राज्यले नदेखेको त्यो कुशको शव
राज्यले बेपत्ता पारेका श्रीमान्को २१ वर्षपछि कुशको शव बनाएर अन्तिम संस्कार गरेकी चन्द्रकला प्रसाईं आफ्नो मान्छे संसारमा छैन भन्नुभन्दा धेरै पीडादायी बेपत्ताको काजकिरिया गर्न हुने बताउँछिन्।
पशुपतिनाथ आर्यघाट। २०८० पुस १३ दिउँसो। दाहसंस्कारका लागि आवश्यक सबै सरसामान तयार छन्। किरियाकर्मका सामग्री छेउमै राखेर पण्डित बसिरहेका छन्।
टोलाइरहेकी आमाको आडमै दुई दाजुभाइ मलिन मुहार बनाएर बसेका छन्, काजकिरिया गर्न। पण्डित र आफन्तजन सम्झाइबुझाइ गरिरहेका छन्, दागबत्ती दिन।
आमा भने छोराहरूलाई ‘अब तिम्रो बुबालाई दागबत्ती देऊ’ भन्न सकिराखेकी छैनन्। आँखाभरि आँशु बनाएर पर्खेर बसेकी छन्। किनकि आर्यघाटमा जसको दाहसंस्कार गर्न छोराहरू लिएर अघिल्लो दिनै नेपालगन्जबाट काठमाडौं पुगेकी थिइन्, त्यही मान्छेको शव छैन।
उनै आमा अर्थात् चन्द्रकला प्रसाईं उप्रेतीले यसरी कुरेर बसेको २१ वर्ष भयो। आर्यघाटमा पनि उनलाई पर्खिनै मन लाग्यो। उनको पर्खाइको भने लामो कथा छ।
यसको शुरूआत रामेछापको मन्थलीबाट हुन्छ। चन्द्रकला भर्खर १२ वर्षमा टेकेकी थिइन्। तराईतिर व्यापार गर्ने केटा भनेर दोलखाको बैतेश्वर गाउँपालिका-६, नाम्दुका २२ वर्षीय भूपेन्द्रराज उप्रेतीसँग बिहे भयो, २०४२ फागुनमा। बिहेपछिका नौ वर्ष उनी सासूआमा टंकमाया उप्रेतीसँगै दोलखामा बसिन्।
त्यही बीचमा चन्द्रकला र भूपेन्द्रका दुई छोरा र एक छोरी जन्मिए- विपुल, प्रतिज्ञा र विशेष। भूपेन्द्र भने चरिकोट-नेपालगन्ज ओहोरदोहोर गरिरहन्थे। व्यापारमा व्यस्तता बढेपछि चन्द्रकलालाई पनि नेपालगन्जै बोलाए। उनी २०५१ सालमा श्रीमान्को साथ लागेर नेपालगन्ज झरिन्।
चन्द्रकलाको जिन्दगीमा सबै ठीकठाक चल्दै थियो। तीन छोराछोरीको रेखदेख र पढाइमै व्यस्त थिइन्। बाहिरको काम भूपेन्द्रले गर्थे भने घरभित्र चन्द्रकला। हाँसीखुशीमै पाँच जनाको परिवार चल्दै थियो।
नेपालगन्ज झरेको अर्को वर्ष हो, माओवादीले सशस्त्र संघर्ष शुरू गर्यो। त्यसको असर पश्चिमका पहाडमा पर्दै गयो। द्वन्द्वका बाछिटा नेपालगन्जसम्म पनि पुगे। बिस्तारै व्यापार खस्किँदै गयो। आयआर्जनमा कमी आए पनि परिवार चलाउनै गाह्रो भने थिएन।
२०६० सालको हिउँद लाग्दै थियो। मंसीरका दिन छोट्टिंदै गएका थिए भने सम्साँझै पसलका सटर झर्न थालिहाल्थे। भूपेन्द्र पनि छिटै पसल बन्द गरेर घरतिर दगुरिहाल्थे।
मंसीर २३ गते मंगलबार साँझ गौरी विनायक ट्रेड एन्ड सप्लार्यसको शटर झारेर घरतिर लाग्ने तरखरमा थिए। मोटरसाइकल ‘स्टार्ट’ गर्न नपाउँदै सेनाको टोली आइपुग्यो। “सेनाले घर आउन दिएन, ब्यारेकमा लगेछ,” चन्द्रकला सम्झिन्छन्, “खाना सँगै खान कुरेर बसेकी थिएँ। रातभरि आउनुभएन।”
अर्को बिहान मात्रै थाहा पाइन्, भूपेन्द्रलाई सेनाको टोलीले लगेछ। आफन्तजन र भूपेन्द्रका साथीभाइले ‘सोधपुछका लागि लगेको हो, एक-दुई दिनमा छोडिदिन्छ’ भन्ने सुनाएपछि सन्तोषको सास फेरिन्। “राज्यको सेनाले लगेकोले सुरक्षित नै राख्ला भनेर घर फर्किएँ,” उनी भन्छिन्।
तर चार दिनसम्म भूपेन्द्र घर फर्किएनन्। त्यसपछि श्रीमान् खोज्दै बाँकेको राँझास्थित तत्कालीन शाही नेपाली सेनाको मध्यपश्चिम पृतना पुगिन्। सेनाले भूपेन्द्रलाई नल्याएको जवाफ दिएपछि भने चन्द्रकलाको मनमा बेचैनी बढ्यो।
साना छोराछोरीलाई आफन्तको जिम्मा लगाएर श्रीमान् खोज्न कैयौं पटक राँझा पुगिन् तर उनले केही अत्तोपत्तो पाइनन्। उनलाई लागेको थियो- विस्तृत शान्ति सम्झौतापछि आफ्ना मान्छेबारे थाहा पाउनेछु।
शान्ति सम्झौताका पनि १७ वर्ष बिते। श्रीमान्लाई पक्राउ गरेर बेपत्ता बनाएको २१ वर्ष भयो। केही खबर आएन। “यो संसारमा मान्छे छैन भन्नु भन्दा राज्यको सेनाले लगेर बेपत्ता बनाई सत्य थाहा नदिनु कैयौं गुणा पीडादायी हुन्छ,” चन्द्रकला भन्छिन्।
२०६० सालको मंसीरयता चन्द्रकलाको घरछेउको बाटो हुँदै कैयौं मोटरसाइकल कुदे। धेरै पटक मोटरसाइकलले उडाएको धूलो ढोकाभित्र पस्यो। हरेक पटक मोटरसाइकल आउँदा उनले कतै श्रीमान् पो आए कि भन्ने सोचिन्। “श्रीमान्को झल्को मात्रै आयो, घर फर्किएर आउनुभएन,” उनी भन्छिन्, “राज्यले नै मेरो मान्छेलाई घर फर्काएन।”
भूपेन्द्रबारे सत्यतथ्य थाहा नपाउँदा उनले कुनै पनि सांस्कृतिक क्रियाकलाप गर्न सकिनन्। २०६५ सालमा चन्द्रकलाकी सासूआमा टंकमाया बितिन्। एक्ला सन्तान भूपेन्द्र नभएपछि उनको काजकिरिया गर्ने कोही भएन। परिवारजन र आफन्तले ‘बाउकै काजकिरिया गरेको छैन, कसरी हजुरआमाको गर्ने’ भनेर प्रश्न गरेपछि छोराहरूलाई हजुरआमाको काजकिरिया गर भन्न सकिनन्।
श्रीमान् बेपत्ता पारिएको शोकमा रहेकी चन्द्रकलाले अर्को प्रश्न झेल्नुपर्यो, धार्मिक-सांस्कृतिक परम्पराको। आफन्तजले ‘अब त काजकिरिया गर, तिम्रा श्रीमान् फर्कंदैनन्। पितृलाई पार नतारी आफू पार भइन्न’ भन्ने गरे। “घरमा हुने सानातिना अप्ठ्यारोलाई पनि सबैले पितृ खुशी नभएको भन्न थाले,” उनी भन्छिन्, “राज्यले आफूलाई न्याय नदिएसम्म पितृलाई पार तार्ने कुरामा म सहमत हुन सकिनँ।”
चन्द्रकलालाई समाजले सोध्ने प्रश्नको जवाफ राज्यले दिनुपर्थ्यो। तर राज्य मौन भइदियो। भूपेन्द्र कहाँ छन् भन्ने प्रश्नको जवाफ न राज्यले दियो न त समाजले तर दुवै पक्षले पीडा दिइरहे। सरकारले बनाएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम अघि नबढाएपछि पछिल्ला पाँच वर्ष त उनी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र उच्च अदालत, नेपालगन्ज धाइरहिन्।
प्रहरी मार्फत श्रीमान्को खोजी गरिदिन २०७८ मंसीर २० मा उच्च अदालत, बाँकेमा रिट दायर गरिन्। उच्च अदालतले परमादेश जारी गर्यो। अदालतको परमादेश बमोजिम जिल्ला प्रहरी कार्यालयले खोजबिनका लागि प्रहरी अधिकृत पनि तोक्यो तर खोजी भएन।
न्यायका लागि राज्यसँग मात्र होइन, परिवार र समाजसँग लडिरहेकी चन्द्रकलाले आफ्नो साथमा कोही भेटिनन्। कसैले ‘चरित्र’ माथि प्रश्न उठाए, कसैले ‘यौनिकता’ माथि त कसैले उनको ‘गतिशीलता’ माथि। परिवार, आफन्त र छिमेकीबाट भूपेन्द्रको काजकिरिया गर भन्ने दबाब झेलिरहिन्। चन्द्रकलालाई लाग्यो- यो समाजले सोध्ने हजार प्रश्नको जवाफ धार्मिक विधि अनुसारको काजकिरिया नै हो भने म पनि गर्छु।
पढ्नका लागि अस्ट्रेलिया पुगेकी छोरी र साथमा रहेका दुई छोरासँग सरसल्लाह गरिन्। पुरोहितले भने बमोजिम काजकिरियाका लागि आवश्यक सरसामान बोकेर नेपालगन्जबाट पुस १२ गते काठमाडौं पुगिन्।
काजकिरिया त गर्ने भइन् तर कुन तिथिमा? “घरबाट निस्केर हिंडेको भए पो त्यही दिनलाई मानेर तिथि निकालिंदो हो, हाम्रो त सेनाले मंसीर २३ गते गिरफ्तार गर्यो, भूपेन्द्रसँगै १८ दिन बसेर छुटेका मान्छे छन्, त्यसको तीन दिनसम्म राँझा हेडक्वार्टरमै देखेको भन्ने तरकारी व्यापारी छन्,” चन्द्रकला भन्छिन्, “यी सबै गर्दा २०६० पुस १३ गतेको तिथि निस्कियो।”
त्यही जोडघटाउ गरेर निकालेको तिथिमा सेनाले बेपत्ता पारेका भूपेन्द्रको दाहसंस्कार गर्न उनी दुई छोरा सहित आर्यघाट पुगेकी थिइन्। उनी छोराहरूलाई ‘कुशको शवलाई बुबा सम्झेर दागबत्ती देऊ’ भन्न सकिराखेकी थिइनन्। उनी त अझै पर्खिन सक्थिन् तर मलिन अनुहार बनाएर चूपचाप बसेका छोराहरूलाई पर्खाउन सकिनन् अनि दागबत्ती दिन भनिन्। “पीठो र कुशको शव बनाएर पुस १३ गते उहाँ (भूपेन्द्र)को अन्तिम संस्कार गर्यौं,” चन्द्रकलाको गला अवरुद्ध भयो।
नेपालगन्ज छोडेर काठमाडौंको पशुपति आर्यघाटमा चन्द्रकलाले श्रीमान्को अन्तिम संस्कार गरिन्। तर शहर जति नै ठूलो भए पनि श्रीमान्को अन्तिम संस्कारमा कोही आएन। राज्यका तर्फबाट त कोही आएर ‘तिम्रा श्रीमान्बारे खोजबिन गर्दै छौं’ भन्छन् कि भन्ने आश गरेकी थिइन्। “त्यो आशा पनि सुकेको पत्करलाई हावाले उडाए जस्तै भयो। अब सरकारबाट न्याय पाउने आशै भएन,” उनी भन्छिन्।
चन्द्रकलाले श्रीमान् बेपत्ता पारिएपछिका २० वर्ष जति मानसिक तनावमा गुजारिन्, त्योभन्दा बढी १३ दिन कोरामा बस्दा भोगिन्। बेपत्ता मान्छेबारे जिउँदो वा मरेको थाहै नपाई काजकिरिया गर्नु साह्रै गाह्रो हुने उनी सुनाउँछिन्। “मुटुमाथि ढुंगा राखेर सास र लास केही नदेखी, राज्यले केही उत्तर नदिई श्रीमान्को काजकिरिया गरें,” चन्द्रकला प्रश्न गर्छिन्, “राज्यले पशुपति आर्यघाटमा कुशको शव जलेको देख्यो कि देखेन?”
चन्द्रकला र उनका दुई छोरा तेह्र दिनको काजकिरिया सकेर पुस २५ मा काठमाडौंबाट नेपालगन्ज फर्किएका छन्। उनीहरूका प्रश्न भने सकिएका छैनन्। “मैले मनको शान्तिका लागि, दुनियाँले सोध्ने प्रश्नको जवाफ दिन धार्मिक विधि अनुसार कुशको शव बनाएर दाहसंस्कार, काजकिरिया गरें,” चन्द्रकला भन्छिन्, “राज्यले न्यायका लागि, सत्य थाहा पाउने अधिकारका लागि, हाम्रो आत्मसम्मानका लागि ‘हाम्रा मान्छे कहाँ छन्?’ भन्ने प्रश्नको उत्तर कहिले दिन्छ?”