र छुट्टीका दिन त्यसैमा लाग्थें। ‘ए फोर साइज’ को एक पृष्ठ सामग्री अनुवाद गरेको पारिश्रमिक २० रुपैयाँ थियो। पछि प्रतिपृष्ठ ३० रुपैयाँसम्म मिल्थ्यो।
अरू पेशा अपनाउँदा पनि अनुवाद छाडिनँ। मानिसहरू त्यही कामकै लागि मलाई खोज्दै आइरहन्थे। हिमाल एशोसिएशन भन्ने संस्थाले हिमालयन हिमाल नामक अंग्रेजी पत्रिका निकाल्थ्यो। त्यसका लेख नेपालीमा पनि अनुवाद हुन्थे जसमा मैले पनि काम गरें। पछि नेपाली भाषामै नियमित पत्रिका निकाल्ने योजना बन्यो। म सम्पादक भएँ। शुरूमा त्रैमासिक नेपाली हिमाल निकालियो। पछि द्वैमासिक भयो। त्यस पछाडि व्यापारिक प्रकृतिका सामग्री अनुवाद गर्ने सबै काम त्यागें। पूरै ध्यान पत्रिकामै रह्यो। अनुवाद गर्न भने अझै पनि छाडिनँ।
मानवशास्त्री डोरबहादुर विष्टको चर्चित किताब फ्याटलिज्म एन्ड डेभलपमेन्ट अनुवाद गर्नुभएको छ। त्यो किताब रोज्नुको कारण के थियो?
यो किताब अनुवाद गर्न थाल्दाको मिति हिसाब गर्दा सिध्याउन २५ वर्ष लाग्यो। तर यो पूरै समय त्यसैमा काम गरेको भन्ने होइन। डोरबहादुर विष्टसँग हिमाल पत्रिकाकै कारणले चिनजान भयो। हिमालको पहिलो अंक नै उहाँले विमोचन गर्नुभएको थियो।
त्यस वेला फ्याटलिज्म एन्ड डेभलपमेन्ट चर्चाको चुलीमा थियो। पक्ष-विपक्षमा बहस चर्किरहेथ्यो। ‘विष्टले नचाहिंदो काम गर्यो’ भन्ने धेरै थिए। मलाई चाहिं त्यो किताब समाजका लागि आवश्यक छ र नेपाली भाषामा अनुवाद हुनुपर्छ भन्ने लाग्यो। किनकि हामीकहाँ नेपाली भाषाको जुन पहुँच र प्रभाव छ, अरू भाषाको छैन। किताब बढीभन्दा बढी मानिसमाझ पुग्दा नै तिनले विष्टले ठीक/बेठीक के लेखेका हुन् भन्नेमा अभिमत बनाउन सक्थे। बहस अझ बृहत् हुन्थ्यो।
विष्टसँग नजिक भएपछि मैले अनुवाद गर्ने अनुमति मागें। उहाँले ‘तपाईंको नेपालीमा राम्रो दखल रै’छ, हुन्छ गर्नुस्’ भन्नुभयो। त्यति मात्र होइन, ‘दाजुभाइ मिलेर अर्को किताब नै लेखौंला’ पनि भन्नुभयो। सुनेर बडो उत्साहित भएँ।
त्यसपछि उहाँ आफैंले खोलेको रिसर्च इन्स्टिच्यूटको कामका लागि जुम्ला जानुभयो। मैले पहिलो पाठ अनुवाद गरें। उहाँ फर्केपछि देखाउँला भनेको, फर्कनु नै भएन। तब मेरो उत्साह मर्यो, अनुवादको काम पनि थाती बस्यो।
उहाँ बेपत्ता भएकै कारणले काम अड्किएको हो?
केही समय त त्यही कारणले नै हो। अलिक पछाडि चाहिं जे नहुनु भइसक्यो, किताबको आफ्नो महत्त्व छ, काम त सक्नै पर्यो भनेर तातें। तर फेरि अरू अड्चन आए। प्रतिलिपि अधिकार सम्बन्धी विषयको अस्पष्टताले अल्झायो। विदेशी प्रकाशन गृहको किताब भएकाले पछि झमेलामा परिएला कि भन्ने अलमल पनि थियो।
त्यही वेला साथी केसाङ छेतेनले विष्टबारे कास्ट अवे म्यान वृत्तचित्र बनाउने भए। उनले वृत्तचित्र तयार हुँदासम्म किताबको अनुवाद पनि सक्नुपर्छ भनी कर गरे। यो घचघच्याइले फेरि जोश पलायो। तर प्राज्ञिक लेखन भएकाले अनुवाद गर्न अलिक गाह्रो थियो। मानवशास्त्र र समाजशास्त्र मेरो विषय थिएन। म नेपाली साहित्यको विद्यार्थी थिएँ। तापनि वृत्तचित्र तयार हुँदा अनुवाद एकसरो सकियो। गम्भीर विषय भएकाले यत्तिकैमा छाप्नु जोखिम हुन्थ्यो। त्यसैले विषयगत जानकार साथीहरूलाई गुहारें। खासगरी हरि शर्माको सहयोग सम्झन्छु। पाण्डुलिपि पढेर ३२ वटा गाँठा फुकाउनुपर्ने भनी नोट लेखेको थिएँ, सैद्धान्तिक तवरमा ती गाँठा फुकाउन उहाँले धेरै मद्दत गर्नुभयो। मनीष श्रेष्ठसँग मिलेर हरफपिच्छे रुजु गरियो। यसैले समय लागेको हो। नत्र त २०० पृष्ठ हाराहारीको किताब ५-६ महीनामै सकिन्छ।
यो किताब अनुवाद गर्दा मलाई पनि मानवशास्त्रीय चश्माबाट देश र समाज बुझ्ने अवसर मिल्यो। नेपाल अविकसित र पछौटे हुनुमा विष्टले यहाँको जात-वर्ण व्यवस्था अनि हिन्दू धार्मिक ब्राह्मणवाद कारण रहेको निष्कर्ष दिनुभएको छ। उहाँको निष्कर्षमा सहमत/असहमत हुन सकिएला। तर यो थप अध्ययनको विषय त हो। विष्टलाई जस्तै मलाई पनि यो असमानताले हामीलाई अघि बढ्नबाट रोक्छ भन्ने लाग्छ।
यो किताब अहिले पनि उत्तिकै सान्दर्भिक रहनुको कारण यसले जातव्यवस्थालाई गरेको आलोचना नै हो?
यो नेपालमा जातव्यवस्था रहेसम्म सान्दर्भिक रहिरहन्छ। जातव्यवस्था सजिलै तोड्न सकिन्न। अहिलेको राजनीतिक परिदृश्यले पनि त्यस्तै देखाउँछ। १० वर्षे सशस्त्र द्वन्द्वले राजतन्त्र हटाएर हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष बनायो। अहिले यी दुवै कुरा उल्ट्याउने प्रयास भइरहेछ। त्यसैले यो किताबको सान्दर्भिकता पछिसम्मै रहन्छ।
विष्टले उठाएका तर्कलाई प्रतिवाद गर्ने जमात पनि ठूलै छ। ती प्रतिवाद आफैं चाहिं कत्तिको तर्कपरक छन्?
एउटै वस्तुलाई कुन ठाउँमा बसेर हेरिएको छ भन्ने कुराले अर्थ फरक पारिदिन्छ। यो किताबलाई हेर्ने नजरिया पनि फरक फरक हुन सक्छन्। कसैले जानाजान यसको सन्देश तोडमोड गरेका छन्। प्रतिवाद त सैद्धान्तिक र विषयगत हिसाबले गरिनुपर्ने हो तर ‘यो किताब केही होइन, डोरबहादुरले इसाईको इशारामा लेखेको’ भन्ने निम्न स्तरको आलोचना पनि देखेको छु। त्यो त दृष्टिदोष भयो। उहाँले भनेका कुरा यी यी कारणले ठीक छैनन् भन्ने विश्लेषणात्मक प्रस्तुति र आलोचना खासै पाइएको छैन।
तपाईंले अनुवाद गरेको टोनी हागनको नेपालमा मेरो खोजयात्रा पनि चर्चितमध्ये पर्छ। यो किताब अनुवाद गर्दाको अनुभूति कस्तो थियो?
मैले अनुवाद गरेका टोनी हागनका किताबमा यो तेस्रो हो। उनले सन् १९६१ मा प्रकाशन गरेको नेपाल: द किङडम इन हिमालयज किताबको संशोधित संस्करण सन् १९९८ मा हिमाल किताबबाटै पुनः प्रकाशन भयो। त्यसपछि विभिन्न मित्रको सहयोगमा त्यसको अनुवाद गरें। नाम दिइयो- नेपालको चिनारी। त्यसपछि उनकै डिसेन्ट्रिलाइजेशन एन्ड डेभलपमेन्टलाई विकेन्द्रीकरण र विकास शीर्षकमा अनुवाद गरें।
नेपालमा मेरो खोजयात्रा त्यसपछि बल्ल आएको हो। यसको अंग्रेजी शीर्षक बिल्डिङ ब्रिजेज टू दी थर्ड वर्ल्ड छ। हागन शुरूमा श्री ३ मोहनशमशेरका पालामा नेपाल आए। अनि पछिसम्म पनि यहाँका कुनाकाप्चा घुमेर भू-सर्वेक्षणको काम गरे। यस क्रममा उनले के देखे, के भोगे भन्ने किताबमा उल्लेख छ जसले त्यो वेलाको नेपाल बुझ्न समेत सघाउँछ।
राणाहरूले हागनलाई सुनखानी पत्ता लगाउन बोलाएका थिए। तर हामीसँग सुनखानी त के, तामाखानी, हीराखानी र फलामखानी पनि छैन। भए पनि निकाल्दा फाइदा हुने किसिमको छैन। त्यसैले हागनले नेपालसँग सेतो कोइला अर्थात् जलस्रोत रहेको र यसबाटै देशलाई धनी बनाउन सकिने निचोड दिएका थिए। हागनको किताब अनुवाद गर्न विष्टको जस्तो गाह्रो भएन किनकि यो प्राज्ञिक लेखन होइन।
म त्यस्तो किताब मात्र अनुवाद गर्छु जुन पढ्दा पाठकलाई फाइदा होस्। पैसा खर्चेर, समय लगाएर पढेको किताबले पाठकलाई केही ज्ञान नदिए मजा हुन्न।
अनुवाद गर्दा कुन कुन पक्षमा विचार पुर्याउनुपर्छ? कुशल अनुवादकमा हुनुपर्ने गुण के के हुन्?
सबैभन्दा पहिले त मूल कृति र अनुवाद गरिने भाषा दुवैमा राम्रो पकड हुनुपर्छ। अन्यथा बुझाइ अधकल्चो भई अर्थको अनर्थ लागिदिन्छ। अरूले गरेको अनुवाद कृति सम्पादन गर्दा यस्तो समस्या धेरै पाएको छु। भाषा, बुझाइ र अभिव्यक्ति तिनै पक्षमा पकड हुँदा मात्र राम्रो अनुवाद तयार हुन्छ।
यहाँले ‘अनुवाद किन बर्बाद नहोस्’ शीर्षकमा लेख नै लेख्नुभयो। हामीकहाँ अनुवाद किन बर्बाद भइरहेका छन्?
अनुवादकसँग आधारभूत ज्ञान नभएर अनुवाद बर्बाद भइरहेछन्। यो ज्यादै गाह्रो काम हो। भाषा मात्र बुझेर हुँदैन, कृतिसम्बद्ध देशको सामाजिक र सांस्कृतिक पक्ष तथा पृष्ठभूमि पनि बुझ्नुपर्छ।
अनुवाद धेरै तरीकाका हुन्छन्। एउटा हुन्छ, स्वतन्त्र अनुवाद। त्यसमा मूल साहित्य हेरेर भाव उतार्ने काम हुन्छ। कतिपय अनुवाद शब्द पनि नबिराई गर्नुपर्ने हुन्छ। त्यसपछि साहित्यको अनुवाद हुन्छ। गैरसाहित्यिक अनुवाद पनि हुन्छ। सोही कारण जुन विधाको अनुवाद हो, त्यसमा पोख्त हुनुपर्छ। अन्यथा नाम मात्रको अनुवाद भइदिन्छ।
अनुवादकले जस्ताको तस्तै उतार्ने मात्र होइन। त्यसले भन्न खोजेको कुरा पाठकलाई बुझाउन पनि सक्नुपर्छ। जस्तो, कसैले ‘संगणक’ (भारतीयले कम्प्युटरलाई यसो पनि लेख्छन्) लेखे पाठकले के बुझ्ने? अनुवादकले नै ‘कम्प्युटर’ लेखिदिनुपर्ने हुन्छ। तपाईं आफैं लेखक हुनुहुन्छ भने जे लेख्दा पनि भयो, मिलोस् या नमिलोस्। किनकि त्यो तपाईंको अभिव्यक्ति हो। अनुवादमा चाहिं मूल लेखकले जे भन्न चाहेको हो, त्यसको परिधिभन्दा बाहिर जान मिल्दैन।
अनुवाद गरिसक्दा चित्त नबुझे जस्तो हुन्छ कि हुँदैन? चित्त नबुझ्दा के गरिन्छ?
जरुर हुन्छ। म एक पटक खरर्र अनुवाद गर्छु। कहीं एक लाइनले ‘दिमाग खराब’ गर्यो भने त्यहीं छाडेर अघि बढ्छु। अनि सकिएपछि त्यसलाई फेरि सच्याउँछु। एउटाले गरेको अनुवाद अर्कोले सच्याउँदा अझ राम्रो हुन्छ। तर नेपालमा यस्तो अभ्यास छैन। कसैले थोरै पारिश्रमिकमा काम लिएको हुन्छ, अर्कोलाई पनि अह्राउँदा कति दिने? म चाहिं आफ्नो अनुवाद आफैं सम्पादन गर्छु। सकेसम्म त्रुटिरहित बनाउने प्रयास गर्छु।
मौलिक लेखन र अनुवादमा कुन गाह्रो हो?
मलाई मौलिक लेखन गर्न औधी गाह्रो लाग्छ। हुन त मौलिक लेखन स्वतन्त्र हुन्छ, आफूखुशी लेख्न र शब्द प्रयोग गर्न सकिन्छ। तर त्यही स्वतन्त्रता नै मौलिक लेखनको बाधा हो। स्टोरीलाइन के, कहाँबाट शुरू गर्ने, कसरी लेख्ने र कसरी अन्त्य गर्ने भन्नेमा मगज खियाउनुपर्छ। अनुवादमा त मूल कृतिको ढाँचा वा लिकमै अर्को भाषाको गाडी गुडाइदिए पुग्छ। मौलिक लेखन जंगल फाँडेर बाटो बनाउँदै हिंडे जस्तो हो। अनुवादमा बाटो पहिल्यै हुन्छ, त्यसमा कसरी हिंड्ने त्यो मात्र तय गरे पुग्छ। त्यसैले म मौलिक लेखनभन्दा बरु खन्ने काम खुशी मानेर गर्न सक्छु। लेख्न गाह्रो लागेकैले मेरा कतिपय रचनाका ‘प्लट’ खेर गएका छन्। दिमागमा रहेका ‘प्लट’ दुई-चार दिनमा लेखिएन भने बिर्सिहालिन्छ।
तपाईंले कतै लेख्नुभएको छ, ‘लेखन साधना हो, फुटकर रूपमा लेख्ने आफूलाई लेखक मान्दिनँ।’ तपाईंले गर्दै आएको अनुवाद कर्मको माध्यम पनि लेखन नै त हो। यसमा चाहिं साधना हुँदैन र? अनुवादक चाहिं लेखक होइन र?
विना साधना केही पनि हुँदैन। सफल मानिस देखेर त्यस्तै हुन पाए हुन्थ्यो भन्ने लाग्छ। तर सफलताका लागि उसले के गरेको हुन्छ भन्ने हामी बुझ्दैनौं। कन्फ्युसियसले भनेका छन्, ‘पानीमा हाँस तैरिरहेको देख्दा हावाले धकेले जस्तो लाग्छ, उसले पानीमुनि पन्जा चलाइरहेको हामी देख्दैनौं।’
त्यसैले सिर्जनशील क्षेत्रमा लागेकाहरूले कडा साधना नगरीकन सफलता पाउँदैनन्। अनुवाद कर्म पनि यथार्थमा लेखन कर्म नै हो। यसैले अनुवादलाई पुन:सिर्जना पनि भन्ने गरिन्छ। असलमा यो मौलिक लेखन कार्यभन्दा कम गाह्रो छैन। मूल कृतिको भाव, अर्थ, शैली नबिगारी अर्को भाषामा उल्था गर्नु चुनौतीपूर्ण काम हो। त्यसैले यसमा पनि साधना त्यत्तिकै आवश्यक हुन्छ जति मौलिक लेखनमा।
हामीकहाँ कतिपय चर्चित विदेशी किताबहरू अनुमति नलिई मनलाग्दी अनुवाद गरिएको र तिनको प्रस्तुति गुणस्तरहीन रहेको टीकाटिप्पणी पनि भइरहन्छन् नि?
नाम चलेका सेलेब्रिटीका किताब छापिनासाथ नेपाली भाषामा पनि देखिन्छन्। तर त्यो अनुवादकको योग्यता, अनुवादको गुणवत्ता जाँच्ने कुनै निकाय छैन। मूल भाषामा पहुँच नभएका नेपालीभाषी पाठकले राम्रो किताब आएछ भनेर किन्छन् तर ठगीमा पर्छन्। छिटो छिटो कमाउन खोज्नेहरूले यस्तो धन्दा चलाइरहेका छन्। त्यसैले म हतार नगरी जाँचेर मात्र किताब किन्न भन्छु।
नेपालमा अहिलेसम्म आआफ्नै रुचि र प्रयासले अनुवाद गर्नेहरू छन्। यस सम्बन्धी शिल्प विकास गर्न तालीम दिइन्न। अनुवाद बेग्लै शिल्प र ज्ञान आवश्यक पर्ने विधा भनेर बुझाइएकै छैन। कतिपयले अनुवाद गर्न पनि केको तालीम भनेको सुन्छु। यसको अर्थ तिनले अनुवादको ‘अ’ पनि जानेका छैनन्।
मैले फ्याटलिज्म एन्ड डेभलपमेन्टको शीर्षक नियतिवाद नराखी भाग्यवाद राखें। भाग्य भनेको नियति पनि त हो नि ! नियति किन राखिएन त? अनुवादमा यस्ता ससाना कुरा पनि ख्याल गर्नुपर्छ।
त्यसैले अनुवादका लागि प्रशिक्षण चाहिन्छ। अनि यस्तो निकाय पनि चाहिन्छ जसले अनुवादित किताबहरूको मूल्यांकन गरी ठीक-बेठीक छुट्याइदेओस्। मैले सम्पादनका सिलसिलामा भेटाएको उदाहरण हेर्दा धेरैले अड्कलका भरमा अनुवाद गरिरहेछन्। यो त बौद्धिक अपराध हो।
अनुवादलाई नै मूल पेशा बनाएकाहरूले यसैबाट जीविकोपार्जन गर्न सक्ने अवस्था छ?
अहिले सम्भावना धेरै बढेर गएको छ। अनुवाद नै मूल पेशा हुन सक्छ। किनभने विदेशी संघसंस्थालाई तिनका कागजात अनुवाद गराउनैपर्छ। सरकारी निकायमा आइपुग्ने अंग्रेजी भाषाका पत्र/डकुमेन्ट नेपाली भाषामा उतार्नैपर्ने नियम बनाइदिएको खण्डमा धेरै अनुवादकले रोजगार पाउँछन्। कतिपय देशमा विदेशी भाषाका चलचित्र देखाइँदा उनीहरूकै भाषामा सबटाइटल राख्नुपर्ने नियम छ। नेपालले पनि त्यस्तो नियम बसाए अनुवादकले काम पाउने मात्र होइन, भाषाको महत्त्व बढ्छ र भाषाको विस्तार हुन्छ।
हामीकहाँ त ‘मेरो नेपाली खासै राम्रो छैन भन्ने ठूलो मान्छे’ भइरा’छ। उसले अंग्रेजी भाषामा चाहिं राम्रो भए पुग्छ भन्न खोजेको हो। मेरो नेपाली चाहिं राम्रो हो भनेर गर्व हुनुपर्ने अवस्था आउनुपर्छ। भाषा कसरी बलियो र समृद्ध बनाउने भन्ने कुरा नीतिनिर्माताले सोच्नुपर्छ।
पछिल्लो समयका अनुवाद कृतिको भाषामा साहित्यभन्दा पत्रकारिताको शैली हावी भएको देखिन्छ। अनुवादमा साहित्यिक पक्ष मर्दै गएको हो?
नेपाली भाषा बिगार्ने छाडा सञ्चारमाध्यम पनि हुन्। तिनले शब्दको मर्म नबुझीकनै प्रयोग गरिरहेका छन्। नेपाली सञ्चारमाध्यमले छापेका प्राय: हरेक सामग्रीमा त्रुटि छ। पढ्नेले पनि सञ्चारमाध्यमले लेखेको ठीकै होला भनेर त्यही चलाउन थालेका छन्। त्यसैको प्रतिच्छाया अनुवादमा परेको छ।
केही साथी ‘यो काम सकाउनुपर्नेछ’ भन्छन्। म यो काम ‘सिध्याउनुपर्नेछ’ भन्छु। यस्ता उदाहरण धेरै छन्, जसले भाषा सिध्याइरहेको छ।
तपाईंले नेपाली पुस्तक किन्ने तर भाषाले नतानेपछि थन्क्याउने गरेको कुरा कतै लेख्नुभएको छ। पाठकलाई बाँधिरहने भाषा कस्तो हो? लेखनशैली कसरी आकर्षक बनाउन सकिन्छ?
लेखनको स्रोत भनेको अध्ययन हो। लेखेको लेख्यै गरेर मात्र लेखन राम्रो हुँदैन, उतिकै पढ्न पनि पर्छ। हामीकहाँ सबैतिर जुन ठाउँमा जस्ता मान्छेको काम छैन त्यस्तै मान्छे नै गइरहेका छन्। पत्रकारिता र साहित्यमा नआउनुपर्ने मान्छे पनि आइरहेछन्। मानिसहरू फटाफट उपन्यास लेखिरा’छन्, कसरी सम्भव छ? शंका लाग्छ- एआई पो प्रयोग गरिरहेका हुन् कि? यसरी लेखिएको किताबको गुणवत्ता के हुन्छ?
साहित्य भनेको शब्दको खेल पनि हो। कथा-कविता जेसुकै होस्, सुललित शैलीको पृथक् प्रस्तुतिले त्यसमा नौलोपन दिन सक्छ। सिर्जनामा पाठकलाई तान्ने शब्दको खेल छैन भने पैसा तिरेर किन सजाय बेहोर्नु? त्यसैले म धेरैजसो किताब विमोचनमा जान्नँ। गएपछि शिष्टाचारवश पनि किनिदिनै पर्ने हुन्छ।
विदेशी कृतिका हकमा अहिलेसम्म नेपाली भाषामा सबैभन्दा बढी अनुवाद अंग्रेजीबाट भएका छन्। अरू नै मूल भाषामा लेखिएका सामग्री अंग्रेजी हुँदै नेपालीमा ल्याइँदा मौलिकता ह्रास हुँदैन?
मूल भाषाबाट सोझै अनुवाद हुँदा नै कृतिको मौलिक स्वाद र अर्थ पाइने हो। विभिन्न भाषामा चक्कर लगाएर आइपुग्दा स्वाद बाटैमा खत्तम भइसक्छ, विषयवस्तु मात्र बाँकी रहन्छ। तपाईंले रसास्वादन गर्न चाहेको साहित्य छोक्रा भइसकेको हुन्छ।
हामीकहाँ धेरैजसो अनुवाद अंग्रेजीबाट हुनुको कारण अंग्रेजीको व्यापक प्रचलन हो। अंग्रेजीलाई कतिपय स्कूलले प्रथम भाषाका रूपमा पढाउने गरेका छन्। अंग्रेजी भाषा जान्नेहरू बढी हुँदा यो स्वाभाविक हो। अरू भाषा जानेका मानिस कम भएकाले मूलभाषाबाट अनुवाद नभएको हो। कति किताब त मूलभाषाबाट अंग्रेजी, हिन्दी हुँदै नेपालीमा आइपुगेका छन्। रूसी भाषाका केही किताब चाहिं सोझै नेपालीमा अनुवाद भएका छन्। किनकि कुनै वेला त्यहाँको राज्यले नै आफ्नो साहित्य विदेशी भाषामा अनुवाद गराउने नीति लिएको थियो। कृष्ण प्रकाश श्रेष्ठले धेरै रूसी साहित्य अनुवाद गरेका छन्।
नेपाली पुस्तकहरू विदेशी भाषामा अनुवाद नहुँदा विश्व बजारमा पुग्न नसकेको चर्चा पनि भइरहेको हुन्छ। नेपालका अनुवादकको अर्को भाषामा पकड नभएकैले यस्तो भएको हो?
हामीसँग अनुवाद गर्ने प्रतिभाको कमी छँदै छ। तर नेपाली भाषाको किताब अंग्रेजीमा अनुवाद गर्दा अनुवादकलाई खासै आर्थिक फाइदा छैन। त्यसैले गतिलो अनुवाद गर्न सक्नेहरूले पनि चासो दिंदैनन्।
केही लेखकलाई आफ्नो कृति अंग्रेजीमा अनुवाद हुने बित्तिकै नोबेल पुरस्कार पाइने भ्रम छ। तर ती साँच्चै विश्वस्तरीय छन् त भन्नेमा गहिरिएर सोच्न जरुरी देखिन्छ। केही किताब अंग्रेजीमा अनुवाद भएका पनि छन्। तिनको बजार कति छ, मानिसले पढेका छन् त? नेपालमा विश्वस्तरीय रचना छँदै छैनन् भन्दिनँ तर अति थोरै छन्। जे भए पनि अनुवाद दुवैतर्फ हुनुपर्छ भन्नेमा म सहमत छु।
अब तपाईंलाई नेपालबारे विदेशीले लेखेको अर्को कुन चाहिं पुस्तक अनुवाद गर्न पाए हुन्थ्यो भन्ने लागेको छ?
धेरै छन् तर म एक्लैले गर्न सक्ने अवस्था छैन। त्यसकै लागि हामी केही साथी मिलेर हिमाल एशोसिएशन अन्तर्गत एउटा सानो कोष खडा गरेका छौं। अन्ततिर आफ्नो देशबारे लेखिएका पुस्तकको अनुवादमा राज्यले नै लगानी गर्छ। तर हाम्रोमा केही भएको छैन। हाम्रो त इतिहास नै विदेशीले लेखिदिएका छन्। फ्रेन्च विद्वान् शिल्भा लेभीले लेखेको किताब नेपालः हिन्दू अधिराज्यको इतिहास संयोगवश सीधै फ्रेन्च भाषाबाट नेपालीमा अनुवाद भएको छ। फ्रान्सका लागि नेपाली राजदूत डिल्लीराज उप्रेतीको प्रयासले सम्भव भएको हो। हाम्रो उत्साह र रहरले केही ऐतिहासिक किताबको अनुवाद होला तर सबैको गर्न सकिन्न। राज्यले नै लगानी नगरी यस कामलाई गति दिन सम्भव छैन।
(सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: